0Shares

पोखरा, चैत १६ — नेपाल पत्रकार महासंघ कास्की शाखाले महासंघको ७१औँ स्थापना दिवसको अवसरमा विभिन्न पत्रकारिता सम्मान तथा पुरस्कार प्रदान गरेको छ।

शाखाद्वारा सोमवार आयोजित विशेष समारोहमा ‘पोखरा पत्रकारिता सम्मान’ र ‘स्व. जगन्नाथ सिग्देल स्मृति पत्रकारिता पुरस्कार’ प्रदान गरिएको हो। सम्मान छनौट समितिको सिफारिसअनुसार वर्ष २०८१ का लागि पत्रकार राजबहादुर गुरुङ र संस्थागततर्फ २०८२ का लागि सहारा क्लब सम्मानित भएका छन्।

विगत तीन दशकदेखि पत्रकारितामा सक्रिय गुरुङ हाल यूनाइटेड खबर अनलाइनमा आबद्ध छन्। उनलाई नगद रु. ५०,५५५, दोसल्ला र सम्मानपत्र प्रदान गरिएको छ। सम्मान छनौट समितिमा अग्रज पत्रकारहरू कुसुमकेशव पराजुली, पुण्य पौडेल र गंगाधर पराजुली रहेका थिए।

त्यसैगरी ‘स्व. जगन्नाथ सिग्देल स्मृति पत्रकारिता पुरस्कार’ वर्ष २०८१ का लागि पत्रकार फणिन्द्र अधिकारी (अकिञ्चन) र २०८२ का लागि एकराज गिरीलाई प्रदान गरिएको छ। उक्त पुरस्कारका लागि नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलसहित रुद्र श्रीस मगर र भीम थापा सम्मिलित छनौट समितिले सिफारिस गरेको हो।

पुरस्कारअन्तर्गत प्रत्येकलाई नगद रु. २५,५५५ र सम्मानपत्र प्रदान गरिएको छ। अधिकारी विगत दुई दशकदेखि पत्रकारितामा सक्रिय रहँदै हाल गोरखापत्र दैनिकमा कार्यरत छन् भने गिरी सफल न्यूजसँग आबद्ध छन्।

समारोहका प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सम्मान प्रदान गरेका थिए। कार्यक्रममा बोल्दै उनले प्रेस स्वतन्त्रताको संरक्षण, पत्रकारहरूको क्षमता अभिवृद्धि, सुरक्षा तथा पेशागत मर्यादा कायम गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए।

उनले सूचना प्रविधिको तीव्र विकाससँगै मिडियाको विश्वसनीयता नै सबैभन्दा ठूलो पूँजी भएको उल्लेख गर्दै फेक न्यूज, भ्रामक सूचना तथा सामाजिक सञ्जालको दुरुपयोगले पत्रकारितामा थप चुनौती सिर्जना गरेको धारणा व्यक्त गरे।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected