
पोखरा । रेष्टुरेन्ट एण्ड बार एशोसिएसन (रेवान) पोखराको नेतृत्व वसन्त गौतमले सम्हाल्ने भएका छन्। शनिबार सम्पन्न संस्थाको ३२औँ वार्षिक साधारणसभा तथा १७औँ अधिवेशनले गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो।
पोखराको टेम्पल ट्री, मेड फाइभ र क्याफे कन्सर्टका सञ्चालक गौतम आगामी दुई वर्ष रेवानको नेतृत्वमा रहनेछन्। पर्यटन प्रवद्र्धनसँगै पोखराको रेस्टुरेन्ट तथा बार व्यवसायलाई थप व्यवस्थित र व्यावसायिक बनाउने जिम्मेवारी अब उनको काँधमा आएको छ।
नयाँ कार्यसमितिको निवर्तमान अध्यक्षमा विश्वराज पौडेल, प्रथम उपाध्यक्षमा विकास भट्टराई, द्वितीय उपाध्यक्षमा योगेश भट्टराई, महासचिवमा वीरेन्द्र शेरचन, सचिवमा रोशनजंग कार्की, कोषाध्यक्षमा सुरेश न्यौपाने र सहकोषाध्यक्षमा सफल थापा छन्।
सदस्यमा सुनिलबहादुर भट्टराई, सुमन भट्टराई, वैभव पौडेल, भीष्म पौडेल, लोकेश ढकाल, कृष्ण अधिकारी, राजबहादुर भुजेल र वसन्त न्यौपाने निर्वाचित भएका छन्। दुई सदस्य अध्यक्षले मनोनीत गर्नेछन्।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले अधिवेशनको उद्घाटन गरेका थिए।
अधिवेशनमा पत्रकारितामार्फत पर्यटन क्षेत्रमा दुई दशकदेखि योगदान पुर्याएको भन्दै नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश महासचिव जमुना वर्षा शर्मालाई नगद २० हजार रुपैयाँसहित सम्मान गरिएको छ।
नागरिक समाज पोखराका संस्थापक संयोजक एवं वातावरण संरक्षणका महाअभियान कास्कीका संयोजक रामबहादुर पौडेल, स्वयंसेवी सीताराम दाहाल र डुलुवा टिम पनि सम्मानित भए। रेवानले आफ्ना सदस्य प्रतिष्ठानमा कार्यरत म्यानेजर हरि पौडेल र सेफ ताराप्रसाद श्रेष्ठलाई समेत सम्मान गरेको छ।
पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको रेवानले हरेक अंग्रेजी नयाँ वर्षमा पोखरा सडक महोत्सव आयोजना गर्दै आएको छ। साथै सेफ, बारिस्टा, बारटेन्डर र खाद्य स्वच्छतासम्बन्धी तालिममार्फत जनशक्तिको क्षमता विकास गर्दै आएको महासचिव शेरचनले बताए।
यस वर्ष थपिएका ६ नयाँ सदस्यसहित रेवान पोखरामा करिब ९० सदस्य आबद्ध छन्।








