कांग्रेसको केन्द्रीय नेतृत्वमा लक्ष्मी पाण्डे : अनुभवलाई जिम्मेवारीमा बदल्ने दाबी


पोखरा — नेपाली कांग्रेसको राजनीतिमा पदभन्दा निरन्तरतालाई प्राथमिकता दिने नेतृका रूपमा लक्ष्मी पाण्डे क्षेत्रीको परिचय बनेको छ। पार्टीको संगठनदेखि सामाजिक अभियानसम्म सक्रिय पाण्डेले अब आफ्नो लामो राजनीतिक अनुभवलाई केन्द्रीय भूमिकामा लैजाने लक्ष्यसहित कांग्रेसको १५औँ महाधिवेशनमा महिला खुलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएकी छन्।
पाण्डेका लागि यो उम्मेदवारी आकस्मिक राजनीतिक निर्णय होइन। लामो समय पार्टीको संगठनमा बिताएकी उनी यसअघि पनि केन्द्रीय सदस्यको प्रतिस्पर्धामा उत्रिसकेकी छन्। कांग्रेसको १४औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवार बनेकी पाण्डे निर्वाचित हुन नसके पनि सम्मानजनक मत प्राप्त गरेकी थिइन्। त्यसपछि पनि उनी पार्टी गतिविधिबाट टाढिइनन्। बरु संगठन र सामाजिक क्षेत्रमा आफ्नो सक्रियता निरन्तर राखिन्।
कांग्रेस कास्कीको पूर्व कोषाध्यक्ष, कास्की क्षेत्र नम्बर २ की नेपाल महिला संघकी पूर्व क्षेत्रीय सभापति तथा पार्टीकी क्षेत्रीय सदस्यका रूपमा काम गरिसकेकी पाण्डेले संगठनभित्र विभिन्न जिम्मेवारी सम्हालेकी छन्। कांग्रेसका जिल्ला कोषाध्यक्षहरूको राष्ट्रिय महासंघको महासचिवका रूपमा काम गरेको अनुभव पनि उनीसँग छ। राष्ट्रिय सम्मेलन तथा विभिन्न संगठनात्मक गतिविधिमा नेतृत्वदायी भूमिका निर्वाह गरेको उनी बताउँछिन्।
उनको राजनीतिक परिचय पार्टीको सांगठनिक घेरामै सीमित छैन। सामाजिक क्षेत्रमा पनि लामो समयदेखि सक्रिय पाण्डे क्षेत्री समाज नेपालकी राष्ट्रिय उपाध्यक्ष, बीपी अध्ययन प्रतिष्ठान गण्डकीकी अध्यक्ष तथा महिला उद्यमी सेवा नेपालकी संस्थापक अध्यक्ष हुन्। राष्ट्रिय परोपकार महासंघ नेपालकी आजीवन सदस्य, नेपाल रेडक्रस सोसाइटीकी आजीवन सदस्य तथा नेपाल परिवार नियोजन संघ कास्कीकी सदस्यका रूपमा पनि उनले काम गरिरहेकी छन्।
राजनीतिमा पाण्डेको प्रवेश र निरन्तरताको पृष्ठभूमि पारिवारिक पनि छ। उनका बुबा खड्गबहादुर जंगली स्याङ्जाको सेतीदोभान गाउँ पञ्चायतका प्रधानपञ्च थिए। उनका ससुरा डम्बरबहादुर पाण्डे पनि प्रजातन्त्र प्राप्तिको आन्दोलनमा योगदान दिएका राजनीतिक व्यक्तित्वका रूपमा परिचित थिए। माइती र घर दुवैतर्फको राजनीतिक वातावरणले आफूलाई राजनीतिमा सक्रिय हुन सहज बनाएको पाण्डे बताउँछिन्।
यसअघि पाण्डेले पोखरा महानगरपालिकाको उपमेयरमा समेत कांग्रेसबाट दाबी गरेकी थिइन्। महानगरको नेतृत्वमा पुग्ने आकांक्षादेखि पार्टीको केन्द्रीय नेतृत्वमा भूमिका खोज्ने वर्तमान प्रयाससम्म आइपुग्दा उनको राजनीतिक यात्राले स्थानीय संगठनदेखि राष्ट्रिय पार्टी राजनीतिसम्मको महत्वाकांक्षा देखाउँछ।
तर पाण्डे आफ्नो उम्मेदवारीलाई केवल पद प्राप्तिको प्रयासका रूपमा व्याख्या गर्न चाहन्नन्। उनको जोड अनुभव, संगठन र परिणाममा छ।
‘म राजनीतिबाट कहिल्यै हराएकी छैन। सँगसँगै समाजसेवा पनि गर्दै आएकी छु,’ उनी भन्छिन्, ‘मेरो क्षमता, अनुभव र लगनशीलता हेरेर पार्टीले मलाई केन्द्रीय सदस्यको जिम्मेवारी दिने विश्वास लिएकी छु। म अनावश्यक गफ र भाषणमा विश्वास गर्दिनँ। कांग्रेस बनाउने मेरो सपना छ, त्यो पूरा गरेरै छोड्छु।’
पाण्डेले कांग्रेसको १५औँ महाधिवेशनलाई आफ्नो राजनीतिक यात्राको अर्को महत्वपूर्ण मोडका रूपमा लिएकी छन्। ‘नयाँ सोच, नयाँ ऊर्जा र सुदृढ कांग्रेस’ निर्माणलाई आफ्नो राजनीतिक संकल्प बनाएकी उनी पार्टीको विचार, संगठन र लोकतान्त्रिक मूल्यप्रतिको प्रतिबद्धतालाई आगामी भूमिकासँग जोड्न चाहन्छिन्।
‘वर्षौँदेखि कांग्रेसको विचार, संगठन र लोकतान्त्रिक मूल्यप्रति निरन्तर समर्पित रहँदै आएको मेरो राजनीतिक यात्रालाई अझ जिम्मेवार भूमिकामा अघि बढाउने अवसरका रूपमा यस महाधिवेशनलाई लिएकी छु,’ उनी भन्छिन्, ‘अनुभवलाई जिम्मेवारीमा, प्रतिबद्धतालाई परिणाममा बदल्दै एकताबद्ध र सशक्त कांग्रेस निर्माणमा मेरो निरन्तर साथ रहनेछ।’
पाण्डेको दाबी अब महाधिवेशन प्रतिनिधिको मतबाट परीक्षण हुनेछ। यसअघि केन्द्रीय सदस्यको प्रतिस्पर्धामा प्राप्त अनुभव, पार्टी संगठनमा गरेको लामो काम र सामाजिक क्षेत्रमा बनाएको सक्रिय पहिचानलाई उनले आफ्नो पक्षको आधार मानेकी छन्। उनको चुनौती भनेकै ती अनुभव र सम्बन्धलाई मतमा रूपान्तरण गर्नु हो।




