गण्डकी प्रज्ञा प्रतिष्ठानको नयाँ अभियान : ‘शुद्ध बोल्छ गण्डकी, शुद्ध लेख्छ गण्डकी’

0Shares
पोखरा । मानसिक स्वास्थ्य, सिर्जनशीलता र सांस्कृतिक चेतना प्रवर्द्धन गर्ने उद्देश्यले गण्डकी प्रज्ञा प्रतिष्ठानले पोखरामा ‘स्नायू स्वास्थ्य (न्यूरो आर्ट) कार्यशाला’ आयोजना गरेको छ। बुधबार आयोजित कार्यशालामा न्यूरो आर्टमार्फत मानसिक स्वास्थ्य, आत्मविश्वास र सिर्जनात्मक क्षमता अभिवृद्धिमा जोड दिइएको थियो।
गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री रेखा गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै मन्त्री गुरुङले न्यूरो आर्ट कला सिर्जनामा मात्र सीमित नभई मन, मस्तिष्क र समाजलाई सकारात्मक दिशातर्फ अघि बढाउने प्रभावकारी माध्यम भएको बताइन्।
उनले मानसिक स्वास्थ्य सुदृढीकरण, सिर्जनशीलता विकास र आत्मविश्वास अभिवृद्धिमा यस्ता कार्यक्रमको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै प्रतिभा विकास, संस्कृति संरक्षण र सिर्जनात्मक समाज निर्माणका लागि मन्त्रालयबाट आवश्यक सहयोग निरन्तर रहने प्रतिबद्धता जनाइन्।
‘शुद्ध बोल्छ गण्डकी, शुद्ध लेख्छ गण्डकी’ अभियान
कार्यक्रममा गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति प्रा. डा. कुशुमाकर न्यौपानेले प्रतिष्ठानले अब भाषिक शुद्धता अभियानलाई प्राथमिकताका साथ अघि बढाउने जानकारी दिए। विद्यालयका शिक्षक, प्राध्यापक, पत्रकार तथा लेखनसँग सम्बन्धित विभिन्न क्षेत्रमा भाषिक सचेतनाको कमी देखिएको उल्लेख गर्दै उनले यसबाट आमजनताले समेत समस्या भोगिरहेको बताए।
भाषिक त्रुटि न्यूनीकरणका लागि प्रतिष्ठानले ‘शुद्ध बोल्छ गण्डकी, शुद्ध लेख्छ गण्डकी’ अभियान सञ्चालन गर्न लागेको उनले जानकारी दिए। कुलपति न्यौपानेका अनुसार यही साउन २९ गते ‘भाषिक त्रुटि पहिचान र निराकरणका उपाय’ विषयक गोष्ठी आयोजना गरिनेछ। गोष्ठीको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्रीले गर्ने कार्यक्रम रहेको छ। त्यसपछि प्रदेशका सबै ११ जिल्लामा अभियान सञ्चालन गरिने उनले बताए।अभियानमार्फत पत्रकार, लेखक तथा कलमजीवीलाई भाषिक त्रुटिप्रति सचेत गराउँदै आमसञ्चार तथा लेखनलाई थप प्रभावकारी बनाउने लक्ष्य रहेको उनले स्पष्ट पारे।
कुलपति न्यौपानेले प्रतिष्ठानले अनुसन्धानलाई समेत उच्च प्राथमिकता दिएको बताए। आवश्यक तालिमबिना अनुसन्धानकर्तालाई फिल्डमा पठाउँदा अपेक्षित परिणाम हासिल गर्न कठिन हुने उल्लेख गर्दै उनले फोटोग्राफी, भिडियोग्राफी तथा अनुसन्धानका विधि र मापदण्डबारे आवश्यक प्रशिक्षण दिएपछि मात्रै अनुसन्धानमा परिचालन गर्नुपर्ने धारणा राखे।
उनका अनुसार यस वर्ष गण्डकी प्रदेशका कोट, गुठी, मठमन्दिर, लोकमन्त्र, लोकविश्वास, जडीबुटी, वनस्पति तथा परम्परागत खानपान लगायतका विषयमा विभिन्न गोष्ठीपत्र तयार गरिनेछ। आगामी वर्ष अनुसन्धान पद्धतिबारे विस्तृत छलफल गरी अनुसन्धानकर्तालाई व्यवस्थित रूपमा परिचालन गर्ने योजना रहेको पनि उनले बताए।
कुलपति न्यौपानेले गण्डकी प्रदेशको परम्परागत ज्ञान, संस्कृति र मौलिकतालाई समेटेर ६० देखि ७० वटा ग्रन्थ प्रकाशन गर्ने लक्ष्य रहेको जानकारी दिए। प्रतिष्ठानको विस्तृत कार्ययोजना यही महिनाभित्र पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने उनले बताए। न्यूरो आर्ट कार्यशालाले कला र सिर्जनात्मक गतिविधिप्रति थप उत्साह जगाएको उल्लेख गर्दै न्यौपानेले कम लागतमा पनि प्रभावकारी कार्यक्रम सञ्चालन गर्न सकिने भएकाले यस्ता कार्यक्रमलाई प्रतिष्ठानले निरन्तरता दिने बताए।
कार्यक्रममा प्रतिष्ठानका उपकुलपति शंकर विरही गुरुङले स्वागत मन्तव्य राखेका थिए भने सदस्य सचिव मनकुमार श्रेष्ठले कार्यक्रम सञ्चालन गरेका थिए।

कार्यशालामा डा. निर्मल लामिछाने मुख्य प्रशिक्षकका रूपमा सहभागी थिए। कार्यक्रम संयोजक तथा प्रतिष्ठानका प्राज्ञ बाबुराम बस्ताकोटी र पोखरा प्रज्ञा प्रतिष्ठानका प्राज्ञ हरेराम जोजिजुले सहजीकरण गरेका थिए। कार्यक्रममा सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको शिक्षा तथा संस्कृति महाशाखा प्रमुख घनश्याम पौडेल, मन्त्रालयका कर्मचारी, गण्डकी प्रज्ञा प्रतिष्ठानका पदाधिकारी तथा सदस्य, पोखरा प्रज्ञा प्रतिष्ठानका प्राज्ञ तथा न्यूरो आर्टमा रुचि राख्ने विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता थियो।
0Shares




© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले
जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।











