
पोखरा । गण्डकी प्रदेश सरकारमा नेकपा एमालेका तर्फबाट सहभागी चार जना मन्त्रीले आज पदबाट राजीनामा दिएका छन्।
राजीनामा दिने मन्त्रीहरूमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री गोविन्दबहादुर नेपाली, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री भीमबहादुर कार्की, उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमाल र स्वास्थ्य मन्त्री लक्ष्मणबहादुर पाण्डे रहेका छन्।
चारै जना मन्त्रीले आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे समक्ष राजीनामा पेश गरेका हुन्।
राजीनामा पेश गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका मन्त्रीहरूसँगको भेटमा मुख्यमन्त्री पाण्डेले सरकारमा रहेर हालसम्म पुर्याएको योगदान, सहकार्य र समन्वयका लागि धन्यवाद ज्ञापन गरेका थिए।
मुख्यमन्त्री पाण्डेले चारै जना मन्त्रीले पेश गरेको राजीनामा स्वीकृत गरेका छन्।












