
पोखरा, वैशाख २ — हेम्जामा जारी राष्ट्रिय आलु महोत्सव कलाकारको आकर्षक प्रस्तुति र दर्शकको उत्साहपूर्ण सहभागिताले झनै रौनकिलो बनेको छ। बुधबार आयोजित कार्यक्रममा चर्चित कलाकारहरूको सांगीतिक प्रस्तुति र सांस्कृतिक झाँकीहरूले महोत्सव स्थल दर्शकले खचाखच भरिएको थियो।
कार्यक्रममा गायक–गायिकाहरूले आफ्ना लोकप्रिय गीतहरू प्रस्तुत गर्दै दर्शकलाई नचाएका थिए। ‘दुश्मन हेरेको हेयौ’, ‘कुरा बुझ्नु पर्छ’, ‘जिन्दगी यही हो बाटुली’ लगायतका गीतहरूमा दर्शकहरू झुमेका थिए। कलाकारसँगै दर्शकले पनि स्वर मिलाउँदै नाचगानमा रमाइलो गरेका थिए।
दर्शकको उत्साह यति धेरै थियो कि केही समय त मञ्चअगाडि नाच्नेहरूको भीडले व्यवस्थापनमै चुनौती सिर्जना गरेको थियो। कलाकारको प्रस्तुति चलिरहँदा दर्शकहरू गीतसँगै झुम्दै रमाइलोमा डुबेका देखिन्थे।
महोत्सवमा सांस्कृतिक कार्यक्रमतर्फ विभिन्न आमा समूह तथा विद्यालयका विद्यार्थीहरूले समेत नृत्य र प्रस्तुतिहरू राख्दै दर्शकको मन जितेका छन्। स्थानीय संस्कृति झल्किने कार्यक्रमहरूले महोत्सवलाई थप आकर्षक बनाएको छ।
आयोजकका अनुसार हालसम्म करिब ६५ हजारभन्दा बढी दर्शकले महोत्सव अवलोकन गरिसकेका छन् भने आलु तथा अन्य कृषि उपजको व्यापारमा उल्लेखनीय वृद्धि भएको छ। महोत्सव अवधिभर करोडौँ रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा गरिएको छ।
महोत्सव स्थलमा आलुसहित विभिन्न कृषि उत्पादन, घरायसी सामग्री, लत्ताकपडा तथा खाद्य परिकारका दर्जनौँ स्टलहरू सञ्चालनमा रहेका छन्। विशेषगरी हेम्जाको प्रसिद्ध ‘निलो आलु’ स्वास्थ्यका हिसाबले लाभदायक र स्वादिलो मानिने भएकाले उपभोक्ताको रोजाइमा परेको छ।
चैत २७ गतेदेखि सुरु भएको महोत्सव वैशाख ५ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।





सम्बन्धित खवर















