0Shares

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी घटकसँग पार्टी एकताको लागि छलफल चलिरहेको खुलासा गरेका छन् ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा नेकपा विप्लव समूहका नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो खुलासा गरेका हुन् । उनले कसैले चाहँदैमा, लहड चल्दैमा क्रान्ति हुने ठोकुवा गर्दै जनयुद्ध कुनै लहड नभएको स्प्रष्टिकरण पेश गरे । उनले माओवादी पङ्क्ति एक्लाएक्लै अगाडि जाँदा क्षतविक्षत हुने खतरा रहेको जिकिर गरे ।

अध्यक्ष दाहालले पार्टी एकताका लागि पूर्वमाओवादी नेताहरूसँग निरन्तर छलफल भइरहेको जानकारी दिए । “किरण (मोहन वैद्य)को अर्को पार्टी बन्यो, चल्ने कुरो भएन । विप्लव (नेत्रविक्रम चन्द) को बन्यो, तपाईंहरू नै भुक्तभोगी बनेर आउनुभएको छ,” उनले भने, “हुने कुरा थिएन । त्यो त्यति सजिलो कुरा थिएन ।”

ढिलोछिटो विप्लव पनि माओवादी केन्द्रमा आउने विश्वास अध्यक्ष दाहालको थियो । उनले अगाडि थपे, “छुट्टै बसेरभन्दा सँगै बसेर क्रान्ति सम्पन्न हुन्छ । अहिले कुरा पनि चलिरहेको पनि छ । एक्लै प्रयास गर्दा नियत जे भए पनि नियतिले क्षतविक्षत हुनेबाहेक अरु विकल्प छैन ।”

अध्यक्षले एउटै समयमा थुप्रै नेतृत्व जन्मन नसक्ने भन्दै माओवादी आन्दोलन र आफूलाई प्रतिक्रान्तिकारीले सिध्याउन खोजेको बताए । “प्रतिक्रान्तिकारीले अहिले पनि हाम्रा आन्दोलनका उपलब्धि उल्ट्याउने अभियानमा लागेको र तारो माओवादी आन्दोलन भएको छ”, उनले भने ।

जनता, आन्दोलन, सङ्घर्ष, बलिदानले नेतृत्व पैदा गर्ने भन्दै उहाँले सही विचार र कार्यक्रम लिएर जनतामा जाँदा माओवादी पुनः एक पटक थप विस्तारित हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा चन्द समूहका नेता तथा कार्यकर्तालाई अध्यक्ष दाहाललगायतका नेताले पार्टी प्रवेश गराएका थिए ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected