
म्याग्दी । सदरमुकामस्थित बेनी अस्पतालमा प्रसूति प्रतिक्षा कक्ष सञ्चालन भएको छ । ग्रामीण र दुर्गम क्षेत्रका साथै बाहिरी जिल्लाबाट बेनी अस्पतालमा प्रसूति सेवा लिन आउने सेवाग्राहीका लागि प्रतिक्षा कक्ष स्थापना गरिएको हो ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालका अनुसार गण्डकी प्रदेश सरकारको सहयोगमा पूर्वाधार निर्माण गरी प्रसूति प्रतिक्षा कक्षको सेवा सुरु आरम्भ भएको हो ।
“स्वास्थ्य मन्त्रालयको ५० शय्या क्षमताको अस्पतालमा प्रसूति प्रतिक्षा कक्ष हुनुपर्ने मापदण्ड पूरा गर्न यो सेवा थपेका हौँ”, उनले भने, “गाउँको स्वास्थ्य संस्थाबाट सिफारिस भएर आएका सुत्केरी हुने अवस्थाका गर्भवतीलाई प्रसूति भएर घर नजाँदासम्मका लागि बसोबासको व्यवस्था हुन्छ ।”
शयनकक्ष र भान्छा कोठासहितको दुईकोठे भवनमा प्रसूति हुन आउनेले आफैँ खानेकुराको जोहो गरेर बस्न पाउनेछन् । बजारमा आफन्तका घर नभएका र होटलमा बस्नुपर्नेका लागि प्रसूति प्रतिक्षा कक्षबाट सुविधा पुग्ने अध्यक्ष कटुवालको विश्वास छ ।
बेनी अस्पतालमा म्याग्दीका साथै मुस्ताङ, बागलुङ र पर्वत जिल्लाबाट पनि प्रसूति सेवाका लागि आउँछन् । यहाँ शल्यक्रियामार्फत गरिने जटिल प्रकृतिको प्रसूति सेवा उपलब्ध छ ।
अस्पतालका प्रमुख चिकित्सक जितेन्द्र कँडेलका अनुसार गत आर्थिक वर्ष २०७७÷७८ मा १२३ वटा शल्यक्रियामार्फत गरिने सहित ७३४ जनाले प्रसूति सेवा लिएको तथ्यांक छ ।
यसैगरी अस्पतालमा हिंसा प्रभावित महिला तथा बालबालिकाको मनोपरामर्श र स्वास्थ्य उपचारका लागि एकद्धार सङ्कट व्यवस्थापन केन्द्रसमेत सञ्चालन भएको छ । केन्द्रमा आउने हिंसा प्रभावित महिला तथा बालबालिकालाई आवासीय सुविधासहित चिकित्सकको परामर्श, स्वास्थ्योपचार र न्यायिक प्रक्रिया अघि बढाउन सघाउने व्यवस्था गरिएको छ ।
सामाजिक विकास मन्त्रालयको रु १५ लाख बजेटमा प्रसूति प्रतिक्षा र एकद्धार सङ्कट ब्यवस्थापन केन्द्रको भवन निर्माण भएको व्यवस्थापन समितिले जानकारी दिएको छ ।
यस्तै बालरोग कक्ष थप र साधारण उपचार कक्षको क्षमता बढाउन नयाँ भवन निर्माण भएको छ ।
प्रदेश सरकारको रु ३५ लाख सहयोगमा प्रिप्याक प्रविधिको भवन निर्माण गरेर क्षमता बढाउन लागिएको अस्पतालले जनाएको छ । नयाँ भवनमा छ वटा बालरोग र सातवटा साधारण शय्या छन् । बालबालिकाको उपचारलाई प्रभावकारी बनाउन स्वास्थ्य मन्त्रालयको मापदण्डअनुसार छुट्टै कक्ष बनाइएको हो ।







सम्बन्धित खवर
















