0Shares

पोखरा, २३ जेठ । नेपालमा बढ्दो युवा पलायनलाई रोक्न कृत्रिम बुद्धिमत्ता (एआई) र सूचना प्रविधि (आईटी) क्षेत्रमा रोजगारी विस्तार तथा सीप विकासलाई प्राथमिकता दिनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्। यही उद्देश्यलाई केन्द्रमा राख्दै टेक पाईला इनोभेसन्सले पोखरामा गण्डकी प्रदेश स्तरीय कार्यालय तथा सेवाको औपचारिक शुभारम्भ गरेको छ।

विशेष समारोहका बीच नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले रिबन काटेर कार्यालय उद्घाटन गरेका छन् । कार्यक्रममा बोल्दै उनले एआई र सूचना प्रविधि नेपालको आर्थिक समृद्धि, रोजगारी सिर्जना तथा डिजिटल रूपान्तरणका प्रमुख आधार भएको बताए।

“विश्व एआई केन्द्रित अर्थतन्त्रतर्फ अगाडि बढिरहेको छ। यस्तो अवस्थामा नेपालले नीतिगत सुधार, अनुसन्धान तथा दक्ष जनशक्ति उत्पादनमा ढिलाइ गर्नु हुँदैन,” मल्लले भने । कक्षा १२ उत्तीर्ण गरेलगत्तै विदेशिने युवाको प्रवृत्ति रोक्न नेपालमै सिक्ने, कमाउने र अवसर सिर्जना गर्ने वातावरण निर्माण गर्न आवश्यक रहेको उनले उल्लेख गरे । मल्लले एआई कम्प्युट केन्द्र स्थापना गरी विद्यार्थी, युवा तथा स्टार्टअपहरूलाई विश्वस्तरीय प्रविधिमा पहुँच दिन सके नेपाल दक्षिण एसियाकै डिजिटल हब बन्न सक्ने विश्वास व्यक्त गरे ।देशव्यापी रूपमा ‘स्किल–फर्स्ट’ अवधारणालाई अघि बढाएकोमा टेक पाईला इनोभेसन्सका एसोसिएट डाइरेक्टर चिरञ्जीवी अधिकारीको प्रशंसा गरेका थिए ।

कार्यक्रमका मुख्य वक्ता तथा क्यान महासंघका कार्यवाहक अध्यक्ष चिरञ्जीवी अधिकारीले प्रमाणपत्रभन्दा सीपलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याए । उनले बजारको मागअनुसार एआई, साइबर सुरक्षा र डाटा साइन्सका व्यावसायिक तालिम तथा कोर्षहरू सञ्चालन गरिरहेको जानकारी दिए ।

“एआई कसरी काम गर्छ भन्ने बुझ्नु मात्र पर्याप्त हुँदैन। त्यससँगै साइबर जोखिम न्यूनीकरण गर्न र सुरक्षित डाटा–आधारित निर्णय लिन सक्ने जनशक्ति आजको आवश्यकता हो,” अधिकारीले भने ।

उनले नेपालको युवा प्रतिभालाई स्वदेशमै अवसर उपलब्ध गराउन, नवप्रवर्तनलाई प्रोत्साहन गर्न र उच्च मूल्यका रोजगारी सिर्जना गर्न डिजिटल अर्थतन्त्रसँगै एआई अर्थतन्त्रलाई राष्ट्रिय प्राथमिकतामा राख्नुपर्ने धारणा राखेका थिए ।

कार्यक्रममा सफ्टेड ग्रुपका चेयरपर्सन विज्ञान श्रेष्ठले स्वदेशी एआई इन्जिन विकास तथा प्रविधि उद्यमलाई प्रोत्साहन गर्न सरकारले स्टार्टअपहरूलाई कर छुट तथा विशेष सहुलियत उपलब्ध गराउनुपर्ने माग गरे । उनले नेपाली युवाहरूलाई गुणस्तरीय तथा व्यावहारिक शिक्षा प्रदान गर्न आफ्नो संस्था प्रतिबद्ध रहेको बताए ।

उद्घाटन समारोहमा क्यान महासंघ कास्कीका अध्यक्ष पुरुषोत्तम कुँवर, आईसीटी लिडर जगन गुरुङ, क्यान महासंघका केन्द्रीय कार्यकारिणी सदस्यद्वय चिन्तामणि बास्तोला र खड्कबहादुर गुरुङ, क्यान महासंघ गण्डकी प्रदेशका अध्यक्ष गुणनिधि (जीएन) पाण्डे तथा सफ्टवारिका कलेजका प्रिन्सिपल प्रमोद पौडेललगायतको उपस्थिति रहेको थियो।

सूचना प्रविधि क्षेत्रका उद्यमी, नीति निर्माता, शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको उल्लेख्य सहभागिता रहेको कार्यक्रममा वक्ताहरूले एआई र सूचना प्रविधिलाई नेपालको आर्थिक विकास, रोजगारी विस्तार र युवा पलायन नियन्त्रणको प्रभावकारी माध्यमका रूपमा अगाडि बढाउनुपर्नेमा एकमत व्यक्त गरेका थिए।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected