
पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ।
सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध लगाए पनि बजारमा बिक्री भइरहेको पाइएपछि महानगरले अनुगमन गरेको हो।
महानगरको टोलीले शुक्रबार वडा नं. १ र २ अन्तर्गत बिन्ध्यवासिनी र बगर क्षेत्रका नौवटा पूजासामग्री तथा झिलिङ्गा पसलमा अनुगमन गरेको थियो। अनुगमनका क्रममा ६ हजार २८० रुपैयाँ बराबरका प्लास्टिकका माला, फूल तथा बेकरी सजावटका सामग्री नियन्त्रणमा लिएर नष्ट गरिएको महानगरको आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए।
अनुगमनका क्रममा प्लास्टिकका माला, लेबल उल्लेख नगरिएका भाइमसला तथा कृत्रिम रङ प्रयोग गरिएका झिलिङ्गा बिक्रीका लागि राखिएको पाइएको महानगरकी अधिकृत कल्पना बरालले बताइन्।
उपप्रमुख एवं उपभोक्ता हित संरक्षण समितिकी संयोजक मञ्जुदेवी गुरुङको नेतृत्वमा गरिएको अनुगमनमा व्यवसायीलाई प्रचलित कानुन तथा मापदण्ड पालना गर्न, मूल्य र गुणस्तरमा पारदर्शिता कायम गर्न तथा म्याद नाघेका र प्रतिबन्धित सामग्री बिक्री नगर्न आग्रह गरिएको थियो।
उपप्रमुख गुरुङले प्लास्टिकजन्य फूलमालाले वातावरण प्रदूषण बढाउने भएकाले प्राकृतिक फूलमालाको प्रयोग गर्न र स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न व्यवसायी तथा उपभोक्तालाई आग्रह गरिन्।
महानगरले विगत तीन वर्षदेखि प्लास्टिकजन्य फूलमालाको बिक्री–वितरण रोक्न अभियान सञ्चालन गर्दै आएको छ। यस वर्ष पनि पूर्वसूचना जारी गरी व्यवसायीलाई प्रतिबन्धित सामग्री बिक्री नगर्न आग्रह गरिएको थियो।
वन तथा वातावरण मन्त्रालयले वातावरण संरक्षण ऐन, २०७६ अनुसार प्लास्टिकजन्य फूलका गुच्छाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध लगाएको छ। प्रतिबन्धविपरीत कार्य गरेमा १५ हजारदेखि २० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।
महानगरले वातावरण संरक्षण, उपभोक्ता हित र स्थानीय फूल उत्पादक किसानको प्रोत्साहनका लागि आगामी दिनमा पनि बजार अनुगमनलाई निरन्तरता दिने जनाएको छ।











