
पोखरा । लायन्स क्लब अफ पोखरा पिस सिटीका अध्यक्ष रबि कुमार श्रेष्ठ र क्लब फस्ट लेडी लामु श्रेष्ठको १६औँ वैवाहिक वर्षगाँठको अवसरमा विभिन्न सामाजिक तथा मानवीय सेवामूलक कार्यक्रम सम्पन्न भएको छ।
वर्षगाँठको अवसर पारेर क्लबले पोखरा–३२, लामेहालस्थित राधाकृष्ण वृद्धाश्रम तथा राधाकृष्ण गुरुकुलमा आवश्यक खाद्यान्न सामग्री वितरण गरिएको क्लबले जनाएको छ।
वर्षगाँठलाई केवल व्यक्तिगत उत्सवका रूपमा सीमित नराखी समाजमा रहेका असहाय, ज्येष्ठ नागरिक तथा विद्यार्थीलाई सहयोग गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको क्लबका यमबहादुर पनेरूले जानकारी दिए। उनका अनुसार सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै क्लबले आगामी दिनमा पनि यस्ता सेवामूलक कार्यक्रमलाई निरन्तरता दिनेछ।

कार्यक्रमका अवसरमा क्लब अध्यक्ष रबि कुमार श्रेष्ठले आफ्नो वैवाहिक वर्षगाँठमा सेवा र सहयोगलाई जोड्न पाउँदा खुसी लागेको बताए। “विवाहको वर्षगाँठ हाम्रो व्यक्तिगत खुसीको दिन भए पनि यस अवसरमा अरूको अनुहारमा खुसी ल्याउन सकियो भने त्योभन्दा ठूलो उत्सव अरू केही हुँदैन,” श्रेष्ठको भनाइ छ।
त्यस्तै, क्लब फस्ट लेडी लामु श्रेष्ठले समाजका कमजोर तथा असहाय वर्गको सहयोगमा सबैको हातेमालो आवश्यक रहेको बताइन्। “हामीले आफ्नो खुसीको केही अंश आवश्यकतामा रहेका व्यक्तिसँग बाँड्न सके जीवनको विशेष दिन अझ अर्थपूर्ण बन्छ भन्ने विश्वास छ,” उनको भनाइ थियो ।
रासन वितरण कार्यक्रमपछि क्लबको नियमित बैठकसमेत बसेको थियो। बैठकमा आगामी कार्यक्रमका रूपमा क्लबका पदाधिकारीहरूको पदस्थापना तथा स्वास्थ्य शिविर सञ्चालन गर्ने विषयमा छलफल भएको जनाइएको छ।क्लबले सामाजिक सेवा, स्वास्थ्य तथा मानवीय सहयोगका क्षेत्रमा आगामी दिनमा थप प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।
















