त्रिशूली बाढीपीडितको उद्धार तथा राहतमा जुट्न लायन्स डिष्ट्रिक्ट ३२५ आईको आह्वान

पोखरा । त्रिशूली नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा लगायत नदी तटीय क्षेत्रमा भएको जनधनको क्षतिप्रति लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालले दुःख व्यक्त गर्दै उद्धार तथा राहत कार्यमा जुट्न सम्पूर्ण लायन क्लब तथा लायन मित्रहरूलाई आह्वान गरेको छ।
लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर सूर्य कुमार केसीले एक अपिल जारी गर्दै विपद्को यस घडीमा प्रभावित क्षेत्रमा रहेका क्लबहरूसँग समन्वय गरी उद्धार, आकस्मिक राहत तथा प्राथमिक उपचारका कार्यमा तयारी अवस्थामा रहन सामाजिक संजाल मार्फ़त आग्रह गरेका हुन्।
बाढीबाट हालसम्म भएको क्षतिको आधिकारिक विवरण आउन बाँकी रहे पनि त्रिशूली नदी तटीय क्षेत्रमा बाढीले ठूलो क्षति पुर्याएको भन्दै गभर्नर केसीले प्रभावित क्षेत्रमा मानवीय सहयोगलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।

उनले नेपाल सरकार तथा स्थानीय सरकारसँग आवश्यक समन्वय गरी प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्य सञ्चालन गर्न सम्पूर्ण लायन क्लब र लायन मित्रहरूलाई आग्रह गरेका छन्।
“यस विपत्तिमा धैर्यताका साथ सुरक्षित रहन सबैमा अनुरोध गर्दछौं। प्रभावित क्षेत्रका क्लबहरूसँग समन्वय गरी उद्धार तथा आकस्मिक राहतकार्यका लागि तयारी अवस्थामा रहन र प्राथमिक उपचारमा जुट्न सम्पूर्ण लायन मित्रहरूमा आह्वान गर्दछौं,” गभर्नर केसीको अपिलमा भनिएको छ।
विपद्को समयमा लायन्सको मानवीय सेवाको भावनाअनुसार स्थानीय आवश्यकता पहिचान गर्दै सरकार तथा स्थानीय तहसँग सहकार्य र समन्वयमा राहत तथा उद्धारमा सक्रिय हुन उनले आग्रह गरेका छन्।













