
पोखरा, असार ३० — कास्की जिल्ला क्रिकेट संघको नयाँ नेतृत्व चयन भएको छ। संघको शनिवार सम्पन्न निर्वाचनबाट दीपेन्द्रप्रताप चन्द अध्यक्षमा निर्वाचित भएका छन्। अध्यक्ष पदका लागि भएको प्रतिस्पर्धामा चन्दले ४० मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी दीपेश खत्रीले २७ मत प्राप्त गरेका थिए।
निर्वाचन समितिले सार्वजनिक गरेको परिणामअनुसार आगामी चार वर्षे कार्यकालका लागि संघको कार्यसमिति चयन गरिएको हो। अध्यक्षमा निर्वाचित चन्दसँगै अन्य पदाधिकारी तथा सदस्यहरू पनि निर्विरोध निर्वाचित भएका छन्।
नयाँ कार्यसमितिको उपाध्यक्षमा चन्द्रकुमार गुरुङ (जिज्ञी), सचिवमा विजय राउत तथा कोषाध्यक्षमा दुर्गा बहादुर चन्द निर्वाचित भएका छन्।
त्यसैगरी सदस्यहरूमा ऋषिकेश शर्मा गौतम, गोविन्द प्रधान, देवेन्द्र प्रजु, विद्यान श्रेष्ठ, दीपक बराल, दिलीप अग्रहरी, आशिष बराल, भोजराज बराल, जयप्रकाश थापा (पप्पु), पूर्णचन्द्र न्यौपाने र गुणा ल्वाली निर्वाचित भएका छन्।
निर्वाचन संयोजक वरिष्ठ अधिवक्ता विष्णु प्रसाद शर्माले निर्वाचन परिणाम सार्वजनिक गर्दै नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिएका छन्।
नवनिर्वाचित अध्यक्ष चन्दले कास्की क्रिकेटको समग्र विकास, प्रतिभा पहिचान, खेल पूर्वाधार विस्तार तथा जिल्ला क्रिकेटलाई प्रदेश र राष्ट्रिय स्तरमा थप प्रतिस्पर्धी बनाउने लक्ष्यसहित अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।



























