अन्नपूर्ण आत्मनिर्भर बाल आश्रमको २१औँ साधारण सभा तथा ७औँ अधिवेशन सम्पन्न

मोनिका थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन, ३९ बालबालिकाको पालनपोषणदेखि उच्च शिक्षासम्म आश्रमको जिम्मेवारी
पोखरा । अन्नपूर्ण आत्मनिर्भर बाल आश्रमको २१औँ साधारण सभा तथा ७औँ अधिवेशन शनिबार पोखरा–१६, अर्मलास्थित आश्रम परिसरमा सम्पन्न भएको छ। अधिवेशनले मोनिका थापाको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ।
नवनिर्वाचित समितिको उपाध्यक्षमा दुर्गाकुमारी थापा, सचिवमा पम्फा देवकोटा, कोषाध्यक्षमा चन्द्रा गौतम र सहसचिवमा विष्णु थापा चयन भएका छन्। सदस्यहरूमा लालकुमारी बस्नेत, मीना थापा र सिर्जना सिग्देल चयन भएका छन् भने बाँकी एक सदस्य कार्यसमितिले पछि मनोनयन गर्ने जनाइएको छ।

आश्रमका अध्यक्ष शान्तादेवी थापा भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका वरिष्ठ सल्लाहकार तथा कृषि विज्ञ बेनीबहादुर बस्नेत प्रमुख अतिथिका रूपमा उपस्थित थिए।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि बस्नेतले विशेष परिस्थितिका कारण विद्यालय शिक्षाबाट वञ्चित हुन पुगेका बालबालिकालाई आश्रय दिँदै उनीहरूको शिक्षा, पालनपोषण र भविष्य निर्माणमा आश्रमले पुर्याउँदै आएको योगदान महत्वपूर्ण रहेको बताए। बालबालिकालाई केवल आश्रय दिनेभन्दा पनि शिक्षा, सीप र आत्मनिर्भरतातर्फ अघि बढाउनु आश्रमको दीर्घकालीन योगदान भएको उनको भनाइ थियो।
अधिवेशनमा संस्थाको नेतृत्वबाट बिदा हुँदै गरेकी अध्यक्ष शान्तादेवी थापा भण्डारीले आफू संस्थापक उपाध्यक्षदेखि विभिन्न जिम्मेवारीमा रहेर करिब २२ वर्ष संस्थाको सेवामा जोडिन पाएको स्मरण गर्दै भावुक बनिन्।
सामाजिक संघसंस्थामा काम गरेको लामो अनुभव सुनाउँदै उनले अन्यत्र प्राप्त गर्न नसकेको आत्मसन्तुष्टि अन्नपूर्ण आत्मनिर्भर बाल आश्रममा काम गर्दा पाएको बताइन्। बालबालिकाको जीवनमा सानो भए पनि सकारात्मक परिवर्तन ल्याउन सकेको अनुभवलाई आफ्नो जीवनको ठूलो उपलब्धि र सन्तुष्टिका रूपमा उनले लिएको बताइन्।
आश्रमसँगको लामो यात्रामा बालबालिकालाई हुर्काउने, पढाउने र उनीहरूलाई आफ्नै खुट्टामा उभिन सक्ने बनाउने प्रयास नै संस्थाको सबैभन्दा ठूलो उपलब्धि भएको उनको धारणा थियो।
आश्रमले बालबालिकाको संरक्षण र आधारभूत शिक्षामा मात्र सीमित नरही उच्च शिक्षासम्मको जिम्मेवारी निर्वाह गर्दै आएको कार्यक्रममा जानकारी दिइयो।
हाल आश्रममा ३९ जना बालबालिका रहेका छन्। उनीहरूमध्ये केही नर्सरीदेखि विभिन्न तहमा अध्ययनरत छन् भने आश्रममै बसेर अध्ययन गरेका उज्ज्वल अधिकारीले स्नातक तहको अध्ययन पूरा गरी स्नातकोत्तर अध्ययनका लागि अघि बढ्न लागेको जानकारी दिइयो।

उज्ज्वललाई आश्रमबाट बिदाइ गरिएको छ। आश्रमका सहयोगी दुई जनालाई समेत सो अवसरमा बिदाइ गरिएको थियो। आश्रममा हुर्किएका बालबालिकाले उच्च शिक्षा पूरा गर्दै आफ्नो भविष्य निर्माणको बाटोमा अघि बढ्नु संस्थाका लागि महत्वपूर्ण उपलब्धि भएको कार्यक्रममा बताइएको थियो।
साधारण सभाको अवसरमा विद्यालय जाने उमेर नाघेका १५ जना किशोरीलाई आत्मनिर्भर बनाउन संस्थाले सञ्चालन गरेको सिलाइ–बुनाइ तालिमको प्रमाणपत्रसमेत वितरण गरिएको थियो।
आश्रमले बालबालिकालाई शिक्षा प्रदान गर्नुका साथै उनीहरूलाई जीवनोपयोगी सीप र आत्मनिर्भरताका लागि आवश्यक अवसर उपलब्ध गराउँदै आएको छ। शिक्षा र सीपलाई सँगसँगै अघि बढाउने संस्थाको प्रयासले आश्रित बालबालिकालाई भविष्यमा आफ्नै खुट्टामा उभिन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा आश्रमको विकास र सञ्चालनमा योगदान पुर्याउने विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो। वरिष्ठ सल्लाहकार बेनीबहादुर बस्नेत, बसन्त तिमिल्सिना, समाजसेवी पोखरा-१५ घर भई हाल बेलायत (यूके) निवासी मनिका थापा तथा संस्थागत रूपमा जोन्ता क्लब पोखरालाई सम्मान गरिएको अध्यक्ष शान्तादेवी थापा भण्डारीले जानकारी दिइन्।
संस्थापक अध्यक्ष शरदा बस्नेतले आश्रम स्थापना गर्नुको उद्देश्य, संस्थाको विगतको यात्रा तथा हालसम्म सञ्चालन हुँदै आएका गतिविधिबारे जानकारी गराएकी थिइन् । विशेष परिस्थितिका कारण पारिवारिक तथा शैक्षिक अवसरबाट वञ्चित बालबालिकालाई संरक्षण दिँदै उनीहरूको भविष्य निर्माणमा सहयोग गर्ने उद्देश्यले संस्था अघि बढेको उनले बताइन् ।
साधारण सभामा संस्थाका सचिव दुर्गाकुमारी थापा र कोषाध्यक्ष चन्द्रा गौतमले प्रस्तुत गरेका आ–आफ्ना वार्षिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित भएका छन्। प्रतिवेदनमा संस्थाको गतिविधि, बालबालिकाको शिक्षा, पालनपोषण तथा आत्मनिर्भरतातर्फ गरिएका प्रयासलगायत विषय समेटिएका थिए।
अन्नपूर्ण आत्मनिर्भर बाल आश्रमले विशेष परिस्थितिका कारण विद्यालय जानबाट वञ्चित बालबालिकालाई आश्रय प्रदान गर्दै उनीहरूको लालनपालन, शिक्षा–दीक्षा तथा समग्र विकासमा निरन्तर काम गर्दै आएको छ।
नयाँ कार्यसमिति चयनसँगै आश्रमको सेवा र संरक्षणलाई अझ प्रभावकारी बनाउँदै बालबालिकालाई शिक्षित, सक्षम र आत्मनिर्भर नागरिकका रूपमा स्थापित गर्ने अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिएको छ।
सो अवसरमा संस्थाको अक्षयकोष सुदृढीकरणका लागि समाजसेवी पोखरा-१५ घर भई हाल बेलायत (यूके) निवासी मनिका थापा र पोखरा–१६, बाटुलेचौर निवासी समाजसेवी नरनाथ भट्टराईले जनही ५० हजार रुपैयाँका दरले कुल एक लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेका थिए।

















