नेपाल टेलिकमद्वारा श्री राधा उच्च माध्यमिक विद्यालयलाई निःशुल्क उच्चगतिको FTTH इन्टरनेट सेवा
- July 2, 2026
- 27

पोखरा । नेपाल टेलिकम प्रादेशिक निर्देशनालय गण्डकी, पोखराले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–जामुनेस्थित श्री राधा उच्च माध्यमिक विद्यालयलाई निःशुल्क उच्चगतिको FTTH (फाइबर टु द होम) इन्टरनेट सेवा उपलब्ध गराएको छ।
सेवाको औपचारिक शुभारम्भका अवसरमा नेपाल टेलिकम दमौली कार्यालयका प्रमुख इन्जिनियर भीमसेन विश्वकर्माले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्दीप रानाभाट र प्रधानाध्यापक अशोकचन्द्र वाग्लेलाई 5G राउटर हस्तान्तरण गरेका थिए।
कार्यक्रममा नेपाल टेलिकम प्रादेशिक निर्देशनालय गण्डकी, पोखराका प्रशासकीय अधिकृत सुदीप आचार्यले नेपाल टेलिकमका सेवा तथा सामाजिक उत्तरदायित्व कार्यक्रमबारे जानकारी दिँदै सूचना तथा सञ्चार प्रविधिमार्फत गुणस्तरीय शिक्षाको पहुँच विस्तार गर्न टेलिकम निरन्तर प्रतिबद्ध रहेको बताए। नेपाल सरकारलाई सबैभन्दा बढी राजस्व बुझाउने सार्वजनिक संस्थानका रूपमा टेलिकमले शिक्षा, सूचना प्रविधि र डिजिटल पहुँच विस्तारमा उल्लेखनीय योगदान पुर्याउँदै आएको उनको भनाइ थियो। वर्तमान समयमा गुणस्तरीय शिक्षाका लागि उच्चगतिको इन्टरनेट अपरिहार्य भइसकेको उनले उल्लेख गरे।
विद्यालयका प्रधानाध्यापक अशोकचन्द्र वाग्लेले निःशुल्क FTTH इन्टरनेट सेवा उपलब्ध गराएकोमा नेपाल टेलिकमप्रति आभार व्यक्त गर्दै यसले विद्यालयको पठनपाठन तथा सूचना प्रविधिमा आधारित सिकाइ प्रणालीलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले आगामी दिनमा पनि टेलिकमसँगको सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्दीप रानाभाटले नेपाल टेलिकमले सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालयलाई छनोट गरी उच्चगतिको इन्टरनेट सेवा उपलब्ध गराएकोमा धन्यवाद व्यक्त गरे। उनले यस सेवाले विद्यार्थी र शिक्षकलाई आधुनिक प्रविधिमार्फत शिक्षण–सिकाइ प्रक्रियामा थप सहजता प्रदान गर्ने विश्वास व्यक्त गर्दै भविष्यमा पनि विभिन्न शैक्षिक तथा प्रविधिमैत्री कार्यक्रमहरूमा टेलिकमसँग सहकार्य गर्न विद्यालय तयार रहेको बताए।
कार्यक्रममा नेपाल टेलिकम दमौली कार्यालयका प्राविधिक कर्मचारी, विद्यालयका शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा स्थानीय सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको सञ्चालन नेपाल टेलिकम प्रादेशिक निर्देशनालय गण्डकी, पोखराका प्रशासकीय अधिकृत दिनेशमणि लामिछानेले गरेका थिए।




























