
पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ ।
लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि घरआँगन सफा गरी लिपपोत गर्ने र साँझ दीपावली गर्ने परम्परा छ । घरको आँगनदेखि मूलढोका हुँदै पूजा कोठासम्म चामलको पीठो र अबिरले लक्ष्मीका पाइला बनाई दीप प्रज्ज्वलन गरिन्छ ।
पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरी गरगहना, नगद, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाएर विधिपूर्वक पूजा गरिन्छ । यस अवसरमा कन्या तथा छोरीचेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणा दिने चलनसमेत छ ।
धार्मिक मान्यताअनुसार लक्ष्मीपूजाका दिन घरबाट धनसम्पत्ति बाहिर पठाउनु हुँदैन । मध्यरातमा महिलाले नाङ्लो ठटाएर लक्ष्मीको स्वागत गर्ने परम्परा पनि रहेको छ ।











