

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसददेखि समाजसम्म संवादको संस्कृति कमजोर बन्दै गएको भन्दै लोकतन्त्रलाई बलियो बनाउन ‘खुला मञ्च’ आवश्यक रहेको बताएका छन् । उनले संसद् अवरुद्ध हुने, समाजमा एकले अर्कामाथि टिप्पणी गर्ने र डिजिटल प्लेटफर्ममा तथ्यभन्दा आरोप–प्रत्यारोप हाबी हुने अवस्थाले लोकतान्त्रिक संवादलाई कमजोर बनाएको बताए ।
आइतबार काठमाडौँको खुलामञ्चमा सुरु भएको नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै थापाले संसद्को गरिमा जोगाउन प्रधानमन्त्रीको सम्मानजनक र उत्तरदायी उपस्थिति अनिवार्य रहेको बताए । आफूलाई प्रधानमन्त्री बनाउने र नबनाउने दुवै पक्षका सांसदप्रति प्रधानमन्त्री जवाफदेही हुनुपर्ने उनको भनाइ थियो ।
‘खुला मञ्च’ संसद्भित्रैबाट सुरु गर्नुपर्ने धारणा राख्दै थापाले भने, ‘संसद् त्यतिबेला मात्र साँच्चिकै खुला हुन्छ, जब आफूलाई प्रधानमन्त्री बनाउने र नबनाउने सबै सांसदप्रति, संसद्को गरिमा र जनताको सम्मानका लागि प्रधानमन्त्रीको उत्तरदायी उपस्थिति रहन्छ ।’
थापाले राजनीतिक संवादलाई संसदमा मात्र सीमित नराखी समुदाय, राज्य र नागरिक तथा डिजिटल संसारसम्म विस्तार गर्नुपर्ने बताए । पहाडले मधेसका बारेमा र एउटा जातले अर्को जातका बारेमा टिप्पणी गर्नेभन्दा पहाड–मधेस र समुदायबीच प्रत्यक्ष संवाद हुनुपर्ने उनको भनाइ थियो ।
‘एउटा पुस्ताले अर्को पुस्ताका बारेमा फैसला सुनाउने होइन, पुस्ताहरूबीच संवाद हुनुपर्छ,’ थापाले भने, ‘राज्य र नागरिकबीच पनि खुला संवादको मञ्च आवश्यक छ ।’
डिजिटल प्लेटफर्ममा समेत प्रतिक्रिया र आरोप–प्रत्यारोपभन्दा तथ्य, तर्क र विचारले स्थान पाउने वातावरण निर्माण गर्नुपर्ने उनले बताए । खुला संवादबाटै लोकतन्त्र बलियो हुने थापाको निष्कर्ष थियो ।
कांग्रेस महाधिवेशनको उद्घाटन समारोहमा बोल्ने अन्य राजनीतिक दलका नेताहरूले पनि मुलुकको वर्तमान राजनीतिक अवस्थाबारे आ–आफ्ना धारणा प्रस्तुत गरे ।
रवि : सरकार ढल्दैन, जनमतको सम्मान गरौँ
सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वालेन्द्र शाह नेतृत्वको सरकार नढल्ने दाबी गरे । सरकार कमजोर भएको र ढल्न लागेको भन्ने टिप्पणीको प्रतिवाद गर्दै उनले जनमतको सम्मान गर्न आग्रह गरे ।
उनले पटक–पटक सरकार ढल्ने चर्चा हुने गरेको भन्दै व्यङ्ग्य गरे । ‘ढल्न त ढल्छ, तर यो पटक–पटक सरकार ढल्छ भन्ने मान्छे सरकार नढलेको देखेर बेहोस भएर ढल्छ,’ लामिछानेले भने ।
उनका अनुसार यसपटक मतदाताले व्यक्तिलाई मात्र रोजेका होइनन्, इतिहास बदल्ने उद्देश्यसहित सरकार चुनेका हुन् । त्यसैले प्राप्त जनमतको हुर्मत लिन नहुने उनले बताए ।
प्रचण्ड : गगन र रविले ‘क्रमभंग’ गर्नुपर्छ
नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस सभापति गगन थापा र रास्वपा सभापति रवि लामिछानेलाई राजनीतिक ‘क्रमभंग’ गर्दै अघि बढ्न सुझाव दिए ।
थापाले राजनीतिक क्रमभंग गरेको उल्लेख गर्दै प्रचण्डले अब लामिछानेले पनि त्यसतर्फ अघि बढ्नुपर्ने बताए ।
‘अब पालो गगनजीहरूको हो, तपाईं क्रमभंग गर्दै जानुस् । अब पालो रविजीहरूको हो, तपाईंले अझै क्रमभंग गर्न बाँकी छ । तपाईंले पनि क्रमभंग गर्नुस् अनि बन्छ नेपाल,’ उनले भने ।
थापा र लामिछाने दुवै आफ्नो नेतृत्वको मन्त्रिपरिषद्मा मन्त्री रहेको स्मरण गर्दै प्रचण्डले उनीहरूप्रति आफ्नो माया, भरोसा र सम्मान रहेको बताए । सबै राजनीतिक शक्ति मिलेर समृद्ध नेपाल निर्माण गर्नुपर्ने उनको भनाइ थियो ।
विश्वप्रकाश : संविधान संशोधन गणितको विषय होइन
कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले संविधान संशोधनलाई सत्ता र प्रतिपक्षको चाहना वा संसदीय गणितमा मात्र सीमित गर्न नहुने बताए ।
उनले संविधान संशोधन राष्ट्रिय एकता र नागरिकको भावनासँग जोडिएको विषय भएकाले व्यापक बहस र परिपक्व प्रक्रियाबाट अघि बढाउनुपर्ने धारणा राखे ।
‘संविधान संशोधनको विषय सत्ता र प्रतिपक्षको चाहनाको मात्रै विषय बन्नु हुँदैन । संविधान संशोधनको विषय गणितको विषय मात्रै बन्न हुँदैन,’ शर्माले भने ।
उनले जेन–जी आन्दोलनको मर्म, मधेस आन्दोलन तथा विभिन्न समुदाय र भूगोलबाट उठेका मागलाई समेत संविधान संशोधनका क्रममा सम्बोधन गर्नुपर्ने बताए ।
पोखरेल : लोकतन्त्र र राष्ट्रियताका प्रश्नमा दलहरू एक ठाउँमा उभिऊन्
नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोकतन्त्र, सार्वभौमसत्ता, विकास र समृद्धिका पक्षमा कांग्रेससँग सहकार्य गर्न एमाले तयार रहेको बताए ।
मुलुक विभिन्न चुनौतीबाट गुज्रिरहेको उल्लेख गर्दै उनले राष्ट्रियताका प्रश्नमा राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्ने धारणा राखे । जलवायु परिवर्तनका कारण प्राकृतिक विपत्तिको जोखिम बढेको र भोटेकोशी तथा त्रिशूलीमा आएको बाढीले ठूलो जनधनको क्षति गरेको उल्लेख गर्दै उनले विपत्तिको सामना गर्न दलहरूबीच सहकार्य आवश्यक रहेको बताए ।
सरकारले निर्वाचित जनप्रतिनिधि, संसद् र नागरिकसँग पर्याप्त संवाद गर्न नसकेको भन्दै पोखरेलले लोकतन्त्रको रक्षाका लागि राजनीतिक शक्तिहरू सामूहिक रूपमा अघि बढ्नुपर्ने बताए ।
‘लोकतन्त्रको रक्षाका लागि फेरि एकपटक सामूहिक रूपमा उठ्नुपर्ने अवस्था आएको छ,’ उनले भने ।
नेपाल भूराजनीतिक द्वन्द्वको चपेटामा पर्न सक्ने जोखिम रहेको भन्दै उनले राष्ट्रियता र सार्वभौमसत्ताको रक्षाका लागि साझा राष्ट्रिय धारणा आवश्यक रहेको बताए । जनताले सुशासन, प्रभावकारी सेवा प्रवाह र तीव्र विकास खोजे पनि अपेक्षाअनुसार उपलब्धि हासिल हुन नसकेको उनको भनाइ थियो ।
बाबुराम : सरकार बनाउने–ढाल्ने खेलबाट बाहिर निस्कौँ
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजनीतिक दलहरू सरकार बनाउने र ढाल्ने खेलमा अल्झिँदा आर्थिक रूपान्तरण ओझेलमा परेको बताए ।
संघीय लोकतान्त्रिक गणतन्त्रपछि पनि नागरिकलाई देशभित्रै रोजगारी, अवसर र समृद्धिको विश्वास दिलाउन नसकिएको स्वीकार गर्दै उनले जनताको असन्तुष्टिलाई विदेशी षड्यन्त्रका रूपमा मात्र व्याख्या नगरी राजनीतिक नेतृत्वले आफ्नै कमजोरी स्वीकार गर्नुपर्ने बताए ।
‘हामी सरकार बनाउने र गिराउने खेलमै अल्झियौँ, आर्थिक समृद्धिको दिशामा अपेक्षित रूपमा अघि बढ्न सकेनौँ । त्यसैले जनतामा असन्तुष्टि बढ्यो र नयाँ पुस्ताले विद्रोहको आवाज उठायो,’ भट्टराईले भने ।
उनले आगामी १० देखि २० वर्षमा नेपाललाई समृद्ध बनाउने स्पष्ट राष्ट्रिय विकास योजना बनाएर त्यसमा राजनीतिक दलहरूबीच सहमति गर्नुपर्ने बताए । योजना कार्यान्वयनमा भने दलहरूबीच प्रतिस्पर्धा हुनुपर्ने उनको प्रस्ताव थियो ।
नयाँ पुस्तामाथि विश्वास गर्दै नेतृत्व हस्तान्तरण गर्न पनि उनले आफ्नो पुस्ताका नेताहरूलाई आग्रह गरे ।
लिङ्देन : राजा, दल र नयाँ पुस्ताबीच नयाँ समझदारी गरौँ
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजा, राजनीतिक दल र नयाँ पुस्तालाई एक ठाउँमा ल्याएर नयाँ राजनीतिक समझदारी निर्माण गर्नुपर्ने प्रस्ताव गरे ।
पछिल्लो छ महिनामा पात्रहरू परिवर्तन भए पनि देशको अवस्थामा सुधार नआएको भन्दै उनले ‘मान्छे फेरेर मात्र हुँदैन’ भन्ने देखिएको बताए ।
‘देशमा नवीन समझदारीको खाँचो छ । राजादेखि राजनीतिक दल र नवयुवा पुस्तासम्म सबैलाई एक ठाउँमा राखेर निकास दिनुपर्छ,’ लिङ्देनले भने ।
उनले संविधानलाई समयअनुसार संशोधन गर्न सकिने दस्तावेजका रूपमा लिनुपर्ने बताए । निषेधको राजनीतिले लामो समयसम्म निकास दिन नसक्ने भन्दै उनले देश अँध्यारो सुरुङतर्फ प्रवेश गरेको टिप्पणी गरे ।
पुष्पा भुसाल : महाधिवेशन पद बाँडफाँटका लागि होइन
कांग्रेस उपसभापति पुष्पा भुसालले १५औँ महाधिवेशनलाई पद व्यवस्थापनको थलोमा सीमित गर्न नहुने बताइन् । उनले महाधिवेशन कांग्रेसको वर्तमान र भविष्यबारे गम्भीर आत्मसमीक्षा गर्ने अवसर बन्नुपर्ने बताइन् ।
‘यो महाधिवेशन पदको व्यवस्थापनका लागि भइरहेको छैन । लोकतान्त्रिक विचारधारामा विश्वास गर्ने सबैले आत्मसमीक्षा गर्ने थलो बन्नुपर्छ,’ उनले भनिन् ।
महाधिवेशनपछि जनविश्वास बढाउन गाउँ–गाउँ पुग्ने र पार्टीभित्रको लोकतान्त्रिकरणलाई अझ समावेशी बनाउने प्रतिबद्धता कांग्रेसले गर्नुपर्ने उनको भनाइ थियो ।
गुरुराज : नयाँ पुस्ताको प्रश्नको जवाफ दिनुपर्छ
कांग्रेस महामन्त्री गुरुराज घिमिरेले नयाँ पुस्ताको भावनाअनुसार पार्टी अघि बढ्नुपर्ने बताए ।
जनताको मनमा उठेका प्रश्नको जवाफ दिन नसकेको स्वीकार गर्दै उनले लोकतन्त्र र राजनीति सही बाटोमा हिँडिरहेको छ कि छैन भन्ने प्रश्नको जवाफ खोज्नुपर्ने बताए ।
‘आज लोकतन्त्र सही बाटोमा हिँडिरहेको छ कि छैन, राजनीति सार्थक भइरहेको छ कि छैन ? हामी सबैमाथि प्रश्न उठिरहेको छ,’ घिमिरेले भने ।
उनले यस्ता प्रश्नको समुचित जवाफ खोज्न सके मात्रै राजनीति सार्थक हुने बताए ।
प्रदीप : कांग्रेसको विरासत कमजोर हुन दिँदैनौँ
कांग्रेस महामन्त्री प्रदीप पौडेलले पार्टीको ऐतिहासिक विरासतलाई कमजोर हुन नदिने बताए । विवादमा फसेर कांग्रेसलाई कमजोर बन्न नदिने भन्दै उनले पार्टीलाई अझ बलियो बनाएर अर्को पुस्तालाई हस्तान्तरण गर्ने प्रतिबद्धता जनाए ।
बानियाँ : जनतालाई केन्द्रमा राखेर अघि बढ्छौँ
कांग्रेस वाग्मती प्रदेशका सभापति इन्द्र बानियाँले १५औँ महाधिवेशनपछि कांग्रेसले जनतालाई केन्द्रमा राखेर अघि बढ्ने बताए ।
संविधानका उपलब्धिको रक्षा गर्दै सहमति, सहकार्य र समझदारीका साथ राष्ट्रिय राजनीतिमा कांग्रेस नयाँ ऊर्जासहित अघि बढ्ने उनको भनाइ थियो ।
शरतसिंह : ‘नियन्त्रित लोकतन्त्र’ स्वीकार्य छैन
जनता समाजवादी पार्टी नेपालका नेता शरतसिंह भण्डारीले नेपाली जनतालाई कुनै पनि बहानामा ‘नियन्त्रित लोकतन्त्र’ स्वीकार्य नहुने बताए ।
मुलुक आर्थिक, सामाजिक र भू–राजनीतिक संक्रमणबाट गुज्रिरहेको उल्लेख गर्दै उनले प्रमुख राजनीतिक दलहरूबीच सहकार्य र राष्ट्रिय एकता आवश्यक रहेको बताए ।
प्राकृतिक विपद्, आर्थिक मन्दी, बेरोजगारी र युवाको विदेश पलायन बढिरहेको भन्दै उनले संविधानलाई समयअनुकूल संशोधन र परिमार्जन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप समावेशी र परिणाममुखी बनाउनुपर्ने बताए ।
बदलिँदो भू–राजनीतिक परिस्थितिमा सन्तुलित कूटनीतिमार्फत राष्ट्रिय हितको रक्षा गर्नुपर्ने उनको भनाइ थियो ।
रेशमलाल चौधरीको प्रश्न : ‘गणतन्त्रसँग मेरो धर्म किन साटियो ?’
राष्ट्रिय जनमुक्ति पार्टीका संस्थापक रेशमलाल चौधरीले १९ दिने जनआन्दोलनमा गणतन्त्रसँगै हिन्दू धर्म साटिएको भन्दै कांग्रेसलाई प्रश्न गरे ।
कांग्रेस सभापति गगन थापाले उक्त आन्दोलनमा टाउकोमा कफन बाँधेर गणतन्त्रको नारा लगाएको भन्दै प्रशंसा गरेका चौधरीले आफू पनि आन्दोलनमा सहभागी भएको बताए ।
‘गगनजी, त्यो आन्दोलनमा हामीले पनि लाठी खायौँ, पानीको फोहरा खायौँ । देशमा गणतन्त्र ल्यायौँ । तर एउटा अनौठो संयोग छ– १९ दिने आन्दोलनमा गणतन्त्रसँगै मेरो धर्म किन साटियो ?’ उनले प्रश्न गरे । उनले पहिचानसँग कुनै पनि कुराको साटफेर गर्न नसकिने बताए ।












