जिल्ला अधिवेशनको तयारी तीव्र बनाउँदै प्रेस युनियन गण्डकी, सदस्यता र निर्वाचन प्रक्रियामा विशेष जोड

सदस्यता व्यवस्थापनदेखि निर्वाचन प्रक्रियासम्म पारदर्शिता कायम गर्ने निर्णय, केन्द्रीय अध्यक्ष शिव लम्सालद्वारा विधान कार्यान्वयनमा जोड
पोखरा । नेपाल प्रेस युनियन गण्डकी प्रदेशले आगामी जिल्ला अधिवेशनहरूलाई विधानसम्मत, पारदर्शी, निष्पक्ष र सहभागितामूलक ढंगले सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ। प्रदेश कार्यसमिति तथा जिल्ला अध्यक्ष एवम् सचिवहरूसँगको बैठकमा सदस्यता व्यवस्थापन, प्रतिनिधित्व, निर्वाचन प्रक्रिया र अधिवेशनको कार्यतालिकालाई व्यवस्थित बनाउँदै संगठनलाई थप सुदृढ गर्ने निर्णय गरिएको हो।
नेपाल प्रेस युनियन गण्डकी प्रदेशका अध्यक्ष टंकराज अधिकारीको अध्यक्षतामा तथा नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालको प्रमुख आतिथ्यतामा भर्चुअल माध्यमबाट बैठक सम्पन्न भएको हो। बैठकमा केन्द्रीय उपाध्यक्ष ऋषिकान्त पौडेल, केन्द्रीय महासचिव दिलीप पौडेल, प्रदेश पदाधिकारी तथा सदस्यहरू एवं विभिन्न जिल्ला शाखाका अध्यक्ष र सचिवहरूको सहभागिता थियो।
प्रमुख अतिथि लम्सालले अधिवेशन संगठनको लोकतान्त्रिक अभ्यास र संस्थागत सुदृढीकरणको महत्वपूर्ण अवसर भएकाले यसलाई कुनै विवाद वा अन्योल नहुने गरी सम्पन्न गर्नुपर्नेमा जोड दिएका थिए । उनले सदस्यता, प्रतिनिधित्व र निर्वाचन प्रक्रियामा स्पष्ट मापदण्ड कायम गर्दै विधानलाई सबै तहमा समान रूपमा कार्यान्वयन गर्नुपर्ने धारणा राखेका थिए ।
“संगठन बलियो बन्ने आधार नै विधि, विधान र संस्थागत एकता हो। अधिवेशनमा सबै सदस्यले निष्पक्ष र समान अवसर पाउने वातावरण निर्माण गर्नुपर्छ,” लम्सालको भनाइ थियो।
केन्द्रीय उपाध्यक्ष ऋषिकान्त पौडेलले सदस्यता व्यवस्थापनलाई अधिवेशनको महत्वपूर्ण आधारका रूपमा लिनुपर्ने बताउँदै सदस्यता नवीकरण, प्रमाणीकरण र अभिलेखलाई व्यवस्थित बनाउन सुझाव दिएका थिए । उनले जिल्ला तहमा देखिएका समस्या संवाद र सहमतिबाट समाधान गर्दै संगठनभित्र विश्वासको वातावरण बनाउनुपर्नेमा जोड दिए।
केन्द्रीय महासचिव दिलीप पौडेलले अधिवेशनको तयारीलाई स्पष्ट कार्यतालिकासहित समयमै अघि बढाउनुपर्ने बताए। उनले विधानमा उल्लेख भएका व्यवस्था व्यवहारमा कार्यान्वयन गर्दै अधिवेशनलाई नेतृत्व चयन मात्र नभई संगठनको आगामी कार्यदिशा तय गर्ने अवसरका रूपमा लिनुपर्ने धारणा राखेका थिए ।
बैठकमा चालु आर्थिक वर्षको सदस्यता नवीकरण तथा अद्यावधिक, सदस्यको व्यक्तिगत विवरण र कार्यरत संस्थाको सिफारिसका आधारमा सदस्यता प्रमाणीकरण, विवादित सदस्यताको पहिचान तथा आवश्यक छानबिन गरी जिल्ला तहबाटै समाधान गर्ने विषयमा छलफल भएको थियो। सदस्यता शुल्क संकलन, दाखिला, अभिलेख व्यवस्थापन तथा आर्थिक कारोबारलाई पारदर्शी बनाउने विषयलाई समेत प्राथमिकता दिइएको छ।
आगामी जिल्ला अधिवेशनका लागि प्रदेश प्रतिनिधि तोक्ने, अधिवेशनको मिति, स्थान, प्रतिनिधि संख्या र समयतालिका निर्धारण गर्ने तथा निर्वाचन प्रक्रिया स्पष्ट बनाउने विषयमा आवश्यक प्रक्रिया अघि बढाउने निर्णय बैठकले गरेको छ।
छलफलका क्रममा पर्वतका अध्यक्ष उत्तम पौडेल, बागलुङका अध्यक्ष संगम घर्ती मगर, नवलपुरका अध्यक्ष खगराज सापकोटा, गोरखाका अध्यक्ष नरेन्द्र ढकाल, म्याग्दीका अध्यक्ष राकेश शर्मा, स्याङ्जाका अध्यक्ष तोलाकान्त बगाले, तनहुँका अध्यक्ष पूर्ण बि.क. तथा कास्कीका सचिव धनबहादुर गुरुङ (सुमन)ले आ–आफ्ना जिल्लाको संगठनात्मक अवस्था, सदस्यता व्यवस्थापन र अधिवेशन तयारीबारे सुझाव राखेका थिए।
प्रदेश अध्यक्ष अधिकारीले जिल्ला शाखासँग निरन्तर समन्वय र सहकार्य गर्दै आगामी अधिवेशनहरूलाई मर्यादित, पारदर्शी र विवादरहित रूपमा सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले संगठनको एकता, संस्थागत विधि र विधानको प्रभावकारी कार्यान्वयनलाई प्राथमिकतामा राखिने बताए ।
प्रदेश महासचिव प्रकाश ढकालका अनुसार बैठकले जिल्ला अधिवेशन तयारीलाई प्राथमिकताका साथ अघि बढाउँदै आवश्यक समन्वय, कार्ययोजना र व्यवस्थापनलाई प्रभावकारी बनाउने निष्कर्ष निकालेको छ। बैठकले जिल्ला तहसम्म संगठनलाई थप व्यवस्थित र सुदृढ बनाउँदै पत्रकारहरूको व्यावसायिक हित, संस्थागत एकता र लोकतान्त्रिक अभ्यासलाई प्रभावकारी बनाउने निष्कर्षसहित सम्पन्न भएको छ।
















