17Shares

पोखरा भ्यूज

पोखरा । राजनीतिमा त्याग र निष्ठाको संस्कृति संकुचन हुँदै गएकोप्रति वक्ताहरुले चिन्ता व्यक्त गरेका छन् । जनआन्दोलनका सर्वोच्च कमाण्डर एवं लौहपुरुष गणेशमान सिंहको १०७औँ जन्मजयन्तीका सन्दर्भमा वुधबार पोखरामा आयोजित कार्यक्रममा वक्ताहरुले स्व. सिंहको राजनीतिक त्याग र निष्ठाको अनुशरण गर्नुपर्नेमा जोड दिए ।

गणेशमान सिंह फाउण्डेशनले पोखरामा आयोजना गरेको कार्यक्रममा बोल्दै गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले गौतमबुद्धले राजगद्दी त्यागेको सन्दर्भअघि सार्दै स्व. सिंहलाई गौतम बुद्धसँग तुलना गरे । उनले स्व. सिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनमा खेलेको भूमिकाको स्मरण समेत गरे ।

उनले पञ्चायती सरकारको यातनासहित पटक पटक निर्वासन र जेल जीवन बिताउँदा समेत सिंहले नेपाली जनतालाई सार्वभौम बनाउने लोकतान्त्रिक आन्दोलनबाट स्व. सिंहले कहिल्यै विश्राम नलिएको स्पष्ट पारे । ‘स्व. सिंह संघर्षशील, त्यागी, लौहपुरुष, प्रजातान्त्रिक आन्दोलनलाई सहज ढङ्गले नेतृत्व गर्ने नेता हुनुहुन्थ्यो,’ उनले भने, ‘विपरित धारमा रहेका कांग्रेस र कम्युनिष्टहरुलाई प्रजातान्त्रिक आन्दोलनमा एक साथ उभ्याउन सिंहले २०४६ सालमा निर्वाह गरेको भूमिका अविस्मरणीय छ ।’

जनआन्दोलनका सर्वोच्च कमाण्डर एवं लौहपुरुष गणेशमान सिंहको १०७औँ जन्मजयन्तीका सन्दर्भमा वुधबार पोखरामा आयोजित कार्यक्रमका सहभागीहरु

कास्की कांग्रेसका नेता शुक्रराज शर्माले सर्वमान्य नेता सिंहले ०४६ सालको ऐतिहासिक जनआन्दोलनको नेतृत्वको स्मरण गर्दै स्व. सिंहले देखाएको त्याग र निष्ठाको राजनीतिक संस्कारको संरक्षण गर्न जोड दिए ।

काँग्रेस नेता एवं गणेशमान सिंह फाउन्डेशनका अध्यक्ष खेमराज पौडेलले स्व. सिंहलाई बुद्ध र गान्धीसँग तुलना गर्दै त्याग र निष्ठाको राजनीतिक जगमा उभिन सबैलाई आग्रह गरे ।

कार्यक्रममा नेपाली कांग्रेसका सभापति कृष्ण केसी, गण्डकी प्रदेशका कानून, सञ्चार तथा संसदीय मामिलामन्त्री विन्दुकुमार थापा, पोखरा ४ का वडाध्यक्ष रवीन्द्रबहादुर प्रजू, शालिक निर्माण समितिका संयोजक निर्मल प्रसाद कर्माचार्य, फाउन्डेशनका सचिव मुक्तिप्रसाद अधिकारी, कोषाध्यक्ष सुनयना पालिखे लगायतले नेता सिंहको व्यक्तित्व र कृतित्वको चर्चा गरेका थिए ।

वि.सं. १९७२ कात्तिक २४ गते जन्मिएका लौहपुरुष सिंहको २०५४ असोज २ गते ८२ वर्षको उमेरमा निधन भएको थियो ।

 

17Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected