0Shares

पोखरा।  पोखरा महानगरपालिकाले साबिकमा नक्सा पास नगरी निर्माण भएका घर तथा भवनहरूलाई कानुनी दायरामा ल्याउने उद्देश्यले भवन नियमित तथा अभिलेखीकरण अभियान सञ्चालन गरेको छ। यो अभियान स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को नियम १०२ तथा “भवन नियमित तथा अभिलेखीकरण कार्यविधि २०८० (दोस्रो संशोधन २०८२)” अनुसार अघि बढाइएको हो।

महानगरपालिकाले वैशाख १२ गतेदेखि २१ गतेसम्म विशेष सेवा अभियान सञ्चालन गर्दै नक्सा पास र सम्पन्न प्रमाणपत्र नभएका घर तथा भवनहरूलाई प्रक्रिया पूरा गराई प्रमाणपत्र प्रदान गरिरहेको जनाएको छ। प्लिन्थ क्षेत्रफल २००० वर्गफिटसम्म र तीन तल्लासम्मका घर तथा भवनहरूको सेवा सम्बन्धित वडा कार्यालयबाट उपलब्ध गराइएको छ भने सोभन्दा ठूला तथा बढी तल्ला भएका भवनहरूको सेवा महानगरपालिकाको घर नक्सा तथा अभिलेखीकरण शाखाबाट प्रदान भइरहेको छ।

यसैक्रममा भवन नियमित अभिलेखीकरण सम्बन्धी सहजीकरणका लागि गठित समितिको आयोजनामा पर्यटन क्षेत्रका सरोकारवालाहरूसँग छलफल कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा नगर प्रमुख धनराज आचार्यले नक्सा पास र सम्पन्न प्रमाणपत्र नभएका भवनका कारण उत्पन्न हुन सक्ने कानुनी जटिलताबारे जानकारी दिँदै महानगरको अभियानमा सहभागी हुन आग्रह गरेका थिए।

उनका अनुसार सम्पन्न प्रमाणपत्र वा अभिलेखीकरणमा नआएका भवनहरूको हकमा सम्पत्ति कर, मालपोत तथा भूमिकर तिर्ने, घरजग्गा नामसारी वा बेचबिखन जस्ता सेवा लिन कानुनी अवरोध आउन सक्छ।

समितिका संयोजक तथा वडा नं. २६ का अध्यक्ष नरेन्द्र थापाको अध्यक्षतामा सम्पन्न उक्त छलफलमा पर्यटनसँग सम्बन्धित विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected