0Shares

पोखरा। कास्की क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बिना गुरुङले आफू सधैं न्याय र समानताको पक्षमा उभिँदै आएको अब पनि हरअन्यायको विरुद्ध लड्ने बताएकी छन् । कास्की क्षेत्र नम्बर ३ का मतादातहरुसँग भेट्दै गुरुङले आफूले उद्यमसँगै समाजसेवामा नै अहिलेसम्मको जीवन लगाएको भन्दै सेवाकै भावनालाई नीति निर्माणमा लगाउन रास्वपाबाट राजनीतिमा होमिएको बताएकी हुन् ।
बागलुङ बसपार्क, मिरुवा, भैरभ टोललगायतका क्षेत्रमा आइतबार घरदैलो गरेकी बिनालाई मतादाताले अन्यायका विरुद्ध लड्न आग्रह गर्दै शुभकामना दिएका थिए । घरदैलोका क्रममा मतदाताले पुराना नेताहरुमा इमान्दारिता र देशप्रतिको विश्वास कम भएकाले न्याय, समानता र अधिकारको पक्षमा लड्न आग्रह गरे ।
त्यही क्रममा महिला सशक्तिकरण, बालबालिकाको भविष्य र ज्येष्ठ नागरिकको सम्मानपूर्ण जीवनयापनमा आफूले हरदम सेवा गरिरहेको बताउँदै अब पनि सामाजिक न्याय, सुशासन र समृद्धिकै पक्षमा काम गर्ने उनले बताइन् ।
‘म समाजसेवामा रमाइरहेकी थिएँ, राजनीतिमा फगत एक सांसद पदका लागि म उम्मेदवार बनेको होइन, सार्वजनिक सेवा, विकास र सुशासनका पक्षमा इमान्दारितापूर्वक काम गर्ने हुटहुटी हो,’ बिनाले भनिन्, ‘म सधैं अन्यायको विपक्षमा हुन्छु, सामाजिक न्यायका निम्ति लड्छु, सहकारी पीडितसँगै उभिन्छु । म पीडितहरुको आवाज बन्छु भनेर मैदानमा उत्रिएकी हुँ ।’
सहकारीको समस्यालाई सधैं राजनीतिकरण गर्ने, पीडितलाई रकम फिर्ता गराउनेतिरभन्दा सधैं बल्झाइरहने काममात्र भएको बताउँदै बिनाले अब यो समस्या दीर्घकालीन रुपमै हल हुनुपर्ने भनाइ राखिन् । मीठा भाषण र चिल्ला आश्वासनभन्दा आफूले परिणाम दिने गरी लगनशिलता र मिहिनेतले व्यवसायमा सफल भएको र विभिन्न संस्थाको नेतृत्व गर्दै यहाँसम्म आइपुगेको उनले बताइन् ।
‘अहिले धेरैतिरबाट सहकारीको रकम हिनामिना भएको छ । सहकारी पीडितमाथि राजनीतिमात्र गर्ने तर पैसा फिर्ता नगराउने काम हुँदै आएको छ । अब यो बन्द हुनुपर्छ । सहकारी पीडितकै पक्षबाट म पनि लड्ने छु, यो सधैंभरि पीडितलाई झन् पीडा दिने गरी गिजोलिनु हुँदैन,’ बिनाले भनिन्, ‘म आफैं पनि सहकारी अभियानकर्ता हुँ, सहकारीको नेतृत्व नै गरेर बचतकर्ताको मन जितेकी पात्र हुँ । सहकारी समस्या कहाँनेर हो मैले नजिकबाट छामेकी छु ।’
सहकारीको समस्यालाई समाधान गर्नेतिर भन्दा अहिले पनि विभिन्न दलहरुले पीडितलाई झनै पीडित गराउने गरी प्रयोग गर्ने, राजनीतिक प्रतिशोधपूर्ण ब्यवहार गरेर आफूलाई चर्चामा ल्याउन खोज्ने प्रवृति हाबी भइरहेको उनको भनाइ थियो । ‘सहकारीका समस्या र यसबाट पीडितले भोगेका दुख र पीडालाई मैले नजिकबाट महसुस गरेकी छु । यो समस्यालाई अहिलेसम्म कसले गिजोलिरहेको छ र कसले सहकारी अभियानलाई कमजोर बनाएको हो भन्ने पनि मैले बुझेकै छु,’ बिनाले भनिन्, ‘अब सधैंका लागि सहकारी समस्या समाधान गर्न पनि म सांसद भएर हरदम पहल गर्नेछु, पीडितकै सारथी बन्ने छु ।’
उनले आफ्नो बाचापत्रमै सहकारीको समस्या समाधान गर्न लागि पर्ने एजेण्डा बनाएको बताइन् । भूकम्पका बेला होस् या कोभिडका बेला हरबखत नागरिककै सेवामा लागि परेको स्मरण गर्दै बिनाले एक जना व्यक्तिको सहयोगले समाज रुपान्तरण गर्न नसक्ने भएकाले नै राजनीतिमा होमिएको बताइन् ।
‘सञ्जीवनी दिदीबहिनी केन्द्रमार्फत महिला शसक्तिकरण र न्यायको पक्षमा उभिएँ । कोपिला नेपालमार्फत बालबालिकाको जीवन यापनसँग जोडिएँ, तमुधिँ नेपालमार्फत संस्कृति संरक्षणमा खटिएँ । लायन्स क्लबमार्फत सामाजिक सेवामै थिएँ,’ बिनाले भनिन्, ‘अब पनि म अरु कसैसँग लड्न सांसद हुने होइन, अन्यायकै विरुद्ध लड्ने हो, कुशासनकै विरुद्ध बोल्ने हो, न्यायकै निम्ति ऊर्जा अर्पण गर्ने हो । नीतिगत तहबाटै समाज रुपान्तरण गर्ने हो ।’

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected