
काठमाडौं । असोज ३१ गतेदेखिको अविरल वर्षाका कारण तीन प्रदेशमा मात्रै दुई लाख ५८ हजार ९२ मेट्रिकटन धान क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । यो करिब सवा ७ अर्ब रुपैयाँ बराबर मूल्यको धानबाली नष्ट भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार सुदूरपश्चिम, लुम्बिनी र प्रदेश १ बाट प्राप्त प्रारम्भिक अनुमानित विवरणअनुसार ती प्रदेशहरुमा ६७ हजार ९१९ हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीमा बाढी र वर्षाले क्षति पुर्याएको बताएको छ । क्षतिको अनुमानित रकममा मूल्यांकन ७ अर्ब २२ करोड रुपैयाँ हाराहारी गरिएको मन्त्रालयको भनाई छ । वर्षाका कारण एक लाख ९८ हजार ५२१ हेक्टर क्षेत्रफलमा लगाइएको धानलाई भने असर मात्रै पुर्याएको मन्त्रालयले जनाएको छ ।
‘तीन वटा प्रदेशका एक लाख ९८ हजार ५२१ हेक्टर क्षेत्रफलमा असर परेको र जसमध्ये ६७ हजार ९१९ हेक्टरको धानमा पूर्ण क्षति पुगेको मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रकाश सञ्जेलले बताए ।
अनुमानित विवरणअनुसार लुम्बिनी प्रदेशका चार जिल्लामा वर्षातको असर धेरै छ । प्रदेशका बर्दिया, कपिलवस्तु, बाँके र रुपन्देही धेरै प्रभावित हुने जिल्लाहरु हुन् । यो प्रदेशमा ४२ हजार ४२७ हेक्टरमा लगाइएको धानमा क्षति पुगेको छ । प्रदेशभर ४ अर्ब ५१ करोड रुपैयाँ भन्दा धेरै मूल्यको एक लाख ६१ हजार २२३ मेट्रिकटन धानमा वर्षाले क्षति पुर्याएको छ ।
सुदूरपश्चिमका कैलाली र कञ्चनपुर दुई जिल्लाका किसानले लगाएको धानमा वर्षातले धेरै असर पुर्याएको मन्त्रालयको प्रारम्भिक विवरणमा उल्लेख छ । प्रदेशभर ५५ हजार हेक्टर क्षेत्रफलको धानमा असर पुगे पनि क्षति भने १८ हजार हेक्टरमा मात्रै छ । एक अर्ब ९१ करोड ५ लाख २० हजार रुपैयाँ बराबरको ६८ हजार ४ सय रुपैयाँ मेट्रिक धानमा सुदूरपश्चिम प्रदेशमा असर देखिएको छ ।
यस्तै प्रदेश १ को झापा, सुनसरी र मोरङमा वर्षातको असर धेरै छ । मन्त्रालयका अनुसार प्रदेशको ६७ हजार ९१९ हेक्टर क्षेत्रफलमा वर्षाको असर र क्षति देखिएको छ । प्रदेशमा ८० करोड रुपैयाँ बराबरको २८ हजार ४६९ मेट्रिकटन पाकेको धानमा क्षति पुगेको छ । मन्त्रालयलय सातै प्रदेशको विवरण लिने क्रम जारी रहेको बताएको छ ।








सम्बन्धित खवर
















