0Shares

म्याग्दी, ३० वैशाख : संसारको सातौँ अग्लो हिमाल धौलागिरी हिमालको ६६औँ आरोहण दिवस बुधबार म्याग्दीको धवलागिरी गाउँपालिका–४ मुदीमा पहिलोपटक औपचारिक रूपमा विविध कार्यक्रमसहित मनाइएको छ। हिमालको काखमै आयोजित कार्यक्रममा धौलागिरी क्षेत्रको पर्यटन प्रवर्द्धन, पदमार्ग संरक्षण, जलवायु परिवर्तनको असर तथा स्थानीय अर्थतन्त्रसँग जोडिएका विषयमा व्यापक छलफल गरिएको थियो।

आठ हजार १६७ मिटर उचाइको धौलागिरी हिमाल अवस्थित भूगोलमै पहिलोपटक दिवस आयोजना गरिएकाले स्थानीयवासी उत्साहित बनेका थिए। कार्यक्रममा धौलागिरी चक्रीय पदमार्ग (सर्किट ट्रेक), घरबास (होमस्टे) प्रवर्द्धन, पर्वतारोही सम्मान तथा हिमाली पर्यटनको दीर्घकालीन संरक्षणबारे बहस गरिएको थियो।

सन् १९६० मे १३ मा अस्ट्रियाका कुर्ट डिम्बर्गर नेतृत्वको टोलीले पहिलोपटक धौलागिरी हिमाल सफल आरोहण गरेको इतिहास स्मरण गर्दै कार्यक्रममा हिमालसँग जोडिएको साहस, संघर्ष र पर्यटन सम्भावनाबारे चर्चा गरिएको थियो। उक्त टोलीमा पिटर डियनर, एन्स्ट फोरर, एल्बिन सेल्वर्ट, निमा दोर्जे र नवाङ दोर्जे सहभागी थिए।

गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको सहयोग तथा धवलागिरी गाउँपालिकाको समन्वयमा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीले कार्यक्रम आयोजना गरेको हो।

धवलागिरी गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनले धौलागिरी दिवस अब काठमाडौं र पोखराको सीमित कार्यक्रममा मात्र नरही वास्तविक भूगोलमै पुग्न थालेको बताए।

“विगतमा पहुँच र पहलको कमीले धौलागिरी दिवस पोखरा र काठमाडौंमै सीमित थियो,” उनले भने, “अब धौलागिरीको वास्तविक पहिचान म्याग्दीमै रहेको सन्देश राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा गएको छ।”

कार्यक्रममा अनुभवी पर्वतारोही कृष्ण केसीलाई टान गण्डकीले सम्मान गरेको थियो।

पर्यटन विभागका अनुसार यस याममा धौलागिरी आरोहणबाट सरकारले एक करोड ३४ लाख ५४ हजार ५५० रुपैयाँ सलामी दस्तुर संकलन गरेको छ। यस वर्ष चार समूहका १८ पुरुष र १२ महिला गरी ३० जनाले धौलागिरी आरोहण अनुमति लिएका छन्। अघिल्लो वर्ष ३६ जनाले अनुमति लिएका थिए। विभागको अभिलेखअनुसार पछिल्ला ६६ वर्षमा ७३३ जनाले धौलागिरी सफल आरोहण गरिसकेका छन्।

कार्यक्रममा सहभागी स्थानीय जनप्रतिनिधि तथा पर्यटन व्यवसायीहरूले सडक विस्तार र हेलिकोप्टर पर्यटनका कारण धौलागिरी चक्रीय पदमार्ग संकटमा परेको चिन्ता व्यक्त गरेका थिए।

धवलागिरी गाउँपालिका–४ का वडा अध्यक्ष यामप्रसाद घर्ती तथा पर्यटन व्यवसायी गणेश घर्तीले पर्यटकहरू हेलिकोप्टरमार्फत सिधै आधार शिविर पुग्न थालेपछि परम्परागत पदमार्ग सुनसान बन्दै गएको बताए। उनीहरूले धौलागिरी क्षेत्रलाई संरक्षण क्षेत्र घोषणा गरी व्यवस्थित पर्यटन विकास गर्न माग गरेका छन्।

वक्ताहरूले मोटरबाटो विस्तारसँगै विदेशी पर्यटकको बसाइ अवधि घट्दै गएको र धौलागिरी सर्किटमा अझै पनि पर्याप्त पूर्वाधार अभाव रहेको धारणा राखे। खानेपानी, विश्रामस्थल, सञ्चार, स्वास्थ्य सेवा र सुरक्षित पदमार्ग निर्माणमा राज्यले प्राथमिकता दिनुपर्ने उनीहरूको जोड थियो।

गण्डकी प्रदेश उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमालले धौलागिरीसहितका हिमाली क्षेत्रको अन्तर्राष्ट्रिय प्रचार–प्रसार गर्न सके स्थानीयको जीवनस्तर उकास्ने गरी पर्यटन विस्तार गर्न सकिने बताइन्।

“जलवायु परिवर्तनको असर हाम्रो हिमालमा स्पष्ट देखिएको छ,” उनले भनिन्, “हिमालको अस्तित्व जोगिए मात्रै मानव सभ्यताको अस्तित्व सुरक्षित रहन्छ।”

प्रदेश सांसद रेशम जुग्जालीले गाउँ–गाउँमा सडक पुग्नु जनताको आवश्यकता भए पनि पर्यटन जोगाउन वैकल्पिक पदमार्ग विकास गर्नुपर्नेमा जोड दिए । उनले धौलागिरी क्षेत्रले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)बाट पर्यटन व्यवस्थापन र स्थानीय लाभ वितरणको मोडेल सिक्नुपर्ने धारणा राखे।

म्याग्दीका प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले धौलागिरी सर्किटमा पूर्वाधार विकासलाई राज्यका सम्बन्धित निकायले प्राथमिकतामा राख्नुपर्ने बताए।

त्यसैगरी पर्यटन बोर्ड पोखरा कार्यालय प्रमुख मणिराज लामिछाने, पोखरा पर्यटन परिषद्का उपाध्यक्ष हरि भुजेल, एक्याप प्रमुख रविन कडरिया तथा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठलगायतले धौलागिरी क्षेत्रमा नयाँ पदमार्ग, संरक्षण योजना तथा पर्यटन पूर्वाधार विस्तारमा जोड दिएका थिए।

टान गण्डकीका अध्यक्ष कृष्ण आचार्यले धौलागिरी क्षेत्रलाई एक्याप मोडेलमा विकास गर्न सकिने धारणा राख्दै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरेर पर्यटन गतिविधि विस्तार गर्नुपर्ने आवश्यकता औँल्याए।

हिमाल, संस्कृति, प्रकृति र साहसिक पर्यटनको अनुपम संगम मानिएको धौलागिरी क्षेत्रमा अहिले संरक्षण र विकासबीच सन्तुलन कसरी कायम गर्ने भन्ने बहस थप गहिरिएको छ। स्थानीयवासी, पर्यटन व्यवसायी र सरोकारवालाहरूले धौलागिरीलाई केवल आरोहण गन्तव्य नभई दिगो हिमाली पर्यटनको नमुना क्षेत्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका छन्।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected