२०८३ कार्तिक १७, मंगलबार Tuesday, November 3, 2026
खेलकुद

पोखरा रङ्गशालाको हरियाली अभियानमा इको नेक्स्टको साथ, ४ सय किलो प्राङ्गारिक मल सहयोग

पोखरा । पोखरा रङ्गशालामा जारी हरियाली तथा वृक्षारोपण अभियानलाई थप व्यवस्थित, दिगो र प्रभावकारी बनाउन इको नेक्स्ट टेक्नोलोजी प्रा.लि. ले ४ सय किलोग्राम इको अर्गानिक (प्राङ्गारिक) मल सहयोग गरेको छ।

जिल्ला खेलकुद विकास समिति, कास्कीको आयोजनामा सञ्चालित वृक्षारोपण अभियानअन्तर्गत रङ्गशाला परिसरमा आयोजित कार्यक्रममा कम्पनीका सञ्चालक राजेश गौतम (राजु)ले जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष मिलन गुरुङ लगायतका पदाधिकारीलाई मल हस्तान्तरण गरेका हुन्।

पोखरा रङ्गशालालाई हरियाली, स्वच्छ तथा वातावरणमैत्री खेल परिसरका रूपमा विकास गर्ने उद्देश्यले सञ्चालन भइरहेको अभियानमा पूर्व राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी, विभिन्न खेल संघ–संस्थाका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि, प्रदेशसभा सदस्य तथा खेलप्रेमी समाजसेवीहरूको सक्रिय सहभागिता रहँदै आएको छ।

कार्यक्रममा जिल्ला खेलकुद विकास समिति कास्कीका कार्यालय प्रमुख डिबी नेपालीले वृक्षारोपण गरिएका बिरुवाको संरक्षण, मलजल र नियमित हेरचाहमा समाजसेवी गोपाल गुरुङ तथा खेलप्रेमी समाजसेवी राजेन्द्रबहादुर थापाले खेलेको समन्वयकारी भूमिकाको प्रशंसा गरे। उनकै समन्वयमा इको नेक्स्ट टेक्नोलोजीले अभियानका लागि प्राङ्गारिक मल उपलब्ध गराएको हो।

समितिका अध्यक्ष मिलन गुरुङले हरियाली अभियानलाई सफल बनाउन व्यवसायी राजेश गौतमले गरेको सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सहकार्यलाई निरन्तरता दिने विश्वास व्यक्त गरे।

मल हस्तान्तरणपछि बोल्दै इको अर्गानिक मलका उत्पादक राजेश गौतम (राजु)ले पोखराको एकमात्र अन्तर्राष्ट्रियस्तरको रङ्गशालालाई हरियाली बनाउने अभियानमा योगदान गर्न पाउँदा गर्व लागेको बताए।

उनले भने, “हामीले रोपेका बिरुवालाई मानिसलाई जस्तै उचित पोषण र नियमित हेरचाह आवश्यक हुन्छ। रासायनिक मलको बढ्दो प्रयोगले माटोको उर्वराशक्ति घट्दै गएको र मानव स्वास्थ्यमा समेत प्रतिकूल असर परिरहेको अवस्थामा माटो जोगाउनु सबैको साझा दायित्व हो।”

गौतमका अनुसार इको अर्गानिक मल गाईको गोबर, हड्डीको धुलो, पिना तथा निम, बकाइनो, पातीलगायत विभिन्न जडीबुटीजन्य सामग्रीको मिश्रणबाट तयार गरिन्छ। यसमा बिरुवाको वृद्धि र विकासका लागि आवश्यक नाइट्रोजन, फस्फोरससहितका पोषक तत्त्व पर्याप्त मात्रामा रहेका छन्।

विगत एक दशकदेखि प्राङ्गारिक मल उत्पादनमा सक्रिय रहेको इको नेक्स्ट टेक्नोलोजीले “गण्डकी प्रदेशको शान, इको मलको वरदान—इको अर्गानिक मल प्रयोग गरौँ, माटोलाई मरुभूमीकरण हुनबाट बचाऔँ” भन्ने नारासहित अभियान सञ्चालन गर्दै आएको छ। कम्पनीले आगामी पाँच वर्षभित्र गण्डकी प्रदेशलाई पूर्ण रूपमा प्राङ्गारिक खेतीतर्फ उन्मुख गराउने लक्ष्य लिएको जनाएको छ।

यसैबीच, रङ्गशालामा जारी वृक्षारोपण अभियानमा ब्रिटिश क्याम्प काठमाडौंमा कार्यरत मेजर सूर्य गुरुङको परिवार पनि सहभागी भएको छ। परिवारले जापानी कटुस, एभोकाडो र जामुनका बिरुवा रोप्दै अभियानमा योगदान दिएको हो।

जिल्ला खेलकुद विकास समिति कास्कीका कार्यालय प्रमुख डिबी नेपालीका अनुसार मेजर गुरुङको परिवारले प्राकृतिक विपद्का समयमा समेत विभिन्न सामाजिक कार्यमा निरन्तर सहयोग गर्दै आएको छ। हरियाली अभियानमा विभिन्न क्षेत्रका व्यक्ति तथा संस्थाको बढ्दो सहभागिताले पोखरा रङ्गशालालाई वातावरणमैत्री खेल परिसर बनाउने लक्ष्यलाई थप ऊर्जा मिलेको आयोजकको विश्वास छ।

Read more

बराहथान युवा क्लबको वार्षिकोत्सवमा गाउँस्तरीय भलिबल प्रतियोगिता, विजेतालाई ६१ हजार पुरस्कार

पोखरा । श्री बराहथान युवा क्लब, भिचुक पोखरा गुरुङ मगर सम्पर्क समाज अन्नपूर्ण गाउँपालिका–७, भिचुक, कास्कीले नेपालीहरूको महान् चाड शुभदीपावली (तिहार) को अवसरमा गाउँस्तरीय भलिबल प्रतियोगितासहित विविध सांस्कृतिक…

९औँ विश्वकर्मा भलिबल कप सम्पन्न, दाजुभाइ क्लब गल्याङ च्याम्पियन

पोखरा । विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीको आयोजनामा सञ्चालित नवौँ विश्वकर्मा भलिबल कप–२०८३ सम्पन्न भएको छ। असोज १ गतेदेखि पोखरा रंगशालामा सुरु भएको प्रतियोगिताको फाइनलमा दाजुभाइ क्लब…

पुम्दी–भुम्दी पर्वतीय दौडका लागि पोखरा–२२ एकजुट

पोखरा, ३१ भदौ। पोखरा महानगरपालिका–२२ पुम्दी–भुम्दीमा आगामी असोज २४ गते तेस्रो पुम्दी–भुम्दी खुला पर्वतीय दौड प्रतियोगिता हुँदैछ। प्रतियोगितालाई सफल बनाउन जनप्रतिनिधि, स्थानीय संघ–संस्था, विद्यालय, युवा क्लब, व्यवसायी र…

मुस्ताङमा ‘टप अफ द वर्ल्ड गल्फ क्लासिक’को पाँचौँ संस्करण हुँदै

मुस्ताङ — विश्वकै सर्वाधिक उचाइमा रहेको मुस्ताङ गल्फ कोर्समा ‘टप अफ द वर्ल्ड गल्फ क्लासिक’को पाँचौँ संस्करण आयोजना हुने भएको छ। आगामी भदौ १५ गते हुने प्रतियोगिताको तयारी…

रमेश–खेमको जोडी वडा अध्यक्ष कप ब्याडमिन्टन च्याम्पियन

पोखरा । पोखरा महानगरपालिका वडा नं. ७ को आयोजनामा सम्पन्न ‘वडा अध्यक्ष कप खुला ब्याडमिन्टन प्रतियोगिता–२०८३’ मा रमेश गुरुङ र खेम तिमिल्सिनाको जोडी च्याम्पियन बनेको छ। आइतबार सम्पन्न…

वडा अध्यक्ष कप खुला ब्याडमिन्टन प्रतियोगिता सुरु, आजै समापन हुने

पोखरा, २१ असार — पोखरा महानगरपालिका वडा नं. ७ को आयोजनामा गत वर्षदेखि सञ्चालन हुँदै आएको वडा अध्यक्ष कप खुला ब्याडमिन्टन प्रतियोगिता–२०८२/८३ आइतबार रापाकोट तमु समाजमा सुरु भएको…