0Shares

पोखरा । मानवसेवा आश्रम कास्की शाखाले विभिन्न पूर्वाधार निर्माण तथा अक्षयकोष विस्तारका लागि श्रीमद्भागवत सप्ताहसहित ‘पितृ उद्धार ज्ञानविज्ञान महायज्ञ’ आयोजना गर्ने भएको छ। बैशाख १९ देखि २६ गतेसम्म सञ्चालन हुने महायज्ञबारे आश्रमले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो।

आश्रमले शाखाको भवन, लक्ष्मीनारायण मन्दिर सम्पन्न गर्नुका साथै मुक्तिनाथ दर्शनका लागि जाने–आउने भक्तजनलाई लक्षित गरी धर्मशाला (मुक्तिनाथ सेवा आश्रम) निर्माण गर्ने योजना अघि सारेको छ। महायज्ञ संयोजक अनिल कुमार शाहीका अनुसार निर्माणाधीन भवन आगामी असोज मसान्तभित्र सम्पन्न गरी ३०० जना सहयोगापेक्षीलाई सेवा दिने लक्ष्य छ।

हाल ३० लाख रुपैयाँ रहेको अक्षयकोषलाई १० करोड रुपैयाँ पुर्‍याउने महत्वाकांक्षी लक्ष्य राखिएको छ। २०७८ मा घोषणा गरिएको ‘सहयोगापेक्षी सडकआश्रित मानवमुक्त गण्डकी प्रदेश’ अभियानलाई पूर्ण कार्यान्वयन गर्दै २०८३ भित्र ‘मानवमुक्त राष्ट्र’ बनाउने संकल्पलाई बल पुर्‍याउन महायज्ञ आयोजना गरिएको शाहीले बताए।

महायज्ञमा भागवत भाष्कर कमलनयन गौतमबाट कथा प्रवचन, दाता सम्मान, वृहत योग शिविर, युवा तथा विद्यार्थीका लागि मनोव्यवस्थापन र सकारात्मक सोचसम्बन्धी कार्यक्रम सञ्चालन गरिनेछन्। साथै, निःशुल्क स्वास्थ्य शिविर, सांगीतिक तथा सांस्कृतिक प्रस्तुति, भजन–कीर्तन, झाँकी, देवलीला र विविध धार्मिक अनुष्ठानसमेत हुनेछन्।

२०६९ साल भदौ १३ गते हेटौंडाबाट सेवा सुरु गरेको आश्रम हाल सातै प्रदेशका २२ जिल्लामा २९ सेवा केन्द्रमार्फत करिब २१०० सहयोगापेक्षीको संरक्षणमा सक्रिय छ। पोखरा सेवा केन्द्रमा मात्रै २७५ जना विभिन्न उमेर समूहका आश्रित छन्, जसको मासिक खर्च करिब ३० लाख रुपैयाँ पुग्ने जनाएको छ।

आश्रमले खुला आकाशमुनि कष्टपूर्ण जीवन बिताइरहेका सहयोगापेक्षीहरूको उद्धार, पालनपोषण, संरक्षण र पारिवारिक पुनर्मिलनका साथै मानवता प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्दै आएको छ। हालसम्म करिब ८ करोड रुपैयाँ खर्च भइसकेको हेम्जा बाबियतरास्थित भवन निर्माण सम्पन्न गर्न अक्षयकोष मजबुत बनाउनुपर्ने आवश्यकता औंल्याइएको छ।

महायज्ञ सफल पार्न १००१ सदस्यीय मूल समिति गठन गरिएको छ भने कास्की सहित गण्डकी प्रदेशवासीलाई सहभागिताका लागि आह्वान गरिएको छ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected