परशु आधारभूत विद्यालयमा हीरक जयन्तीको उल्लास: ६८औँ वार्षिकोत्सव भव्य रूपमा मनाइने

अन्नपूर्ण-१, कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–१ स्थित श्री परशु आधारभूत विद्यालय आफ्नो गौरवशाली ६८ वर्षे यात्रालाई स्मरणीय बनाउँदै आगामी पौष ९ गते विद्यालय स्थापना दिवसको अवसरमा हीरक जयन्ती तथा ६८औँ वार्षिकोत्सव मनाउने तयारीमा जुटेको छ। विद्यालयले विविध कार्यक्रम आयोजना गरी हीरक जयन्तीलाई ऐतिहासिक, सभ्य र स्मरणीय उत्सवका रूपमा मनाउने लक्ष्य लिएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केदारनाथ अधिकारीको संयोजकत्वमा ५ सय ५५ सदस्यीय हीरक जयन्ती मूल समारोह समिति गठन गरिएको छ। विद्यालयका प्रधानाध्यापक हरिप्रसाद भुगाईका अनुसार हीरक जयन्तीलाई केवल औपचारिक समारोहमा सीमित नराखी विद्यालय, पूर्वविद्यार्थी, अभिभावक, स्थानीय समुदाय तथा शुभेच्छुकहरूलाई जोड्ने साझा अभियानका रूपमा अघि बढाइएको छ।
“यो कार्यक्रम विद्यालयको मात्रै नभई समग्र यस क्षेत्र र आसपासका समुदायको गौरवसँग जोडिएको उत्सव हो,” प्रधानाध्यापक भुगाईले बताए। उनका अनुसार विद्यालयको इतिहास, उपलब्धि र भविष्यको मार्गचित्रलाई एकैसाथ प्रस्तुत गर्ने अवसरका रूपमा हीरक जयन्तीलाई लिइएको छ।
कार्यक्रमलाई व्यवस्थित, प्रभावकारी र उपलब्धिमूलक बनाउन १३ सदस्यीय कार्यसम्पादन समितिसमेत गठन गरिएको छ। समितिको संयोजकमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केदारनाथ अधिकारी रहेका छन् भने सह–संयोजकमा कृष्णबहादुर कुँवर ‘बी’, महासचिवमा महेन्द्रबहादुर कुँवर, सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक हरिप्रसाद भुगाई रहेका छन्। त्यस्तै कोषाध्यक्षमा गायत्री अधिकारी पराजुली र सह–कोषाध्यक्षमा मोहनप्रसाद अधिकारी चयन भएका छन्। सदस्यहरूमा कृष्णबहादुर कुँवर ‘ए’, कलाधर भुगाई, इन्द्रप्रसाद अधिकारी, खिमप्रसाद अधिकारी, इन्द्रबहादुर नेपाली, राधा अधिकारी र राधा कुँवर रहेका छन्।

हीरक जयन्तीलाई सफल बनाउन विभिन्न विषयगत उपसमितिहरू समेत सक्रिय रूपमा परिचालित भइसकेका छन्। टंकराज अधिकारीको संयोजकत्वमा प्रचार–प्रसार तथा मिडिया व्यवस्थापन समिति, गायत्री अधिकारीको नेतृत्वमा अर्थ संकलन तथा व्यवस्थापन समिति, महेन्द्रबहादुर कुँवरको संयोजकत्वमा स्मारिका प्रकाशन समिति, राधा अधिकारीको नेतृत्वमा स्वागत सत्कार उपसमिति तथा शिवप्रसाद अधिकारीको संयोजकत्वमा विज्ञापन संकलन उपसमिति गठन गरिएको छ।
त्यसैगरी राजेन्द्रराज अधिकारीको नेतृत्वमा पूर्वविद्यार्थी समन्वय उपसमिति गठन गरिएको छ। ऐतिहासिक अभिलेख संकलन, अभिनन्दन तथा सम्मान, साहित्यिक कार्यक्रम, स्वयंसेवक परिचालन, मञ्च तथा साउण्ड व्यवस्थापन, निमन्त्रणा, आवास तथा भोजन व्यवस्थापन, खानेपानी तथा सरसफाइ, अतिरिक्त क्रियाकलाप, संघ–संस्था परिचालन, आमा समूह परिचालन, झाँकी व्यवस्थापन, अभिभावक समन्वय, सांस्कृतिक कलाकार व्यवस्थापन, पुरस्कार व्यवस्थापन तथा स्वास्थ्य सेवा परिचालनलगायतका उपसमितिहरूले पनि आ–आफ्नो जिम्मेवारी सम्हालिसकेका छन्।
विद्यालयले हीरक जयन्तीका अवसरमा करिब ५० लाख रुपैयाँ आर्थिक संकलन गर्ने लक्ष्य राखेको छ भने कार्यक्रम सञ्चालन तथा व्यवस्थापनका लागि करिब २० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। संकलित रकमबाट कार्यक्रम सम्पन्न गरेपछि बचत हुने रकम विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, भौतिक पूर्वाधार विकास तथा विद्यार्थीमैत्री वातावरण निर्माणमा लगानी गरिने जनाइएको छ।
वि.सं. २०१६ सालमा स्थापना भएको परशु आधारभूत विद्यालयले विगत छ दशकभन्दा बढी समयदेखि ग्रामीण क्षेत्रको शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ। विद्यालयका अभिलेखअनुसार हालसम्म करिब ९ सय विद्यार्थीले यहाँबाट पाँच कक्षासम्म अध्ययन पूरा गरेका छन्। तत्कालीन समयमा प्राथमिक तहसम्म मात्र अध्ययन गरी अन्यत्र जाने प्रचलन रहेकाले विद्यालयसँग जोडिएका पूर्वविद्यार्थीहरूको संख्या अझ ठूलो रहेको अनुमान गरिएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केदारनाथ अधिकारीले हीरक जयन्तीलाई विद्यालयको इतिहास, योगदान र उपलब्धिको उत्सव मात्र नभई आगामी पुस्ताका लागि नयाँ ऊर्जा र प्रेरणा दिने अवसरका रूपमा लिइएको बताए। उनका अनुसार यस अवसरमा ‘परशु आधारभूत पूर्वविद्यार्थी समाज’लाई संस्थागत, व्यवस्थित र दीर्घकालीन रूपमा सक्रिय बनाउने विशेष योजना पनि अघि सारिएको छ।
स्थापनाको ६८ वर्ष पूरा गर्दै गर्दा परशु आधारभूत विद्यालयले आफ्नो विगतको गौरवलाई सम्मान गर्दै भविष्यका शैक्षिक लक्ष्यहरूलाई अझ सशक्त बनाउने संकल्प गरेको छ। समुदाय, पूर्वविद्यार्थी, अभिभावक र शुभेच्छुकहरूको व्यापक सहभागितासहित मनाइने हीरक जयन्तीले विद्यालयको इतिहासमा एउटा स्वर्णिम अध्याय थप्ने विश्वास गरिएको छ।






















