
पोखरा — कास्कीको पोखरा महानगरपालिका–२९ सैनिक बस्तीबाट ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषधसहित एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरीबहादुर बस्नेतका अनुसार, आयुष तामाङको घरबाट लागूऔषधको कारोबार भइरहेको गोप्य सूचनाको आधारमा खटिएको संयुक्त प्रहरी टोलीले १९ वर्षीय तामाङलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय कास्की, इलाका प्रहरी कार्यालय शिसुवा र लागूऔषध नियन्त्रण ब्यूरो पोखरा शाखाको टोलीले गत चैत ४ गते साँझ ५ः३० बजे उनलाई नियन्त्रणमा लिएको थियो।
प्रहरीले तामाङको साथ तथा घरकोठा खानतलासी गर्दा १ हजार ७२१ एम्पुल डाइजापाम, ३३४ एम्पुल फेनेरागन र ३७७ एम्पुल ब्रुफिनुर्फिन गरी जम्मा २ हजार ४३२ एम्पुल लागूऔषध बरामद गरेको जनाएको छ।
यसका साथै, प्रहरीले दुई थान मोबाइल र ९३ हजार ५०० रुपैयाँ नगद समेत फेला पारेको छ। पक्राउ परेका तामाङलाई कास्की जिल्ला अदालतबाट लागूऔषध सम्बन्धी मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
यसैबीच, पोखरा महानगरपालिका–१० रामघाट क्षेत्रमा पनि लागूऔषध कारोबारमा संलग्न अर्का एक युवक पक्राउ परेका छन्।
गोप्य सूचनाका आधारमा चैत २ गते राति गरिएको कारबाहीमा तनहुँ स्थायी घर भई हाल पोखरा–१० रामघाट बस्दै आएका २० वर्षीय शिव गिरी पक्राउ परेका हुन्।
प्रहरीका अनुसार, गिरीको शरीर खानतलासी गर्दा ब्राउन सुगर जस्तो देखिने ८ ग्राम ३ मिलिग्राम धूलो पदार्थ बरामद गरिएको छ। साथै, उनको साथबाट एक थान मोबाइल समेत फेला परेको छ।
पक्राउ परेका गिरीलाई पनि लागूऔषध सम्बन्धी मुद्दामा एक हप्ताको म्याद थप गरी आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको सूचना अधिकारी बस्नेतले जानकारी दिएका छन्।











