0Shares

पोखरा । विपद्का बेला मानवीय सेवामा अग्रपंक्तिमा रहँदै आएको लायन्स अन्तर्राष्ट्रिय मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालले बाढीपीडितको राहत तथा उद्धारका लागि १ करोड १ लाख रुपैयाँ जुटाएको छ। संकलित रकम नेपाल सरकारको प्रधानमन्त्री राहत कोषमा जम्मा गरी प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याइने मल्टिपल काउन्सिल चेयरपर्सन केशरबहादुर भण्डारीले जानकारी दिए।

नेपालमा करिब ४५ हजार लायन्स सदस्य आबद्ध छन्। लायन्स सदस्यहरूले मानवीय सेवाका लागि प्रत्येक वर्ष प्रतिव्यक्ति ३६५ रुपैयाँका दरले इमर्जेन्सी राहत कोषमा योगदान गर्दै आएका छन्। यही कोषलाई परिचालन गर्दै नेपालका १५ वटै डिष्ट्रिक्टले त्रिशूली बाढीपीडितका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए।

प्रतिबद्धताअनुसार प्रत्येक डिष्ट्रिक्टले ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँका दरले सरकारी राहत कोषमा योगदान गर्ने निर्णय गरेको हो। सोही क्रममा डिष्ट्रिक्ट ३२५ आई नेपालबाट समेत निर्धारित रकम जम्मा गरिएको डिष्ट्रिक्ट गभर्नर सूर्यकुमार केसीले बताए।

यसअघि लायन्स अन्तर्राष्ट्रिय डाइरेक्टर राजन लम्सालले बुधबार अपिल जारी गर्दै नेपालभरका लायन्स क्लब तथा स्वयंसेवकलाई सम्भावित विपद्का बेला तत्काल परिचालन हुन सक्ने गरी तयारी अवस्थामा रहन आग्रह गरेका थिए।

उनले राहत तथा उद्धार कार्यमा सक्रिय सहभागिता जनाउन, आवश्यक राहत सामग्रीको व्यवस्थापन तथा वितरण गर्न र स्थानीय तह एवं सम्बन्धित निकायसँग प्रभावकारी समन्वय गर्नसमेत लायन्स क्लब तथा स्वयंसेवकहरूलाई आह्वान गरेका छन्।

लायन्स अन्तर्राष्ट्रिय मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालले आपत्कालीन राहत कोषमार्फत जुटाइएको रकमलाई सरकारी संयन्त्रसँगको समन्वयमा प्रभावित क्षेत्रमा पारदर्शी र प्रभावकारी रूपमा परिचालन गर्ने जनाएको छ।

प्राकृतिक विपद्का बेला राहत रकम मात्र नभई स्वयंसेवक परिचालन, राहत सामग्री व्यवस्थापन र स्थानीय समुदायसँगको सहकार्यलाई समेत प्राथमिकतामा राख्दै आएको लायन्सको यो पहलले “We Serve” अर्थात् ‘हामी सेवा गर्छौं’ भन्ने मूल भावनालाई थप सशक्त बनाएको डिष्ट्रिक्ट ३२५ आई नेपालका पूर्व डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसीले पोखराभ्यूजसँगको कुराकानीमा बताए।

बाढीबाट प्रभावित नागरिकको पीडामा साथ दिँदै लायन्सले जुटाएको यो सहयोगले आपत्कालीन अवस्थामा संगठित नागरिक सेवा, स्वयंसेवा र संस्थागत सहकार्यको महत्त्वलाई समेत उजागर गरेको उनले बताए।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected