0Shares

पोखरा। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले स्वर्गीय नेता एवं पूर्वमन्त्री प्रकाशबहादुर गुरुङले समाज र राष्ट्रका लागि पुर्‍याएको योगदान नै उहाँको परिवारको अमूल्य सम्पत्ति भएको बताएका छन्। भौतिक रूपमा बिदा भए पनि उहाँका सत्कर्म, विचार र जनसेवाले सधैँ प्रेरणा दिइरहने थापाको भनाइ थियो ।

गुरुङको १३औँ दिनको पुण्यतिथिमा सोमबार पोखरा–१०, रामघाटस्थित बौद्ध अर्घौं सदनमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै सभापति थापाले उहाँप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन्।

थापाले नेपाली कांग्रेसलाई व्यक्तिगत स्वार्थभन्दा माथि उठाएर सामाजिक लोकतन्त्रको मान्यताअनुसार अघि बढाउनुपर्नेमा जोड दिए। नागरिक र कांग्रेसबीच कमजोर बनेको विश्वास पुनःस्थापित गर्न पार्टीको कार्यशैलीमा परिवर्तन आवश्यक रहेको उनले बताए।

कांग्रेसलाई माया गर्ने शुभेच्छुकलाई पुनः पार्टीसँग जोड्दै किसान, उद्योगी, व्यवसायीदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीसम्मले भरोसा गर्न सक्ने संगठन बनाउनुपर्ने उनको भनाइ थियो। “बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ,” थापाले भने। पार्टीले कामबाटै परिवर्तन प्रमाणित गर्नु स्वर्गीय गुरुङप्रतिको सच्चा सम्मान हुने सन्देश पनि उनले दिए।

श्रद्धाञ्जली सभामा नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मा र कांग्रेस नेता देवराज चालिसेले गुरुङको राजनीतिक तथा सामाजिक योगदानको स्मरण गरे। अन्नपूर्ण गाउँपालिका–१० का वडाध्यक्ष गौतम गुरुङले उहाँको व्यक्तित्व र योगदानबारे धारणा राखेका थिए।

नेपाली कांग्रेस अन्नपूर्ण गाउँपालिका समितिका सभापति सुशील भट्टचनको अध्यक्षतामा भएको कार्यक्रम समितिका सचिव डिलबहादुर जिसीले सञ्चालन गरेका थिए। कार्यक्रममा परिवारका तर्फबाट कप्तान पदम लाल गुरुङले धन्यवाद ज्ञापन गरेका थिए ।

प्राध्यापनबाट राजनीतिसम्मको यात्रा

वि.सं. २००९ सालमा जन्मिएका गुरुङको ७२ वर्षको उमेरमा गत असोज १३ गते निधन भएको थियो। कास्कीको पर्यटकीय गाउँ घान्द्रुकका स्थायी बासिन्दा उनले पोखरास्थित पृथ्वीनारायण क्याम्पसमा भूगोल विषयका उपप्राध्यापकका रूपमा २२ वर्ष सेवा गरेका थिए।

२०५६ सालको आम निर्वाचनमा कांग्रेसबाट उम्मेदवार बन्न उनले प्राध्यापन पेसा त्यागेका थिए। कास्की–३ बाट निर्वाचित गुरुङ २०५८ सालमा वाणिज्य तथा आपूर्तिमन्त्री बनेका थिए । उनले कास्कीका ग्रामीण क्षेत्रमा विद्युतीकरण विस्तार, सडक तथा पुल निर्माण र शैक्षिक पूर्वाधार विकासमा योगदान पुर्‍याएका थिए।

सार्वजनिक जीवनमा पुर्‍याएको योगदानको कदरस्वरूप गुरुङको अन्त्येष्टिमा नेपाल सरकारका तर्फबाट राष्ट्रिय सम्मानसहित अन्तिम सलामी अर्पण गरिएको थियो।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected