३४ वर्षदेखि दुर्गममा शिक्षाको उज्यालो छर्दै पाहार ट्रस्ट, ३ सयभन्दा बढी विद्यालयमा भवन निर्माण
- October 12, 2026
- 234

पोखरा । दुर्गम गाउँका बालबालिकाले सुरक्षित भवनमा बसेर पढ्न पाऊन्, विद्यालयमा पुस्तकालय होस् र समुदायमै आधारभूत स्वास्थ्य सेवा उपलब्ध होस्—यही उद्देश्यसहित पाहार ट्रस्ट नेपालले तीन दशकभन्दा लामो समयदेखि काम गर्दै आएको छ। संस्थाले पूर्वको ताप्लेजुङदेखि पश्चिमको कञ्चनपुरसम्मका ३१ जिल्लामा तीन सयभन्दा बढी सामुदायिक विद्यालयका भवन निर्माण गरेको छ।
विद्यालयका भवनमा मात्र सीमित नरहेको संस्थाले स्वास्थ्य चौकी, छात्रावास, पुस्तकालय र प्रारम्भिक बाल विकास केन्द्रसमेत निर्माण गरेको छ। शिक्षासँगै स्वास्थ्य र बालबालिकाको सिकाइ वातावरण सुधारमा योगदान पुर्याउँदै आएको संस्थाले आफ्नो १४औँ वार्षिक साधारण सभामा हालसम्मका उपलब्धि र आगामी कार्ययोजनाबारे जानकारी दिएको हो।
संस्थाका अध्यक्ष भुवनसिंह गुरुङका अनुसार आर्थिक वर्ष २०८२/८३ मा विद्यालय भवन निर्माण तथा मर्मत, स्वास्थ्य चौकी र बाल विकास केन्द्र निर्माणलगायत १५ वटा परियोजना सञ्चालन गरिएका छन्। विद्यालय भवन, स्वास्थ्य चौकी, सामुदायिक भवन र बाल विकास केन्द्रसम्बन्धी १० वटा परियोजना पनि सञ्चालनमा रहेको उनले जानकारी दिए।
पाहार ट्रस्टले १८ जिल्लाका ७५ विद्यालयमा पुस्तकालय निर्माण गरेको छ। तीमध्ये ५५ वटा पुस्तकालय सम्बन्धित समुदायलाई हस्तान्तरण गरिसकिएको अध्यक्ष गुरुङले बताए।
पुस्तकालय कार्यक्रमबाट २२ हजार १९३ विद्यार्थी र एक हजार २९७ शिक्षक लाभान्वित भएका छन्। यसबाहेक समुदायका व्यक्तिले पनि पुस्तकालयबाट लाभ लिएको संस्थाले जनाएको छ।
विद्यार्थीमा नियमित पढ्ने बानीको विकास गर्नु पुस्तकालय कार्यक्रमको मुख्य उद्देश्य रहेको गुरुङले बताए। उनका अनुसार संस्थाले भवन निर्माणसँगै शैक्षिक सामग्री उपलब्ध गराउने र बालबालिकाका लागि सिकाइमैत्री वातावरण तयार गर्ने कामलाई समेत प्राथमिकता दिएको छ।
संस्थाले निर्माण गरेका भवन सुरक्षित, टिकाउ, सुविधायुक्त, भूकम्पप्रतिरोधी र बालमैत्री रहेको अध्यक्ष गुरुङले बताए।
‘विगत ३४ वर्षदेखि नेपालको विकट तथा दुर्गम क्षेत्रका बालबालिकाको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न काम गरिरहेका छौँ,’ उनले भने, ‘भवन आचारसंहिताअनुसारका संरचना निर्माण गर्नुका साथै विद्यालयलाई आवश्यक शैक्षिक सामग्री उपलब्ध गराउने र स्वास्थ्य चौकी, पुस्तकालय तथा बाल विकास केन्द्र निर्माणमा पनि काम गर्दै आएका छौँ।’
उनका अनुसार संस्थाले आवश्यकताअनुसार नयाँ संरचना निर्माण र पुराना संरचनाको पुनर्निर्माणलाई समेत प्राथमिकता दिँदै आएको छ।
पाहार ट्रस्ट नेपालका सल्लाहकार पदमसुब्बा गुरुङले पाहार ट्रस्ट युकेलगायत दातृ निकायको सहयोगमा सन् १९९१ देखि सामुदायिक विद्यालयका भवन निर्माणको काम सुरु गरिएको बताए।
गैरसरकारी संस्था महासंघ नेपाल, कास्कीकी अध्यक्ष इन्दिरा पौडेलले ग्रामीण तथा दुर्गम क्षेत्रको शैक्षिक पूर्वाधार विकासमा संस्थाले योगदान पुर्याएको बताइन्।
संस्थाका महासचिव टेकमान प्रधानाङ्गले केन युकेसँगको सहकार्यमा सञ्चालित पुस्तकालय कार्यक्रमलाई संस्थाको महत्त्वपूर्ण कार्यक्रमका रूपमा उल्लेख गरे।
संस्थाका कोषाध्यक्ष रीना रानामगरले दातृ निकायबाट प्राप्त परियोजना तथा बजेट समाज कल्याण परिषद् र सम्बन्धित स्थानीय तहबाट अनुमति लिएर वडा कार्यालय तथा स्थानीय समुदायसँगको समन्वयमा परिचालन गरिएको जानकारी दिइन्।
साधारण सभाले महासचिव प्रधानाङ्गद्वारा प्रस्तुत वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष रानामगरद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन आवश्यक सुधारसहित पारित गरेको छ।
कार्यक्रममा संस्थाका पूर्णबहादुर ह्योल्मो, पोखरा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष गोकर्ण कार्की, संस्थाका सचिव लक्ष्मी थापा गिरी, कार्यालय प्रमुख कान्ता घले, वीरेठाँटी माध्यमिक विद्यालयका प्रधानाध्यापक हिमलाल न्यौपाने र देउराली आधारभूत विद्यालयका प्रधानाध्यापक जीवनबाबु खनाललगायतले संस्थाले शिक्षा क्षेत्रमा पुर्याएको योगदानबारे चर्चा गरेका थिए।












