सांसद उत्तम पौडेलसमक्ष वडा नं. ७ मा खुला संवाद; पूर्वाधार, सेवा सुधार र सुकुम्बासी व्यवस्थापनमा जोड
- April 27, 2026
- 153

0Shares
पोखरा। कास्की क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य उत्तम प्रसाद पौडेलको विशेष उपस्थितिमा पोखरा महानगरपालिका–७ मा नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा नागरिक समाज कास्कीका संयोजक राम बहादुर पौडेलले विभिन्न जनसरोकारका विषयहरू प्रस्तुत गरेका थिए।
कार्यक्रममा वडा अध्यक्ष राममोहन आचार्य, वडा सदस्यहरू, टोल विकास संस्थाका प्रतिनिधि, आमा समूहका पदाधिकारी तथा स्थानीयवासीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। सहभागीहरूले राष्ट्रियदेखि स्थानीय तहसम्मका मुद्दाहरूमा धारणा राख्दै समाधानका लागि पहल गर्न आग्रह गरेका छन्।
नागरिक समाजका तर्फबाट प्रस्तुत प्रमुख मागहरूमा राष्ट्रिय अखण्डतामा आँच पुग्ने गतिविधि रोक्नुपर्ने, फिर्केखोला, याम्दी, विजयपुर, फुस्रेखोला लगायत सेती नदी क्षेत्रमा करिडोर निर्माण अघि बढाउनुपर्ने लगायतका विषय समावेश थिए।

त्यस्तै, फेवाताल संरक्षण, विकास तथा उचित मुआब्जा वितरणका लागि पर्याप्त बजेट विनियोजन गर्नुपर्ने, खपौंदी, गौरीघाट र तालपारी क्षेत्रमा बसोबास गर्दै आएका जलारी, भुजेल र गुरुङ समुदायलाई ल्यान्ड पुलिङमार्फत सोही क्षेत्रमा व्यवस्थित बसोबासको व्यवस्था मिलाउनुपर्ने माग पनि उठाइएको छ।
यसैगरी, पृथ्वीचोकस्थित सुकुम्बासी बस्ती व्यवस्थापन गर्दै अत्याधुनिक बसपार्क निर्माण गर्न संघीय सरकारबाट सहजीकरण गर्नुपर्ने र वास्तविक भूमिहीनलाई बसोबासको सुनिश्चितता दिनुपर्ने मागसमेत अघि सारिएको छ।
कार्यक्रममा सांसद पौडेलले स्थानीयवासीसँग प्रत्यक्ष संवाद गर्दै गुनासा, सुझाव र अपेक्षाहरू संकलन गरेका थिए। उनले नागरिकका आवाज नै आफ्नो कार्यदिशाको आधार हुने उल्लेख गर्दै उठाइएका विषयहरू संसद् र सम्बन्धित निकायमा पुर्याउने प्रतिबद्धता जनाए।
स्थानीयले सार्वजनिक यातायातको अव्यवस्था, मन्त्रालयअगाडिको सडक निर्माण ढिलाइ, सिताराम पुल निर्माण, कर तिर्दा हुने झन्झट, मालपोत तथा यातायात कार्यालयको जटिल सेवा प्रक्रियालगायत समस्याहरू पनि उठाएका थिए। साथै, सुकुम्बासी समस्यामा वास्तविक भूमिहीनभन्दा पहुँचवालाहरू हावी भएको गुनासो, भारतीय सवारी साधन नियमन, बजार व्यवस्थापन, खानेपानी समस्या र बढ्दो सवारी दुर्घटनाप्रति चिन्ता व्यक्त गरिएको थियो।
पुरानो विमानस्थलको जग्गा व्यवस्थापन गरी केही भाग खेलमैदानका रूपमा प्रयोग गर्नुपर्ने मागसमेत कार्यक्रममा उठाइएको छ। साथै, हालैको यति एयरलाइन्स दुर्घटनास्थलको निरीक्षणपछि आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन सुरक्षा व्यवस्थामा विशेष ध्यान दिनुपर्नेमा जोड दिइएको छ।
सांसद पौडेलले “तपाईंहरूको समस्या नै मेरो समस्या हो, र तपाईंहरूको सन्तुष्टि नै मेरो सफलता हो,” भन्दै नागरिकको विश्वासलाई परिणाममुखी काममार्फत पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रमले स्थानीय तहमा जनप्रतिनिधि र नागरिकबीच प्रत्यक्ष संवादमार्फत समस्या पहिचान र समाधान खोज्ने प्रयासलाई थप सशक्त बनाएको सहभागीहरूले बताएका छन्।
0Shares





© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले
जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर














