0Shares

सल्यान । सल्यानको कपुरकोटमा आइतबार भएको बस दुर्घटनामा परी १२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १० महिला र २ पुरुष छन् ।

सल्यान सदरमुकाम खलंगाबाट दाङको तुल्सीपुरतर्फ गइरहेको ना १ ख १५५२ नम्बरको बस आइतबार विहान ११ बजेतिर कपुरकोट गाउँपालिका–५ स्थित खारखोलामा दुर्घटनमा परेको थियो ।

मृत्यु हुनेमा सल्यानको शारदा नगरपालिका–१२ हाल दाङको तुलसीपुर उपमहानगरपालिका–६ का ५३ वर्षीया प्रभा चलाउने, शारदा नगरपालिका–२ कि ६१ वर्षीया मीना डाँगी, सल्यान शारदा नगरपालिका–३ कि ६६ वर्षीया लीला बुढाथोकी, त्रिवेणी गाउँपालिका–१ काभ्राकी २४ वर्षीया मीना शाही रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

दाङको बबई गाउँपालिका–४ कि ६० वर्षीया डुली रेउले, सोही गाउँपालिका–६ की ७० वर्षीया कलावती बुढाथोकी, दाङको घोराही उपमहानगरपालिका नारायणपुरकी ६५ वर्षीया इन्द्रा अधिकारी, सल्यानको छत्रेश्वरी गाउँपालिका–२ का २९ वर्षीय तिलक वली, दाङ शान्तिनगर गाउँपालिका–८ कि ३५ वर्षीया सावित्रा केसी र दाङ कोरवाङकी पाँच वर्षीय सुरज ओली रहेको जिल्ला प्रहरीले जनाएको छ । अरु २ जनाको सनाखत भएको छैन ।

जिल्ला प्रहरी प्रमुख डीएसपी गोविन्द थापाका अनुसार घटनास्थलमा ६ जनाको र अस्पतालमा ६ जनाको मृत्यु भएको हो । दुर्घटनामा कम्तीमा १८ जना घाइते भएका प्रहरीले बताएको छ । घाइतेमध्ये गम्भीर अवस्थाका ७ जनालाई उपचारका लागि नेपालगञ्ज पठाइएको छ । अरु घाइतेको श्रीनगर र खलंगाका विभिन्न अस्पतालमा उपचार भइरहेको डीएसपी थापाले जानकारी दिए ।

 

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected