२०८३ मंसिर १, मंगलबार Tuesday, November 17, 2026
खबर

समाजसेवाको स्वर्णिम उदाहरण : लायन्स क्लबले बनायो आरोग्य भवन

पोखरा । सामाजिक सेवामा समर्पित लायन्स क्लब अफ पोखराले मानवीय सेवाको क्षेत्रमा अर्को महत्वपूर्ण योगदान दिएको छ । क्लबको २५ लाख रुपैयाँ आर्थिक सहयोगमा विन्ध्यवासिनी प्राकृतिक चिकित्सालयमा निर्माण गरिएको ‘पृथ्वी भवन’ हस्तान्तरण गरिएको छ ।

लायन्स क्लब अफ पोखराको स्वर्ण महोत्सवको अवसर पारेर निर्माण सम्पन्न भवन चिकित्सालयलाई हस्तान्तरण गरिएको हो । चिकित्सालय परिसरमा आयोजित विशेष समारोहमा लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे का डिष्ट्रिक्ट गभर्नर प्रजापति बास्तोलाले भवनको उद्घाटन गर्दै हस्तान्तरण गरेका हुन् ।

भवन उद्घाटनपछि उनले स्वस्थ जीवनका लागि औषधि उपचारसँगै नियमित आहारविहार, शारीरिक व्यायाम र स्वस्थ जीवनशैली अपनाउनु आवश्यक रहेको बताए । चिकित्सालयको सेवा र भौतिक पूर्वाधार विस्तारका लागि आगामी दिनमा पनि सक्दो सहयोग तथा पहल गर्ने प्रतिबद्धता उनले व्यक्त गरे ।

पञ्चतत्वमा आधारित प्राकृतिक उपचार पद्धतिलाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले निर्माण गरिएका पाँच आरोग्य भवनमध्ये पृथ्वी भवन पनि एक हो । यसअघि वडा नम्बर ४ का पूर्वअध्यक्ष शंकर बास्तोला, समितिका उपाध्यक्ष सुशीलकुमार गोशली, लक्ष्मी हाउस र ओम डेभलपमेन्ट बैंकले समेत २५/२५ लाख रुपैयाँ सहयोग गरेका थिए ।

२०७२ सालदेखि सञ्चालनमा आएको यस चिकित्सालयको भौतिक पूर्वाधार विकासका लागि पोखराका तत्कालीन नगरप्रमुख मानबहादुर जिसीले सुरुवाती चरणमा ४० लाख रुपैयाँ सहयोग गरेका थिए । त्यसपछि नेपाल सरकारका विभिन्न कार्यक्रममार्फत करिब दुईदेखि तीन करोड रुपैयाँ प्राप्त भएको थियो ।

विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिद्वारा सञ्चालित यस चिकित्सालयले आर्थिक अवस्था कमजोर भएका तथा अशक्त बिरामीलाई निःशुल्क उपचार सेवा प्रदान गर्दै आएको छ । विशेषगरी आधुनिक जीवनशैलीसँग जोडिएका दीर्घरोग, शारीरिक समस्या र मानसिक तनावबाट प्रभावित व्यक्तिलाई प्राकृतिक उपचार सेवा उपलब्ध गराउने उद्देश्यले संस्था सञ्चालन भइरहेको छ ।

चिकित्सालयबारे जानकारी दिँदै विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष तथा लायन्स क्लब अफ पोखराका पूर्वअध्यक्ष गणेशबहादुर श्रेष्ठले मन्दिरमा भक्तजनले चढाएको भेटी तथा आम्दानीलाई सामाजिक सेवामा उपयोग गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्ने उद्देश्यले चिकित्सालय सञ्चालन गरिएको बताए ।

‘मन्दिरमा चढेको पैसाले पनि सामाजिक क्षेत्रमा काम गर्न सक्दो रहेछ भन्ने एउटा उदाहरणस्वरूप हामीले दिन खोजेको प्रयास हो हाम्रो यो,’ उनले भने ।

परिवारसहित बसेर विशेष उपचार सेवा लिन चाहनेहरूका लागि भोजन र स्वास्थ्य उपचारसहित प्रतिदिन पाँच हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ । यसका लागि पाँचवटा आरोग्य भवन निर्माण भइसकेका छन् ।

हाल चिकित्सालयमा दुई जना चिकित्सक, थेरापिस्टसहित २५ जनाले सेवा दिइरहेका छन् । भोजनालयदेखि उपचार कक्षसम्मको सञ्चालन खर्च मासिक करिब १५ देखि १६ लाख रुपैयाँ पुग्ने गरेको छ । उक्त खर्च व्यवस्थापनका लागि विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले मन्दिरको आम्दानीबाट मासिक आठदेखि १० लाख रुपैयाँसम्म सहयोग गर्दै आएको छ ।

लायन्स क्लब अफ पोखराका संस्थापक कोषाध्यक्षसमेत रहेका समितिका उपाध्यक्ष सुशीलकुमार गोशलीले आफ्नो स्वास्थ्यका लागि केही समय छुट्याएर प्राकृतिक चिकित्सालयको सेवा लिन आग्रह गरे । क्लबले स्थापनाकालदेखि नै विभिन्न सामाजिक तथा मानवीय सेवाका काम गर्दै आएको स्मरण गर्दै स्वर्ण महोत्सवको अवसरमा आरोग्य भवन हस्तान्तरण गर्न पाउनु गौरवको विषय भएको बताए ।

त्यसैगरी, लायन्स क्लब अफ पोखराका प्रेसिडेन्ट डा. माधव तिवारीले आधुनिक जीवनशैलीका कारण बढ्दै गएका मधुमेह, उच्च रक्तचाप, ढाड तथा जोर्नीसम्बन्धी समस्या, मोटोपना, उच्च कोलेस्ट्रोल, मानसिक तनाव र अनिद्राजस्ता समस्यामा प्राकृतिक चिकित्साले सहयोग पुर्‍याउन सक्ने बताए । आफू एलोपेथिक चिकित्सक भए पनि प्राकृतिक चिकित्साको महत्व र सेवाको प्रचारप्रसारमा सक्रिय रहने प्रतिबद्धता उनले व्यक्त गरे ।

कार्यक्रममा क्लबका पूर्वअध्यक्ष दीपेन्द्र कोइराला, देवेन्द्र नकर्मी लगायतले क्लबले सञ्चालन गरेका सामाजिक गतिविधिबारे धारणा राखेका थिए । कार्यक्रममा डिष्ट्रिक्ट क्याबिनेट सेक्रेटरी जीवन गोर्खाली, क्याबिनेट कोषाध्यक्ष पुरुषोत्तम पराजुलीलगायत लायन्सका विभिन्न तहका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति थियो ।

Read more

नेपाली जनसम्पर्क समिति क्यानडाको संयोजकमा टोष्टराज कार्की ‘बसन्त’ मनोनीत

काठमाडौं । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिले नेपाली जनसम्पर्क समिति क्यानडाको संयोजकमा टोष्टराज कार्की (वसन्त कार्की) लाई मनोनयन गरेको छ। महाधिवेशन तयारी समितिका संयोजक प्रा. डा.…

डिएलए नेपालको कार्यवाहक अध्यक्षमा वरिष्ठ अधिवक्ता जगन्नाथ ढकाल

काठमाडौं । नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए–नेपाल) को कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष तथा वरिष्ठ अधिवक्ता जगन्नाथ ढकाललाई दिइएको छ। संस्थाका अध्यक्ष वरिष्ठ अधिवक्ता सीताराम के.सी.ले २०८३ कात्तिक…

पोखरामै वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण, काठमाडौं धाउनुपर्ने बाध्यता हट्यो

पोखरा । वैदेशिक रोजगारीमा जाने पोखरा तथा आसपासका जिल्लाका युवाले स्वास्थ्य परीक्षणका लागि काठमाडौं धाउनुपर्ने बाध्यता हट्ने भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले वैदेशिक रोजगारीमा…

‘खोइ किसुनजीको सादगी, गणेशमानको त्याग ?’ पूर्ण तिमिल्सिनाको कांग्रेस नेतृत्वलाई प्रश्न

पोखरा । नेपाली कांग्रेसको संगठनात्मक गतिविधि, नेतृत्वको कार्यशैली र आमकार्यकर्तासँगको सम्बन्धलाई लिएर पार्टीभित्रै असन्तुष्टिका स्वर सुनिन थालेका छन्। पार्टी सुधारको बहस चलिरहेका बेला नेपाली कांग्रेसका महासमिति सदस्य तथा…

कांग्रेसको छवि नेताकार्यकर्ताको व्यवहारबाटै बन्ने हो : महामन्त्री पौडेल

नागरिकसँग जिम्मेवार, मर्यादित र जनमैत्री व्यवहार गर्न पार्टीका नेता–कार्यकर्तालाई निर्देशन पोखरा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको जिम्मेवारीमा रहेका नेता तथा कार्यकर्ताको व्यवहारले नै कांग्रेसको समग्र छवि…

गण्डकी कांग्रेसको नेतृत्वमा मेखलाल श्रेष्ठको दाबेदारी, महामन्त्रीमा गंगाधर पराजुलीको चर्चा

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नियमित महाधिवेशन पक्षधरले गण्डकी प्रदेशको दोस्रो अधिवेशन आगामी मंसिर ५ र ६ गते पोखरामा गर्ने तय गरेसँगै प्रदेश नेतृत्वका लागि राजनीतिक सरगर्मी…