0Shares

पोखरा, वैशाख ३।  पर्यटकीय नगरी पोखरामा रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ को १८औँ डिष्ट्रिक्ट कन्फरेन्स शुक्रवारदेखि सुरु हुँदैछ। वैशाख ४ देखि ६ सम्म सञ्चालन हुने तीनदिने सम्मेलनमा नेपाल र भुटानका करिब १५०० रोटेरियन सहभागी हुने अपेक्षा गरिएको छ। नयाँ वर्ष २०८३ को सुरुवातसँगै आयोजना हुन लागेको यस सम्मेलनले पोखरा तथा आसपास क्षेत्रको आन्तरिक र बाह्य पर्यटन प्रवर्द्धनमा उल्लेखनीय टेवा पुर्‍याउने विश्वास आयोजक पक्षले व्यक्त गरेको छ।

डिष्ट्रिक्ट गभर्नर बिनोद कोइरालाका अनुसार सम्मेलनको तयारी पूरा भइसकेको छ। होटल, रेष्टुरेन्ट, ट्राभल व्यवसायी तथा सुरक्षा निकायसँग समन्वय गरेर आवश्यक व्यवस्थापन मिलाइएको छ। सम्मेलनका कारण पोखरामा आन्तरिक पर्यटकको चहलपहल बढ्नुका साथै विदेशी सहभागीमार्फत अन्तर्राष्ट्रिय स्तरमा पर्यटन प्रवर्द्धन हुने अपेक्षा गरिएको छ।

सन् १९०५ मा अमेरिकाको शिकागोमा पल ह्यारिसद्वारा स्थापना गरिएको रोटरी इन्टरनेशनल ‘स्वार्थभन्दा माथि उठेर सेवा’ भन्ने मूल मन्त्रसहित विश्वव्यापी रूपमा सक्रिय सामाजिक संस्था हो। शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ, विपद् व्यवस्थापन तथा वातावरण संरक्षणमा यसको योगदान उल्लेखनीय रहँदै आएको छ। विशेषगरी सन् १९८५ देखि सुरु गरिएको पोलियो उन्मूलन अभियानमा रोटरीको भूमिका महत्वपूर्ण मानिन्छ।

नेपालमा रोटरीको औपचारिक सुरुवात सन् १९५७ मा रोटरी क्लब अफ काठमाडौं स्थापना भएसँगै भएको हो। हाल डिष्ट्रिक्ट ३२९२ अन्तर्गत नेपालका १६१ र भुटानको एक क्लब गरी करिब ५७०० सदस्य आबद्ध छन्। साथै १८० रोटर्याक्ट र १५० इन्टर्याक्ट क्लबमार्फत युवा नेतृत्व विकासमा समेत संस्था सक्रिय छ।

सम्मेलनलाई सफल बनाउन लक्ष्मी थापा गिरीको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ। २० वटा उपसमितिले करिब आठ महिनादेखि तयारीलाई तीव्रता दिएका छन्। सम्मेलन अवधिभर उद्घाटन सत्र, कार्यपत्र प्रस्तुति, समूहगत छलफल, प्यानल डिस्कसन तथा ‘रोटा क्विज’ जस्ता कार्यक्रमहरू सञ्चालन हुनेछन्। विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्तित्वलाई ‘भोकेशनल अवार्ड’ समेत प्रदान गरिने कार्यक्रम छ।

यसपटकको सम्मेलनको मुख्य आकर्षण भनेको सन् २०२८–२९ का लागि डिष्ट्रिक्ट गभर्नर चयन हो। पाँच प्रभावशाली रोटेरियनहरु अमित गिरी, रमा कंडेल, विष्णुहरी दाहाल, कौशलेन्द्र दास र राजेन्द्र शाक्यबीच प्रतिस्पर्धा हुने भएको छ। विशेषगरी रमा कंडेलको उम्मेदवारीले चुनावलाई थप रोचक बनाएको छ। उनी विजयी भएमा रोटरीको इतिहासमा दोस्रो महिला गभर्नर बन्नेछिन्। यसअघि राज्यलक्ष्मी शाह मात्र उक्त पदमा पुगेकी थिइन्।

रोटरीमा गभर्नर चयनको प्रक्रिया विशेष प्रकारको हुने गर्दछ। एक वर्षे कार्यकालका लागि गभर्नर दुई वर्षअघि नै चयन गरिन्छ। यसपटक निर्वाचित हुने गभर्नरले सन् २०२८–२९ मा जिम्मेवारी सम्हाल्नेछन्। निर्वाचनमा १६१ क्लबका करिब २१० मतदाता सहभागी हुनेछन्।

आन्तरिक अभ्यासअनुसार एक कार्यकाल काठमाडौं उपत्यकाबाट र अर्को बाहिरबाट नेतृत्व चयन गर्ने परम्परा भए पनि यसपटक उपत्यकाभित्रकै उम्मेदवारहरूबीच प्रतिस्पर्धा हुँदैछ। यसले नेतृत्व चयनलाई थप प्रतिस्पर्धात्मक बनाएको आयोजकहरूले बताएका छन्।

करिब २ करोड रुपैयाँ खर्च अनुमान गरिएको सम्मेलनमा सहभागीहरूले आफ्नै खर्च व्यवस्थापन गर्नेछन् भने आयोजकले आवश्यक समन्वय र व्यवस्थापनको जिम्मेवारी लिएको छ। सम्मेलनमा सहभागी हुन पूर्व गभर्नर तथा पदाधिकारीहरू पोखरा आइपुगेका छन् भने अन्य रोटेरियनहरूको आगमन जारी छ।

कन्फरेन्स चेयर लक्ष्मी थापा गिरीले सम्मेलन सफल बनाउन सरकार, निजी क्षेत्र, सुरक्षा निकाय, नागरिक समाज र सञ्चार क्षेत्रको सहयोग आवश्यक रहेको बताएकी छन्।

पोखरामा जुट्ने रोटेरियनहरूको यो ‘महाकुम्भ’ले नेतृत्व चयनसँगै पर्यटन प्रवर्द्धन, सामाजिक अभियानहरूको समीक्षा तथा अन्तर्राष्ट्रिय नेटवर्क विस्तारमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको पोखरा कै स्थानीयवासी समेत रहेका डिष्ट्रिक्ट गभर्नर बिनोद कोइरालाले बताए ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected