0Shares

विपद्मा लायन्सको मानवीय साथ : “विपद्मा सहयोग पर्खिँदैन, सहयोगको सुरुवात तपाईंबाट हुन्छ।” — लायन्स

काठमाडौं । नेपाल–चीन सीमा क्षेत्रमा आएको विनाशकारी बाढी तथा सम्भावित हिमनदी विस्फोटका कारण ठूलो मानवीय संकट उत्पन्न भएको छ। यस विपद्मा सयौँले ज्यान गुमाएका छन् भने हजारौँ मानिस अझै बेपत्ता रहेको जनाइएको छ। संकटमा परेका परिवारको तत्काल राहत, पुनःस्थापना तथा पुनःउत्थानका लागि लायन्स क्लब्स इन्टरनेसनल फाउन्डेसन (LCIF) ले २ लाख अमेरिकी डलर अर्थात् करिब ३ करोड ८ लाख नेपाली रुपैयाँ बराबरको ‘मेजर क्याटास्ट्रोफी ग्रान्ट’ प्रदान गरेको छ।

यो सहयोग स्थानीय लायन्स क्लबहरूमार्फत प्रभावित परिवारसम्म खाद्यान्न, सुरक्षित आश्रय, स्वास्थ्य सेवा तथा अत्यावश्यक सामग्री पुर्‍याउन प्रयोग गरिनेछ। साथै, विपद्पछि प्रभावित समुदायलाई पुनःस्थापित गर्दै दीर्घकालीन पुनर्निर्माण र पुनःउत्थानका कार्यक्रमसमेत अघि बढाइनेछ।

लायन्स इन्टरनेसनलका डाइरेक्टर राजन लाम्सालले विपद्को समयमा राहतको गति नै सबैभन्दा महत्वपूर्ण हुने बताउँदै प्रभावित समुदायलाई आवश्यक सहयोग पुर्‍याउन लायन्स विश्वव्यापी रूपमा प्रतिबद्ध रहेको बताएका छन्।

विपद् आउँदा सहयोग पर्खिँदैन—सहयोगको सुरुवात तपाईंबाट हुन्छ।”

उनले विपद् प्रभावितको उद्धार, राहत र पुनःस्थापनाका लागि सरकारी निकाय, सामाजिक संस्था, दातृ निकाय तथा आम नागरिकबीच सहकार्य आवश्यक रहेको उल्लेख गरे।

लायन्स क्लब्स इन्टरनेसनल र LCIF ले प्राकृतिक विपत्तिबाट प्रभावित समुदायलाई आपत्कालीन राहतदेखि दीर्घकालीन पुनर्निर्माणसम्म निरन्तर साथ दिने प्रतिबद्धता जनाएको छ।

विपद्पछि घरबार गुमाएका तथा प्रभावित परिवारलाई तत्काल खाद्यान्न, सुरक्षित आवास, स्वास्थ्य उपचार, कपडा तथा अन्य अत्यावश्यक सामग्रीको आवश्यकता पर्छ। यस्तो कठिन समयमा विश्वभरका लायन्स सदस्य, दातृ निकाय र शुभेच्छुकहरूको सहयोगले राहत अभियानलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ।

लायन्सले विपद् राहत कोषमार्फत सहयोग गर्न विश्वभरका सहयोगी हातहरूलाई आह्वान गरेको छ। संस्थाका अनुसार प्राप्त हुने प्रत्येक सहयोगले संकटमा रहेका परिवारसम्म राहत पुर्‍याउन, उनीहरूको पीडा कम गर्न र जीवनलाई पुनः सामान्य अवस्थामा फर्काउन महत्वपूर्ण योगदान पुर्‍याउनेछ।

नेपाल–चीन सीमा क्षेत्रमा भएको यस विपद्ले प्रभावित समुदायलाई गहिरो संकटमा धकेलेको बेला ३ करोड ८ लाख रुपैयाँ बराबरको लायन्सको सहयोग राहत मात्र होइन, पुनःउत्थानको आशा पनि बनेर आएको छ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected