नेपालमा तेस्रोपटक इसामे फोरम, १५ राष्ट्रका १,६०० प्रतिनिधि काठमाडौंमा भेला हुँदै

काठमाडौं — दक्षिण एसिया तथा मध्यपूर्व क्षेत्रका लायन्स नेतृत्वलाई एकै मञ्चमा जोड्ने अन्तर्राष्ट्रिय इसामे फोरम नेपालमा तेस्रोपटक आयोजना हुने भएको छ। ५४औँ इसामे फोरम काठमाडौंको सानेपास्थित द प्लाजामा डिसेम्बर १६–१९, २०२६ सम्म आयोजना हुँदैछ।
आयोजकका अनुसार फोरममा दक्षिण एसिया तथा मध्यपूर्वसहित १५ राष्ट्रबाट करिब १,६०० प्रतिनिधि तथा सहभागी सहभागी हुनेछन्। सहभागिताका लागि निर्धारण गरिएको १,५०० जनाको दर्ता कोटा पूरा भइसकेपछि नयाँ दर्ता बन्द गरिएको छ। फोरमको दर्ता क्षमता पूर्ण रूपमा भरिएसँगै अब आयोजकको ध्यान प्रतिनिधिहरूका लागि गुणस्तरीय कार्यक्रम, आतिथ्य र स्मरणीय अन्तर्राष्ट्रिय सम्मेलन निर्माणमा केन्द्रित भएको छ।
फोरमको संयोजन पूर्व अन्तर्राष्ट्रिय डाइरेक्टर संजय खेतानले गरिरहेका छन्। सम्मेलनका प्रमुख संरक्षकमा अन्तर्राष्ट्रिय डाइरेक्टर राजन लम्साल, पूर्व अन्तर्राष्ट्रिय डाइरेक्टर संगीता जटिया तथा पूर्व अन्तर्राष्ट्रिय डाइरेक्टर बालकृष्ण बुर्लकोटी रहेका छन्।

नेपालले यसअघि पनि इसामे फोरमका दुई संस्करण सफलतापूर्वक आयोजना गरिसकेको छ। नेपालमा पहिलोपटक सन् १९८५ मा र दोस्रोपटक सन् २०१३ मा फोरम आयोजना भएको थियो। यससँगै सन् २०२६ को सम्मेलन नेपालमा आयोजना हुने तेस्रो इसामे फोरम हुनेछ।
नेपालमा तेस्रोपटक यस्तो अन्तर्राष्ट्रियस्तरीय फोरम आयोजना हुनुलाई लायन्स नेतृत्व, क्षेत्रीय सहकार्य तथा अन्तर्राष्ट्रिय सम्मेलन पर्यटनका दृष्टिले महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको अन्तर्राष्ट्रिय डाइरेक्टर तथा फोरमका प्रमुख संरक्षक राजन लम्सालले बताए।
लम्सालका अनुसार इसामे फोर मा दक्षिण एसिया तथा मध्यपूर्व क्षेत्रका १४ राष्ट्र प्रत्यक्ष रूपमा आबद्ध छन्। तीमध्ये भारत, नेपाल, श्रीलंका, बंगलादेश, पाकिस्तान, भुटान, माल्दिभ्स, अफगानिस्तान, लेबनान, जोर्डन, बहराइन, इराक, स्टेट अफ पालेस्टाइन र संयुक्त अरब इमिरेट्स (UAE) रहेका छन्।
यसका अतिरिक्त संयुक्त राज्य अमेरिका (USA) बाट अन्तर्राष्ट्रिय अध्यक्षसहित अन्य स्टाफ तथा प्रतिनिधिहरूको सहभागिता रहने भएकाले यसपटकको फोरममा कुल १५ राष्ट्रको प्रतिनिधित्व हुने लम्सालले जानकारी दिए।
फोरमका संयोजक संजय खेतानका अनुसार विदेशबाट आउने अतिथि तथा प्रतिनिधिहरूको सुविधा र व्यवस्थापनलाई ध्यानमा राख्दै काठमाडौंका विभिन्न होटलमा आवासको व्यवस्था गरिएको छ। सहभागीका लागि द प्लाजा होटल, ट्यूलिप होटल, स्क्वायर होटल तथा रामदा इनकोर बाई विन्धम काठमाडौं, ठमेल लगायतका होटलमा आवास व्यवस्थापन गरिएको छ।
नेपालमा आयोजना हुन लागेको यस अन्तर्राष्ट्रिय फोरमले लायन्स नेतृत्वबीचको सम्बन्ध र क्षेत्रीय सहकार्यलाई थप सुदृढ गर्नुका साथै नेपालको पर्यटन, आतिथ्य क्षेत्र तथा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने क्षमतालाई विश्वसामु प्रस्तुत गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको संयोजक खेतानले बताए।
१५ राष्ट्रका लायन्स नेतृत्व काठमाडौंमा जुट्ने र दर्ता क्षमता पूर्ण रूपमा भरिइसकेको अवस्थाले ५४औँ इसामे फोरम नेपालका लागि एउटा महत्वपूर्ण अन्तर्राष्ट्रिय सम्मेलनका रूपमा स्थापित हुने अर्का पूर्व अन्तर्राष्ट्रिय डाइरेक्टर बालकृष्ण बुर्लकोटीले बताए ।













