
पोखरा, १० मंसिर । उद्योगी–व्यवसायीका वित्तीय समस्या, बैंकिङ सेवा र कर्जा प्रवाहसम्बन्धी जिज्ञासालाई सम्बोधन गर्दै उद्यमशीलता विकास तथा वित्तीय सशक्तीकरणमा जोड दिइएको छ ।
पोखरा उद्योग वाणिज्य संघ र गरिमा विकास बैंक लिमिटेडको संयुक्त आयोजनामा पोखराका उद्योगी–व्यवसायीका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा बैंकिङ सेवा, कर्जा प्रवाह, ब्याजदर, सेवा शुल्क तथा निजी क्षेत्रमा लगानी विस्तारका विषयमा छलफल गरिएको हो ।
पोखरा उद्योग वाणिज्य संघकी अध्यक्ष शोभा गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघको वर्तमान कार्यसमिति, विभिन्न वस्तुगत संघका अध्यक्ष तथा प्रतिनिधि र साधारण सदस्यहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै अध्यक्ष गौतमले मोफसलमा स्थापित गरिमा विकास बैंकले पुँजी निर्माण, उद्यमशीलता विकास तथा वित्तीय सशक्तीकरणका क्षेत्रमा पुर्याएको योगदान सराहनीय रहेको बताइन् । बैंक तथा वित्तीय संस्थाको सफलता सर्वसाधारणको सहज पहुँच र विश्वासमा निर्भर रहने उल्लेख गर्दै उनले बैंक र उद्योगी–व्यवसायीबीच नङ र मासुको जस्तै सम्बन्ध हुनुपर्ने धारणा राखिन् ।
उनले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेका पछिल्ला आर्थिक सूचकहरू सकारात्मक देखिए पनि निक्षेप बढ्दा निजी क्षेत्रमा कर्जा प्रवाह अपेक्षाकृत रूपमा बढ्न नसक्नुको कारण खोज्नुपर्ने बताइन् ।
कार्यक्रममा सहभागी उद्योगी–व्यवसायीले गरिमा विकास बैंकको वित्तीय अवस्था, बैंकहरूले एकाएक ब्याजदर बढाउने प्रवृत्ति, बिना धितो कर्जाको कार्यान्वयन, खराब कर्जा, धितो लिलामी प्रक्रिया तथा सेवा शुल्कलगायतका विषयमा प्रश्न उठाएका थिए । उनीहरूले बैंकिङ कारोबारका क्रममा भोग्नुपरेका व्यावहारिक समस्या र कर्जा प्राप्तिमा देखिएका कठिनाइबारे पनि जिज्ञासा राखेका थिए ।
उद्योगी–व्यवसायीका प्रश्नको जवाफ दिँदै बैंकका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्यायले गरिमा विकास बैंकले निक्षेपकर्ताको रकमको सुरक्षा गर्दै न्यूनतम दरमा कर्जा प्रवाह गरिरहेको बताए । देशका विभिन्न स्थानमा १२६ वटा शाखा रहेको बैंकले विशेषगरी साना तथा मझौला उद्योगी–व्यवसायीलाई कर्जा प्रवाहमा विशेष जोड दिँदै आएको उनको भनाइ थियो ।
बैंक तथा वित्तीय संस्थाहरू नेपाल राष्ट्र बैंकले जारी गरेका नीति, नियम र निर्देशनअनुसार सञ्चालन हुने स्पष्ट पार्दै उपाध्यायले गरिमा विकास बैंकले बढी नाफा कमाउने वा लुकाएर सेवा शुल्क लिने जस्ता गतिविधि नगर्ने बताए । उनले बैंकबाट कर्जा लिँदा सम्झौतामा उल्लेख गरिएका विषय तथा सर्तहरू राम्रोसँग अध्ययन गरेर मात्रै हस्ताक्षर गर्न उद्योगी–व्यवसायीलाई आग्रह गरे ।
बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीले बैंकको वर्तमान वित्तीय अवस्थाबारे जानकारी गराउँदै पोखरामा गरिमा विकास बैंकका ठूलो संख्यामा ग्राहक रहेको बताए । विकास बैंकले प्रदान गर्ने सबै सेवा उपलब्ध गराउँदै आएको र वाणिज्य बैंकबाट प्राप्त हुने सेवासमेत गरिमा विकास बैंकमार्फत लिन सकिने जानकारी दिँदै उनले उद्योगी–व्यवसायीलाई बैंकसँग कारोबार गर्न आग्रह गरे ।
कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष तथा केन्द्रीय सदस्य गोकर्ण कार्कीले गरिमा विकास बैंकले सेवा प्रवाहबाटै आफूलाई प्रमाणित गरेको बताए । उद्यमशीलता विकास, रोजगारी सिर्जना र देशको कुल गार्हस्थ्य उत्पादन वृद्धि गर्ने क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको लगानी बढाउनुपर्नेमा उनले जोड दिए ।
संघका महासचिव सुदीप प्रधानाङ्गले सञ्चालन गरेको कार्यक्रममा संघका कार्यसमिति सदस्य तथा कार्यक्रम संयोजक केशव ढकालले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा उद्योगी–व्यवसायीका वित्तीय समस्या र जिज्ञासा सम्बोधन गर्न यस्ता उत्प्रेरणामूलक तथा जानकारीमूलक कार्यक्रम समय–समयमा आयोजना गर्ने सहमति भएको थियो ।












