
पोखरा, ३० चैत । पोखरामा जारी २१ औं फेवा नव बर्ष महोत्सव २०८३ को दोश्रो दिन सोमबार लेकसाइडमा आयोजित पर्यटक दौड प्रतियोगितामा क्यानडाका दिरेक मिलरोइ प्रथम भएका छन् । यसैगरी स्पेनका अड्रिया फेरर द्वितीय भए भने अष्ट्रेलियाका लाइन्डनले तृतीय स्थान हासिल गरे । लेकसाइड स्थित होटल पिस प्लाजा अगाडिबाट सुरु भएको दौडमा खेलाडीहरु एक हजार आठ सय मिटर दुरीमा रहेको अम्बोटसम्म दौडिएका थिए । दौडमा भारतका आमिरलाई सान्त्वना पुरस्कार प्रदान गरियो । यसैगरी महिलातर्फको छुट्टै मुल्यांकनमा अष्ट्रेलियाकी हान्ना प्रथम भइन् । नेदरल्याण्डकी इशाले द्वितीय स्थान हासिल गर्दा अष्ट्रेलियाकी स्टेफनी तृतीय भइन् । भारतकी शुभांगीले शान्त्वना स्थान हासिल गरिन् । रन फर फन नाम दिएर आयोजना गरिएको दौडमा खेलाडीले कति समयमा दौड पूरा गरे भन्ने गणना गरिएन । दौडमा विभिन्न देशका तीन दर्जन खेलाडीले भाग लिएका थिए । विजेता खेलाडीहरुलाई हाइ ग्राउण्ड एड्भेञ्चर, सिइङ हेण्ड ब्लाइण्ड मसाज क्लिनिक, ब्यञ्जन रेष्टुरेण्ट, अन्नपूर्ण केवलकार र फेवा थकाली भान्छा रेष्टुरेण्टका तर्फबाट पुरस्कार प्रायोजन गरिएको थियो । टुवोर्ग वियरका तर्फबाट निशुल्क टिसर्ट उपलब्ध गराइएको थियो । मायाको चिनो र प्रमाणपत्र पनि खेलाडीहरुले प्राप्त गरे । विजेता खेलाडीहरुलाई महोत्सव एवं दौड आयोजक होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदी, प्रथम उपाध्यक्ष दिपक श्रेष्ठ, द्वितीय उपाध्यक्ष गणेशराज पहारी, कोषाध्यक्ष नेत्रप्रसाद पौडेल, सहकोषाध्यक्ष वैभव पौडेल, दौड संयोजक प्रतीकराज पहारी, सदस्य सरोज अधिकारी र अन्नपूर्ण केवलकारका दिनेश पौडेलले पुरस्कार प्रदान गरेका थिए । होटल संघ नेपालका केन्द्रिय सदस्य भरतराज पराजुलीले दौड सफल पार्न समन्वयकारी भूमिका खेलेका थिए । फेवा महोत्सवको मुख्य प्रायोजकमा गोर्खा ब्रुअरी प्रालि, सहप्रायोजकमा म्याक्स टाइगर र एक्ट्रिम इनर्जी ड्रिंक तथा प्रायोजकहरुमा अन्नपूर्ण केवलकार लि, इ–सेवा, युनाइटेड वाइनरी प्रालि रहेका छन् । इन्योरेन्स पार्टनरमा सलिको इन्स्योरेन्स रहेको छ । महोत्सवका प्रबद्र्धकमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय, पोखरा महानगरपालिका र उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश रहेका छन् । महोत्सव बैशाख १ गते सम्म चल्ने छ ।






सम्बन्धित खवर














