0Shares

अन्नपूर्ण, कास्की। विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रा मार्गलाई थप सुरक्षित, व्यवस्थित र पर्यटकमैत्री बनाउने उद्देश्यसहित अन्नपूर्ण गाउँपालिका वडा नं. ११ अन्तर्गत देउरालीदेखि माछापुच्छ्रे बेस क्याम्प (एमबीसी) सम्मको पदमार्ग स्तरोन्नति तथा पर्यटकीय पूर्वाधार निर्माण कार्य तीव्र गतिमा अघि बढाइएको छ। हिमाली पर्यटनको प्रमुख गन्तव्यका रूपमा स्थापित यस क्षेत्रमा सञ्चालन भइरहेको परियोजनाले पदयात्रीहरूको यात्रालाई सहज, सुरक्षित तथा गुणस्तरीय बनाउने अपेक्षा गरिएको छ।

नेपाल पर्यटन बोर्ड र अन्नपूर्ण गाउँपालिकाको संयुक्त लगानीमा सञ्चालन भइरहेको उक्त परियोजनाको कुल लागत ४५ लाख रुपैयाँ रहेको छ। समुद्री सतहबाट करिब ३ हजार ५०० मिटरभन्दा माथिको दुर्गम हिमाली क्षेत्रमा निर्माण कार्य भइरहेको यस योजनाले विशेषगरी अन्नपूर्ण आधार शिविर जाने स्वदेशी तथा विदेशी पर्यटकहरूको सुरक्षालाई प्राथमिकतामा राखेको छ।

अन्नपूर्ण गाउँपालिका–११ का वडाध्यक्ष हिमबहादुर गुरुङका अनुसार, हिमाली क्षेत्रमा मौसमको प्रतिकूलता, हिमपात तथा भू–क्षयका कारण जोखिमपूर्ण बनेको पदमार्गलाई व्यवस्थित गर्न परियोजना सञ्चालन गरिएको हो। उनले निर्माण कार्य सम्पन्न भएपछि पदयात्रा अझ सुरक्षित र सहज बन्ने विश्वास व्यक्त गरे।

अन्नपूर्ण आधार शिविर पदयात्रा नेपालकै सबैभन्दा लोकप्रिय ट्रेकिङ गन्तव्यमध्ये एक मानिन्छ। प्रत्येक वर्ष हजारौं आन्तरिक तथा बाह्य पर्यटक यही मार्ग हुँदै अन्नपूर्ण आधार शिविर पुग्ने गर्छन्। तर देउरालीदेखि माछापुच्छ्रे बेस क्याम्पसम्मको खण्ड हिमपात, वर्षा, पहिरो तथा चट्टान खस्ने जोखिमका कारण संवेदनशील क्षेत्रका रूपमा परिचित छ।

विशेषगरी कतिपय स्थानमा साँघुरा बाटो, जीर्ण सिँढी, ढुंगा–माटो खस्ने समस्या तथा प्रतिकूल मौसमका कारण पदयात्रीहरूले विभिन्न कठिनाइ सामना गर्दै आएका थिए। यही अवस्थालाई मध्यनजर गर्दै परियोजनाअन्तर्गत ढुंगे सिँढी निर्माण, बाटो चौडा बनाउने, जोखिमयुक्त स्थानमा सुरक्षात्मक संरचना निर्माण गर्ने तथा आवश्यक पर्यटकीय पूर्वाधार विकास गर्ने कार्य भइरहेको छ।

अन्नपूर्ण गाउँपालिका कास्कीका अध्यक्ष विष्णुबहादुर केसीले पदमार्गको स्तरोन्नतिले यात्रुहरूको आवागमन सहज बनाउनुका साथै आपतकालीन उद्धार तथा विपद् व्यवस्थापनमा समेत महत्वपूर्ण सहयोग पुग्ने बताए। उनका अनुसार पर्यटन क्षेत्र नै गाउँपालिकाको समग्र आर्थिक विकासको मुख्य आधार भएकाले पर्यटकीय पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राखिएको छ।

अध्यक्ष केसीले प्राकृतिक, सांस्कृतिक तथा हिमाली पर्यटनको अपार सम्भावना बोकेको अन्नपूर्ण क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरको सुरक्षित तथा आकर्षक पदयात्रा गन्तव्यका रूपमा विकास गर्ने दीर्घकालीन लक्ष्य गाउँपालिकाले अघि सारेको जानकारी दिए।

