
पोखरा । गरिमा विकास बैंक लिमिटेडले आफ्नो स्थापनाको २०औँ वार्षिकोत्सव विभिन्न सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमका साथ मनाएको छ। वार्षिकोत्सवको अवसरमा बैंकले देशका नौ स्थानमा एकैसाथ आयोजना गरेको बृहत् रक्तदान कार्यक्रमबाट ७१३ युनिट रगत संकलन गरेको छ।
बैंकका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद आचार्यका अनुसार हरेक वर्ष वार्षिकोत्सवको अवसरमा रक्तदानसहित विभिन्न सामाजिक उत्तरदायित्वमूलक कार्यक्रम सञ्चालन गर्दै आएको बैंकले यस वर्ष पनि त्यसलाई निरन्तरता दिएको हो। मङ्सिर ७ गते आयोजित रक्तदान कार्यक्रममा बैंकका कर्मचारी, सेवाग्राही तथा सर्वसाधारणको सहभागिता रहेको थियो।
बैंकले केन्द्रीय कार्यालय रहेको काठमाडौंको बालुवाटारसहित सुनसरीको इटहरी, धनुषाको जनकपुर, चितवनको नारायणगढ, स्याङ्जाको वालिङ, कास्कीको पोखरा, म्याग्दीको बेनी, रुपन्देहीको बुटवल र बाँकेको कोहलपुरमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो।
नौ स्थानमा सञ्चालित कार्यक्रमबाट संकलित ७१३ युनिट रगतले रगतको अभावमा उपचार प्रभावित हुन सक्ने बिरामीलाई सहयोग पुग्ने बैंकले विश्वास लिएको छ। रक्तदानमार्फत जीवन बचाउने मानवीय अभियानमा संस्थागत रूपमा योगदान पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ।
यसैबीच, बैंकले २०औँ वार्षिकोत्सवकै अवसरमा आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट कार्यसम्पादन गर्ने नौवटा शाखा कार्यालयलाई पुरस्कृत गरेको छ। वार्षिकोत्सवका अवसरमा आयोजित विशेष कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने शाखाका प्रमुखहरूलाई नगद पुरस्कारसहित ‘टोकन अफ एप्रिसिएसन’ प्रदान गरी सम्मान गरिएको बैंकले जनाएको छ।
बैंकले शाखाहरूबीच स्वस्थ प्रतिस्पर्धा प्रवर्द्धन गर्दै सेवा प्रवाह, कार्यसम्पादन र संस्थागत लक्ष्य प्राप्तिमा उत्कृष्ट योगदान पुर्याउने कार्यालयहरूको मूल्यांकनका आधारमा सम्मान गरेको हो।
२०औँ वर्षमा प्रवेश गरेको गरिमा विकास बैंकले वित्तीय सेवा विस्तारसँगै सामाजिक उत्तरदायित्वलाई पनि संस्थागत प्राथमिकतामा राख्दै आएको छ। रक्तदानजस्ता जीवनरक्षासँग प्रत्यक्ष जोडिएका कार्यक्रम तथा उत्कृष्ट कार्यसम्पादन गर्ने शाखालाई प्रोत्साहन गर्ने अभ्यासले बैंकको संस्थागत प्रतिबद्धता र सेवा संस्कृतिलाई थप सुदृढ बनाउने प्रमुख कार्यकारी अधिकृत आचार्यको दावी छ।












