51Shares

पोखरा, ५ कात्तिक
पोखरा भ्यूज । प्राविधिक शिक्षा सञ्चालन सम्बन्धमा सरोकारवालाहरुबीच नवलपुरमा छलफल सम्पन्न भएको छ।
विहिवार प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी) गण्डकी प्रदेशले आधारभूत तथा मध्यस्तरीय सीपयुक्त जनशक्ति उत्पादनमा प्रदेश र स्थानीय तहको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरी सो विषयमा सरोकारवालाहरुको सुझाव पनि संकलन गरेको छ ।
प्राविधिक शिक्षालाई प्रभावकारी बनाउन आवश्यकताको पहिचान गरी स्थानीय सरकारसँग सहकार्य गरी अगामी कार्यक्रम सञ्चालन गर्न र तीनै तहका सरकारहरुको नितीगत व्यवस्थाका बारेमा छलफल गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा प्राविधिक तथा प्राविधिक शिक्षा सञ्चालन गर्दा स्थानीय आवश्यकतालाई ध्यान दिनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव डा. हरि लम्सालले प्राविधिक शिक्षाका कार्यक्रम सञ्चालन गर्नु पूर्व स्थानीय सम्भावना र आवश्यकता के हो भन्ने निर्धारण हुनुपर्नेमा जोड दिए ।
प्राविधिक शिक्षा स्थानीय आवश्यकतामा आधारित भए मात्र उक्त ठाँउको आर्थिक उन्नती हुने उनको भनाई थियो । ‘लोकल इकोनमिलाई जोड्न सकिएन भने प्राविधिकधारका कार्यक्रमहरु दिगो र प्रभावकारी हुदैन, त्यसतर्फ कार्यक्रम सञ्चालनपूर्व नै ध्यान पु¥याउनुपर्छ’ उनले भने । स्थानीय आवश्कतालाई सही रुपले विश्लेषण गरी आवश्यकतामा आधारित नयाँ पाठ्यक्रम बनाएर भएपनि अगाडि बढ्न उनले सुझाव दिएका थिए ।
गण्डकी प्रदेश शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्रालयका उपसचिव गंगा बहादुर क्षेत्रीले सरकारले लामो समयदेखि प्राविधिक शिक्षा सञ्चालन गर्दै आएको भएपनि अपेक्षित उपलब्धी हासिल नभएकाले अब कार्यक्रमको मोडालिटी परिवर्तन गर्नुपर्नेमा जोड दिए । स्थानीय रुपमा उत्पादित जनशक्ति स्थानीय रुपमै खपत हुने गरी कार्यक्रम ल्याउन उनले सुझाव दिएका थिए ।
प्रदेश सरकारले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिमको स्तर निर्धारण र प्रमाणीकरण गर्ने तथा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिमको व्यवस्था गरी माग अनुसार जनशक्ति उत्पादन गर्न गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठानको स्थापन गरी सञ्चालन गरीरहेको उनले जानकारी गराएका थिए ।

सोही क्रममा गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठानका कार्यकारी निर्देशक डा. सोमनाथ सापकोटाले सिटिइभिटीले विगतको अभ्यास भन्दा केही फरक ढंगले कार्यक्रम अगाडि बढाउनुपर्नेमा जोड दिए । ‘तालिम दिएपछि सोही अनुसारको उद्यम गर्न प्रोत्साहन गर्नु पनि हाम्रो दायित्व हो’ उनले भने । स्थानीय सम्भावनालाई स्पष्ट परिभाषित गरी त्यहींको स्रोत साधनको प्रयोग हुने गरी जनशक्ति उत्पादन गरे मात्र त्यही ठाँउले लाभ लिन सक्ने उनको धारणा थियो ।
कार्यक्रममा मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार खड्ग बहादुर कमालले प्राविधिक शिक्षा समृद्धिको बलियो आधार भएकाले अब जनशक्ति उत्पादनसँगै सिटिइभिटीले रोजगारको प्रत्याभूत पनि गराउन सक्नुपर्नेमा जोड दिएका थिए । रोजगारदाता संघसंस्थासँग सिटिइभिटीको समन्वय र सहकार्य बढाउन आवश्यक रहेको उनको भनाइ थियो ।


कार्यक्रममा नवलपुरका ८ स्थानीय सरकार मध्ये ६ स्थानीय सरकारका प्रतिनिधिहरुले प्राविधिक तथा व्यवसायिक शिक्षा सञ्चालनको लागि प्रतिवद्ध रहेको धारणा राखेका थिए । विगतमा व्यवसायिक तालिमहरु औपचारिकतामा मात्र समिति रहेको बताउदै स्थानीय सरकारका प्रतिनिधिहरुले अब तालिम लिएकाहरुलाई उद्यम गर्न प्रोत्साहन गर्ने बताए । साथै सिटिइभिटीसँग सहकार्य गरी स्थानीय आवश्यकतामा आधारित व्यवसायिक तालिमहरु सञ्चालन गर्न आफुँहरु सकारात्मक रहेको उनीहरुको भनाइ छ ।
सो अन्तरक्रियामा देवचुली, कावासोती, मध्यबिन्दु नगरपालिका, बौदीकाली, विनयी त्रिवेणी, हुप्सेकोट गाँउपालिकाका प्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृत तथा शिक्षा शाखा प्रमुखहरुले सुझाव तथा आवश्यकता बारे आ–आफनो धारणा राखेका थिए ।
अन्तरक्रियामा उद्योग वाणिज्य संघ लगायतका व्यवसायिक संघ संस्थाले स्थानीय आवश्यकताको पूर्ति गर्दै रोजगार हुने खालका कार्यक्रम कार्यावन्यन गर्न सक्नुपर्नेमा जोड दिएका थिए ।
साथै प्राविधिक शिक्षा सञ्चालन गरीरहेका बहुप्राविधिक शिक्षालयका प्रमुखहरुले विद्यार्थीहरुलाई प्रत्यक्ष रोजगारमा जोडनु अहिलेको प्रमुख चुनौती भएको धारणा राखेका थिए । स्थानीय आवश्यकता र बढ्दो प्रविधिलाई मध्यनजर गरी समयानुकुल सिटिइभिटीले पाठ्यक्रम परिवर्तन र पारिमार्जन गर्न सुझाव दिएका थिए ।


अन्तरक्रियामा प्राप्त सुझाव तथा जिज्ञासालाई सम्बोधन गर्दै प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी)गण्डकी प्रदेशका निर्देशक प्रमोदभक्त आचार्यले सरोकारवालाहरुको सुझावका आधारमा सिटिइभिटीलाई आगामी दिनमा ठोस कार्यक्रम बनाएर अगाडि बढ्न सहज हुने विश्वास व्यक्त गरे ।
संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारका प्रतिनिधि, उद्योगी, व्यवसायी, प्राविधिक शिक्षा सञ्चालन गरी रहेका शिक्षालयका प्रमुख, सञ्चारकर्मी लगायतको उपस्थितीमा गरिएको अन्तक्रियाबाट प्राप्त निष्कर्षको आधारमा प्राविधिक शिक्षाका कार्यक्रमहरु क्रमश सञ्चालन गरिने आचार्यले जानकारी दिए ।

51Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected