0Shares

अस्पताल फार्मेसीलाई विपद् व्यवस्थापनसँग जोड्नुपर्नेमा जोड

पोखरा, ९ असोज २०८३। बाढी, पहिरो वा अन्य विपद्का बेला औषधिको अभाव हुन नदिन अस्पताल फार्मेसीदेखि औषधि उद्योगसम्मको तयारी बलियो बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन्। उनीहरूले विपद्का बेला औषधिको मौज्दात, आपूर्ति, व्यवस्थापन र जनशक्ति परिचालनमा फार्मासिस्टको भूमिका महत्वपूर्ण हुने बताएका छन्।

विश्व फार्मासिस्ट दिवसका अवसरमा नेपाल फार्मास्युटिकल एसोसिएसन गण्डकी प्रदेशले आयोजना गरेको अस्पताल फार्मासिस्टको भूमिका, अनुभव, चुनौती तथा आपतकालीन एवं विपद् व्यवस्थापनसम्बन्धी अन्तरक्रियामा सहभागीले फार्मेसी शिक्षादेखि अस्पताल सेवासम्म विपद् तयारीलाई प्राथमिकतामा राख्नुपर्ने बताएका हुन्।

महेन्द्रपुलस्थित गण्डकी विश्वविद्यालयको एमआइटी हलमा भएको कार्यक्रममा पोखरा विश्वविद्यालय, स्वास्थ्य विज्ञान संकायका निमित्त डिन गुलाम महोबत खानले फार्मेसी शिक्षालाई व्यवहारमुखी बनाउँदै आपतकालीन तथा विपद् व्यवस्थापनसम्बन्धी अभ्यासलाई प्राथमिकता दिनुपर्ने बताए।

गण्डकी विश्वविद्यालयका रजिष्ट्रार ढाकाराम भण्डारीले विपद् व्यवस्थापनका लागि फार्मेसी शिक्षामा सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अभ्यास र प्रत्यक्ष अनुभव समेटिनुपर्ने बताए। विपद्का बेला औषधि व्यवस्थापन, आपूर्ति र स्वास्थ्य सेवा प्रभावकारी बनाउन शैक्षिक तहदेखि नै फार्मासिस्टलाई तयार पार्नुपर्ने उनको भनाइ थियो।

निभिक्स फर्मास्युटिकलका प्रबन्ध निर्देशक इन्द्र बानियाँले आपतकालीन तथा विपद्का अवस्थामा औषधि र स्वास्थ्य सामग्रीको निरन्तर आपूर्ति सुनिश्चित गर्न औषधि उद्योगको भूमिका महत्वपूर्ण हुने बताए। आपतकालीन अवस्थामा औषधि उत्पादन, आपूर्ति तथा आवश्यक स्वास्थ्य सामग्री व्यवस्थापनमा उद्योग क्षेत्रले थप योगदान गर्न सक्ने उनले बताए।

कार्यक्रममा विभिन्न अस्पतालका फार्मेसी इन्चार्जले बाढी, पहिरो लगायत विपद्का समयमा औषधि व्यवस्थापनका क्रममा देखिएका चुनौती र अनुभव प्रस्तुत गरेका थिए। उनीहरूले आकस्मिक औषधिको मौज्दात, जनशक्ति व्यवस्थापन, तालिम, आपूर्ति प्रणाली तथा अस्पताल फार्मेसीका व्यावहारिक समस्याबारे धारणा राखेका थिए।

नेपाल फार्मास्युटिकल एसोसिएसन गण्डकी प्रदेशका अध्यक्ष प्रकाश पौडेलले अस्पतालमा कार्यरत फार्मासिस्टसँग नजिकबाट सहकार्य गर्दै तालिम, कार्यशाला र क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्ने बताए। विभिन्न अस्पतालमा कार्यरत फार्मासिस्टबीच सम्बन्ध र सहकार्य विस्तार गर्दै अनुभव आदानप्रदानका लागि सञ्जाल निर्माण गर्नुपर्नेमा उनले जोड दिए।

फार्मेसी पेशाका विभिन्न विधा र क्षेत्रमा कार्यरत जनशक्तिको सीप, क्षमता तथा पेशागत सशक्तीकरणका लागि नेपाल फार्मास्युटिकल एसोसिएसन गण्डकी प्रदेश सहकार्य गर्न तयार रहेको पौडेलले बताए।

कार्यक्रममा एसोसिएसनका उपाध्यक्ष नवराज बास्तोलाले स्वागत मन्तव्य दिएका थिए भने सदस्य अमृता अधिकारीले कार्यक्रम सञ्चालन गरेकी थिइन्। कार्यक्रमको अध्यक्षता प्रकाश पौडेलले गरेका थिए।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected