
पोखरा । शिक्षा क्षेत्रमा सक्रिय सामाजिक संस्था पाहार ट्रस्ट नेपालले नयाँ नेतृत्व पाएको छ। संस्थाको १३औं वार्षिक साधारण सभा तथा पाँचौं अधिवेशनले क्याप्टेन भुवनसिंह गुरुङको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा होमबहादुर गुरुङ चयन भएका छन् भने महासचिवको जिम्मेवारी टेकमान प्रधानांगले पाएका छन्। सचिवमा लक्ष्मी थापा गिरी र कोषाध्यक्षमा रीना राना निर्वाचित भएका छन्।
यसैगरी सदस्यहरूमा गोकर्ण कार्की, प्रतिमा गुरुङ, पेमा डोमा शेर्पा, नारायणी कोइराला, मेखबहादुर शाही र राजु गुरुङ चयन भएका छन्।
पाहार ट्रस्ट नेपालले विगत तीन दशकभन्दा बढी समयदेखि ग्रामीण तथा दुर्गम क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएको छ। संस्थाले हालसम्म देशभरका २९ जिल्लामा ३ सयभन्दा बढी सामुदायिक विद्यालयका भवन निर्माण गरिसकेको छ।
पूर्वको ताप्लेजुङदेखि पश्चिमको कञ्चनपुरसम्म विद्यालय भवनसँगै स्वास्थ्य चौकी, छात्रावास, पुस्तकालय तथा प्रारम्भिक बाल विकास केन्द्रका संरचना निर्माण गर्दै आएको संस्थाले जनाएको छ।
आर्थिक वर्ष २०८१/०८२ मा ५ विद्यालय भवन निर्माण तथा मर्मत, शौचालय निर्माण र १४ बाल विकास केन्द्रसम्बन्धी परियोजना सञ्चालन भएका छन्। हाल विद्यालय भवन, स्वास्थ्य चौकी, सामुदायिक भवन तथा बाल विकास केन्द्र गरी १६ परियोजना सञ्चालनमा छन्।
संस्थाले १८ जिल्लाका ७३ विद्यालयमा पुस्तकालय स्थापना गरिसकेको छ, जसमध्ये ५३ पुस्तकालय समुदायलाई हस्तान्तरण गरिएको छ भने २० विद्यालयमा कार्यक्रम निरन्तर सञ्चालनमा रहेको छ। यस कार्यक्रमबाट २१ हजार ४ सय ७७ विद्यार्थी, १ हजार २ सय ५९ शिक्षक तथा समुदायका अन्य सदस्यहरू लाभान्वित भएका छन्।
पाहार ट्रस्ट नेपालले विगत ३३ वर्षदेखि दुर्गम क्षेत्रका बालबालिकाको शैक्षिक गुणस्तर अभिवृद्धिमा टेवा पुर्याउँदै आएको छ। संस्थाले भवन आचारसंहिता अनुरूप सुरक्षित, टिकाउ र सुविधायुक्त संरचना निर्माण गर्नुका साथै विद्यालयलाई आवश्यक शैक्षिक सामग्री उपलब्ध गराउँदै आएको जनाएको छ। साथै, स्वास्थ्य चौकी, पुस्तकालय र बाल विकास केन्द्र निर्माणमा समेत अग्रणी भूमिका खेल्दै आएको छ।





सम्बन्धित खवर
