उनले भने, देउरालीमाछापुच्छ्रे बेस क्याम्प पदमार्ग सुधारले पर्यटकलाई सुरक्षित सहज यात्राअनुभव प्रदान गर्नेछ। यसबाट स्थानीय होटल व्यवसाय, यातायात सेवा, कृषि उत्पादनकोबजारीकरण तथा पर्यटनसँग सम्बन्धित अन्य आर्थिक गतिविधिको विस्तारमा महत्वपूर्ण योगदान पुग्नेअपेक्षा गरेका छौं।

स्थानीय पर्यटन व्यवसायी तथा छोम्रोंग पर्यटन व्यवसायी समितिका सचिव दिलीप गुरुङका अनुसार पछिल्ला वर्षहरूमा अन्नपूर्ण आधार शिविर पदयात्रामा आउने पर्यटकको संख्या निरन्तर वृद्धि भइरहेको छ। विशेषगरी कोभिड–१९ महामारीपछि पर्यटन क्षेत्र पुनरुत्थानको चरणमा प्रवेश गरेसँगै विदेशी पर्यटकको आगमनमा उल्लेखनीय सुधार देखिएको छ।

उनका अनुसार पदमार्गको गुणस्तर सुधार तथा आधारभूत पूर्वाधार विस्तारले पर्यटकको बसाइ अवधि बढाउन सहयोग पुग्नेछ। साथै अन्तर्राष्ट्रिय पर्यटन बजारमा अन्नपूर्ण क्षेत्रको सकारात्मक छवि निर्माण भई थप पर्यटक आकर्षित गर्न मद्दत पुग्ने विश्वास गरिएको छ।

देउरालीदेखि माछापुच्छ्रे बेस क्याम्पसम्मको क्षेत्र हिमाली दृश्यावलोकनका दृष्टिले अत्यन्त आकर्षक मानिन्छ। यस मार्गबाट अन्नपूर्ण हिमशृङ्खला, माछापुच्छ्रे हिमाल, हिमचुली हिमाललगायतका मनोरम हिमाली दृश्य नजिकबाट अवलोकन गर्न सकिन्छ। यही कारणले अन्नपूर्ण आधार शिविर पदयात्रा नेपालका सबैभन्दा लोकप्रिय हिमाली पर्यटन उत्पादनमध्ये एकका रूपमा स्थापित भएको छ।

नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक एवम् गण्डकी प्रदेश प्रमुख मणिराज लामिछानेले हिमाली पदमार्गको नियमित मर्मत, सुरक्षा व्यवस्थापन तथा वातावरणमैत्री पूर्वाधार विकासमार्फत मात्र दिगो पर्यटन प्रवर्द्धन सम्भव हुने बताए। उनका अनुसार देउराली–माछापुच्छ्रे बेस क्याम्प पदमार्ग स्तरोन्नति परियोजना हिमाली पर्यटनको गुणस्तर अभिवृद्धितर्फको महत्वपूर्ण पहल हो।

उनका अनुसार परियोजना सम्पन्न भएपछि अन्नपूर्ण आधार शिविर जाने पदयात्रीहरूले सुरक्षित, सहज तथा गुणस्तरीय सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ। साथै स्थानीय समुदायको आयआर्जन वृद्धि, रोजगारी सिर्जना, पर्यटन व्यवसायको विस्तार तथा समग्र क्षेत्रीय अर्थतन्त्र सुदृढीकरणमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ।

अध्यक्ष के.सी.का अनुसार अन्नपूर्ण गाउँपालिकाले आगामी दिनमा पनि अन्नपूर्ण क्षेत्रका अन्य पदमार्ग, विश्रामस्थल, सूचना केन्द्र तथा पर्यटनसँग सम्बन्धित पूर्वाधार विकासका योजनालाई प्राथमिकताका साथ अघि बढाउने भएको छ। हिमाली पर्यटनको दीगो विकास, पर्यटक सुरक्षा र स्थानीय आर्थिक समृद्धिलाई केन्द्रमा राखेर सञ्चालन भइरहेको यस्तो पहलले अन्नपूर्ण क्षेत्रलाई विश्व पर्यटन नक्सामा अझ सशक्त रूपमा स्थापित गर्नेछ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected