
पोखरा — इम्ब्रोइडरीमार्फत नेपालको कला, संस्कृति र पहिचान विश्वसामु पुर्याउँदै आएको इम्ब्रोइडरी एण्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराको नेतृत्व पहिलोपटक महिलाको हातमा पुगेको छ। संस्थाको अध्यक्षमा गीता ढकाल पौडेल निर्वाचित भएकी छन् ।
एगाको १२औँ अधिवेशन तथा २३औँ साधारणसभाले पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो। नयाँ नेतृत्व चयनसँगै एगाले नेपाली उत्पादनलाई पर्यटनसँग जोड्दै अन्तर्राष्ट्रिय बजारमा नेपालको पहिचान विस्तार गर्ने अभियानलाई थप अघि बढाउने जनाएको छ।
अध्यक्ष पौडेलसहित उपाध्यक्षमा माया सुवेदी, सचिवमा सुरेन्द्र पौडेल, सहसचिवमा रामकृष्ण तिमिल्सिना र कोषाध्यक्षमा सुशील ढकाल चयन भएका छन् । सदस्यमा नारायणप्रसाद पाण्डे, प्रमिला थापा, उमनाथ भट्टराई, रामहरि भट्ट र जगतनारायण श्रेष्ठ चयन भए। पत्रकार माधव पनेरुलाई संस्थाको मिडिया सल्लाहकार चयन गरिएको छ।
कार्यक्रममा नेपाल पर्यटन बोर्डका सदस्य सन्तोष पोखरेलले इम्ब्रोइडरीका माध्यमबाट नेपालको पहिचान विश्वसामु पुर्याउने एगासँग सहकार्य गर्न बोर्ड तयार रहेको बताए ।
‘नेपालको आत्मा चिनाउने संस्था एगा हो,’ पोखरेलले भने, ‘हिमाल र सगरमाथा मात्र होइन, हाम्रा कला, संस्कृति र सम्पदालाई धागोमार्फत कलात्मक रूपमा विश्वसामु चिनाउने काम महत्वपूर्ण छ।’
राज्यले गर्नुपर्ने पर्यटन बजार प्रवर्द्धनमा समेत एगाले योगदान गरिरहेको उनको भनाइ थियो। आगामी दिनमा एगालाई आवश्यक जिम्मेवारी दिन तथा सहकार्य गर्न पर्यटन बोर्ड तयार रहेको पोखरेलले बताए ।
नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकीका उपाध्यक्ष सूर्य भुजेलले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु हुन थालेको सन्दर्भमा निजी क्षेत्र थप सक्रिय हुनुपर्ने बताए । उद्योग वाणिज्य क्षेत्र र पर्यटन क्षेत्रबीच प्रभावकारी समन्वय आवश्यक रहेको उनको भनाइ थियो।
भुजेलले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा आफूले ‘छातीमा गोली खान तयार’ भएर अनशन बसेको स्मरण गर्दै विमानस्थललाई प्रभावकारी रूपमा सञ्चालन गर्न निजी क्षेत्रले आफ्नो भूमिका बढाउनुपर्ने बताए ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले समस्या समाधानका लागि दोषारोपणभन्दा सहकार्य आवश्यक रहेको बताए । पोखराको पर्यटन विकासमा सबै पक्षसँग सहकार्य गर्न परिषद् तयार रहेको उनले उल्लेख गरे ।
पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष शोभा गौतमले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल सञ्चालनलाई विगतका आन्दोलनको उपलब्धिका रूपमा ग्रहण गर्दै अब निजी क्षेत्रले त्यसको अधिकतम उपयोग गर्नुपर्ने बताइन् ।
एगा पोखराका पूर्वअध्यक्ष तथा पर्यटन व्यवसायी इन्द्र भण्डारीले पर्यटन क्षेत्रमा ‘कोही अग्लो र कोही होचो’ भन्ने मानसिकता त्याग्नुपर्ने बताए । पर्यटन विकासका लागि ‘सँगसँगै’ भन्ने अवधारणा स्थापित गर्नुपर्ने उनको भनाइ थियो।
एगाका सल्लाहकार पुष्कलबहादुर थापाले नेपालमै कच्चा पदार्थ उत्पादन गर्ने एगाको योजनामा राज्यको साथ आवश्यक रहेको बताए । होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले पोखराको पर्यटन विकासमा सबै संघसंस्थाको भूमिका महत्वपूर्ण भएकाले त्यसअनुसार सहकार्य हुनुपर्नेमा जोड दिए ।
एगाका अध्यक्ष गोकर्ण लम्सालले संस्थाका सदस्यले स्वदेशी उत्पादनसँगै खेर गइरहेका वस्तुको उपयोग गर्ने नीति लिएको बताए । अल्लो, हेमलगायत स्थानीय कच्चा पदार्थबाट कपडा तथा अन्य सामग्री उत्पादन गर्न राज्यले प्रोत्साहन गर्नुपर्ने उनको भनाइ थियो।
एगाका करिब ६० जना सदस्यले ‘एगा नाइस नेपाल गार्मेन्ट उद्योग’ सञ्चालन गरिरहेका छन्। उद्योगले पर्यटन केन्द्रित सामग्री उत्पादन गर्दै आएको छ।
कार्यक्रममा पर्यटनविज्ञ दीपेन्द्र पहारीले एगाको भूमिका र सम्भावनाबारे चर्चा गरेका थिए । बन्दसत्रमा संस्थाको आगामी योजना तथा आर्थिक प्रतिवेदनमाथि छलफल गरिएको थियो।
सो अवसरमा पत्रकार माधव पनेरु र पर्यटनविज्ञ दीपेन्द्र पहारीलाई सम्मान गरिएको थियो। संस्थाका विभिन्न गतिविधिमा योगदान पुर्याउने सदस्य, सल्लाहकार तथा कार्यसमिति पदाधिकारीलाई पनि सम्मान गरिएको थियो।
अध्यक्ष गोकर्ण लम्सालको कार्यकालमा संस्थागत विकासमा पुर्याएको योगदानको मूल्याङ्कन गर्दै सदस्यहरूले उहाँलाई विशेष सम्मान गरेका थिए।











