२०८३ कार्तिक १८, बुधबार Wednesday, November 4, 2026
खबर

स्वैच्छिक रक्तदान अभियान विस्तार गर्न लायन्सका १२ जिल्लामा संयोजक नियुक्त

काठमाडौं ।  टी.यू. लायन्स रक्तसञ्चार तथा अनुसन्धान केन्द्रले स्वैच्छिक रक्तदान अभियानलाई देशव्यापी रूपमा विस्तार गर्ने उद्देश्यसहित लायन्स वर्ष २०२६/२०२७ का लागि १२ वटा लायन्स डिष्ट्रिक्टमा रक्त बैंक तथा रक्तदान संयोजकलाई नियुक्तिपत्र प्रदान गरेको छ।

सोमबार केन्द्रमा आयोजित कार्यक्रममा टी.यू. लायन्स रक्तसञ्चार तथा अनुसन्धान केन्द्रका अध्यक्ष राजेन्द्र गिरीले संयोजकहरूलाई नियुक्तिपत्र हस्तान्तरण गरे। कार्यक्रममा मल्टिपल काउन्सिल चेयरपर्सन केशर भण्डारी, डिष्ट्रिक्ट गभर्नरहरू उत्तम पी. कायस्थ, सूर्यकुमार केसी, तारा भुसाल र रत्न पराजुलीलगायतको सहभागिता थियो।

कार्यक्रमका क्रममा लायन्स डिष्ट्रिक्ट ‘ई’ ले केन्द्रलाई रक्तदान प्रमाणपत्र तथा रक्तदाता फाराम हस्तान्तरण गरेको छ। केन्द्रले यसबाट रक्तदान कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुग्ने जनाएको छ।

यसैबीच, केन्द्रको वेबसाइट, मोबाइल एप तथा डिजाइन टोलीसँग डिजिटल सेवा विस्तारसम्बन्धी रणनीतिक बैठक पनि सम्पन्न भएको छ। बैठकमा रक्तसञ्चार सेवालाई प्रविधिमैत्री, पारदर्शी र सर्वसुलभ बनाउने, देशभर नियमित रक्तदान शिविर सञ्चालन गर्ने तथा सुरक्षित रगतको पर्याप्त आपूर्ति सुनिश्चित गर्ने विषयमा छलफल भएको केन्द्रले जनाएको छ। साथै केन्द्रका आजीवन सदस्य संख्या वृद्धि गर्दै सबै लायन्स डिष्ट्रिक्टमा समन्वित अभियान सञ्चालन गर्ने निर्णयसमेत गरिएको छ।

केन्द्रका उपाध्यक्ष तथा रक्तदान शिविर एवं स्रोत व्यवस्थापन संयोजक मनबहादुर रोकाले लायन्स नेतृत्व, रक्तदान संयोजक, स्वयंसेवक र सहयोगी संस्थाबीचको सहकार्यले नेपालमा आत्मनिर्भर र दिगो रक्तसेवा प्रणाली निर्माण गर्न महत्वपूर्ण योगदान पुग्ने बताए। उनले लायन्स वर्ष २०२६/२०२७ लाई स्वैच्छिक रक्तदान अभियानको उपलब्धिमूलक वर्ष बनाउने लक्ष्यका साथ सबै पक्षलाई सक्रिय सहभागिताका लागि आह्वान गरे।

रोकाका अनुसार केन्द्र विश्व स्वास्थ्य संगठनका मापदण्डअनुसार सुरक्षित रक्त सेवा प्रदान गर्ने लक्ष्यका साथ सञ्चालन भइरहेको छ। केन्द्रमा USFDA-अनुरूप उपकरण, शतप्रतिशत ब्लड कम्पोनेन्ट सेपरेसन प्रविधि, अत्याधुनिक ECLIA परीक्षण प्रणाली, पूर्ण स्वचालित रक्त समूह परीक्षण प्रणाली तथा आधुनिक भण्डारण पूर्वाधार प्रयोगमा रहेका छन्।

उनका अनुसार केन्द्रले प्रविधि र पूर्वाधारसँगै कर्मचारी क्षमता विकास, नियमित तालिम तथा समुदायमा रक्तदानसम्बन्धी जनचेतना अभिवृद्धिलाई पनि प्राथमिकता दिँदै स्वैच्छिक रक्तदान संस्कृतिको विस्तार र सुरक्षित रक्त सेवाको पहुँच बढाउने अभियानलाई निरन्तरता दिएको छ।

Read more

पाँच दशकको अविरल सेवायात्रा : स्वर्ण महोत्सव मनाउँदै लायन्स क्लब अफ पोखरा

नेपालकै छैटौँ तथा पोखराको पहिलो लायन्स क्लबको ऐतिहासिक उत्सव मंसिर ५ गते पोखरा, कार्तिक १७। समय बदलियो, पुस्ता फेरिए, नेतृत्व हस्तान्तरण हुँदै गयो; तर समाजसेवाप्रतिको संकल्प कहिल्यै डगमगाएन।…

ज्योतिष, शिक्षा र सामाजिक सेवामा विशिष्ट योगदान पुर्‍याउँदै आएका डा.हरिश्चन्द्र भण्डारीलाई ‘वर्ष ज्योतिषी सम्मान–२०८३’

अध्यापन, अनुसन्धान, ज्योतिषीय परामर्श र वैदिक धर्म–संस्कृतिको प्रवर्द्धनमा सक्रिय डा. भण्डारीलाई ज्योतिष परिषद् नेपालको पहिलो ‘वर्ष ज्योतिषी’ सम्मान चितवन। ज्योतिषशास्त्रको अध्ययन, अध्यापन, प्रशिक्षण तथा व्यावहारिक ज्योतिषीय परामर्शका क्षेत्रमा…

अन्नपूर्ण–१० फुलीबाङमा जनसेवा आधारभूत विद्यालयको सुविधासम्पन्न तीन कोठे भवन उद्घाटन

वर्षाले क्षतिग्रस्त विद्यालय भवन पुनर्निर्माणपछि विद्यार्थीलाई सुरक्षित र व्यवस्थित पठनपाठनको वातावरण अन्नपूर्ण, कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–१०, फुलीबाङस्थित श्री जनसेवा आधारभूत विद्यालयमा नवनिर्मित तीन कोठे सुविधासम्पन्न पक्की भवनको…

कांग्रेस पार्टी नै फुटाएर हिँडेका छन् गगन थापा : शशांक कोइराला

पोखरा, १५ कात्तिक। नेपाली कांग्रेसका नेता शशांक कोइरालाले पार्टीभित्र विषम परिस्थिति नरहेको अवस्थामा महामन्त्री गगन थापाले विशेष महाधिवेशनको नाममा कांग्रेसलाई विभाजनतर्फ धकेलेको आरोप लगाएका छन्। नेपाली कांग्रेसको १५औँ…

श्रृजना मल्ललाई नेविसंघको नेतृत्व, ६ महिनाभित्र महाधिवेशन गराउन निर्देशन

पोखरा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले नेपाल विद्यार्थी संघ (नेविसंघ) को अध्यक्षमा श्रृजना मल्ललाई मनोनीत गरेको छ। नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक प्रा.डा.…

कांग्रेस कास्की–१ को ‘आमा–शिशु साथ अभियान’ : सुत्केरीलाई लोकल भाले, नवजात शिशुलाई नयाँ कपडा

पोखरा । नेपाली कांग्रेस कास्की क्षेत्र नं. १ ले आर्थिक रूपमा विपन्न तथा दलित समुदायका सुत्केरी आमा र नवजात शिशुलाई लक्षित गर्दै ‘आमा–शिशु साथ अभियान’ सञ्चालन गर्ने भएको…