एआई सिक्दै पोखराका ४५ महिला पर्यटन व्यवसायी, डिजिटल बजारमा प्रतिस्पर्धा गर्ने तयारी
- October 11, 2026
- 207

पोखरा । पर्यटकले यात्रा गर्नुअघि नै इन्टरनेटमा होटल, ट्राभल प्याकेज र गन्तव्य खोज्न थालेपछि पर्यटन व्यवसायको प्रतिस्पर्धा पनि डिजिटल बजारमा सरेको छ। यही बदलिँदो प्रवृत्तिलाई पछ्याउँदै पोखराका ४५ महिला पर्यटन व्यवसायीले कृत्रिम बौद्धिकता (एआई) र डिजिटल मार्केटिङको व्यावहारिक सीप सिकेका छन्।
पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) को आयोजनामा युनाइटेड कम्युनिटी नेपाल र स्विसकन्ट्याक्ट नेपालको सहयोगमा सञ्चालित दुईदिने ‘एआई एन्ड डिजिटल मार्केटिङ फर टुरिजम बिजनेस ग्रोथ’ तालिम सम्पन्न भएको हो। ‘दिगो पर्यटनका लागि समान सहभागिता’ नारासहित टेम्पल बेल बुटिक होटल एन्ड स्पामा आयोजित तालिममा पोखरासहित विभिन्न क्षेत्रका महिला पर्यटन व्यवसायी सहभागी थिए।
तालिममा सहभागीलाई एआईको प्रयोगबाट व्यवसायको प्रचारप्रसार गर्ने, गुगलमा आफ्नो व्यवसायको उपस्थिति बलियो बनाउने, सामाजिक सञ्जालका लागि आकर्षक सामग्री तयार गर्ने र डिजिटल माध्यमबाट सम्भावित ग्राहकसम्म पुग्ने तरिका सिकाइएको थियो।
डिजिटल मार्केटर तथा आर्क भिजन एकेडेमीका संस्थापक राहुल सापकोटाले तालिमको सहजीकरण गरेका थिए। उनले एआईलाई मार्केटिङसँग जोडेर सामग्री सिर्जना गर्ने, व्यवसायको पहिचान स्थापित गर्ने र डिजिटल प्लेटफर्ममा आफ्ना सेवा प्रभावकारी रूपमा प्रस्तुत गर्ने व्यावहारिक सीप प्रदान गरेका थिए।
पर्यटन बजारमा प्रतिस्पर्धा चुलिँदै जाँदा डिजिटल प्रविधिको ज्ञान महिला उद्यमीका लागि व्यवसाय विस्तारको महत्त्वपूर्ण आधार बन्दै गएको छ। अनलाइनमा व्यवसायको राम्रो उपस्थिति नहुँदा सम्भावित ग्राहकसम्म पुग्न कठिन हुने भएकाले प्रविधिको प्रभावकारी प्रयोगले बजारमा आफ्नो पहिचान स्थापित गर्न र ग्राहक आकर्षित गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।
टेवानका अध्यक्ष शोभा न्यौपाने पाण्डेले महिला पर्यटन व्यवसायीलाई नयाँ प्रविधिको ज्ञान र सीपसँग जोड्दै व्यवसाय विस्तारका अवसर सिर्जना गर्नु तालिमको मुख्य उद्देश्य रहेको बताइन्।
उनका अनुसार एआई र डिजिटल मार्केटिङको प्रभावकारी प्रयोगले व्यवसायको प्रचारप्रसारलाई व्यवस्थित बनाउनुका साथै सम्भावित ग्राहकसम्म पुग्न र प्रतिस्पर्धी बजारमा आफ्नो स्थान बलियो बनाउन सहयोग पुर्याउन सक्छ।
तालिम संयोजक तथा टेवानका महासचिव शोभा अधिकारी पौडेलले महिला पर्यटन व्यवसायीको क्षमता अभिवृद्धि गर्दै व्यावसायिक गतिविधिमा डिजिटल प्रविधिको प्रयोग बढाउनु तालिमको लक्ष्य रहेको बताइन्। सिकेका सीपलाई दैनिक व्यवसायमा प्रयोग गर्न सके प्रचारप्रसार, ग्राहकसँगको सम्पर्क र बजार विस्तारमा सकारात्मक परिणाम हासिल गर्न सकिने उनको अपेक्षा छ।
तालिम समापन कार्यक्रममा नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य सन्तोष पोखरेल, पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेल, टेवानका संस्थापक अध्यक्ष लक्की कार्की, पोखरा महानगरपालिकाको आर्थिक महाशाखाका प्रमुख मनोहर कडरिया, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका वरिष्ठ अधिकृत युवराज गुरुङ र युनाइटेड कम्युनिटी नेपालका विष्णुकुमार मल्ललगायत सहभागी थिए।
कार्यक्रमका वक्ताहरूले महिला पर्यटन व्यवसायीलाई प्रविधिमैत्री बनाउने प्रयासको प्रशंसा गर्दै यस्ता सीपमूलक कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।







