
पोखरा भ्यूज । कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिकाका बिभिन्न तीन वटा वडा कार्यालय भवन निर्माण सम्पन्न भएका छन ।
जिल्ला समन्वय समिति कास्की र गाउँपालिकाको साझेदारी अन्तर्गत कूल दुई करोड ९ लाख ५४ हजार रुपैयाको लागतमा वडा नं. ३, ४ र ५ वडा कार्यालय भवन निर्माण सम्पन्न भएका हुन ।
गाउँपालिकाको वडा नं. ३ पत्थरमा ६९ लाख ८८ हजार ७४९ रुपैया, वडा नं. ४ को वाँसखर्कमा ६९ लाख ३० हजार ५११ रुपैयाको लागतमा र वडा नं. ५ को झोवाङमा ७० लाख ३५ हजार ५६६ रुपैयाको लागतमा वडा कार्यालय भवन निर्माण सम्पन्न भई सञ्चालनमा आएका हुन ।
दुईतल्ले सुविधा सम्पन्न उक्त पक्कि भवन निर्माणका लागि साझेदारी कार्यक्रम अनुसार कूल लागतको ६० प्रतिशत जिल्ला समन्वय समिति कास्की र ४० प्रतिशत गाँउपालिकाले व्यहोर्ने व्यवस्था छ ।
जिल्ला समन्वय समिति कास्कीका प्रमुख वैन बहादुर अधिकारी क्षेत्रीको नेतृत्वमा गएको एक टोलीले नवनिर्मित भौतिक पूर्वाधार एवम् सेवा प्रवाहका बारेमा स्थलगत अनुगमन गरि जानकारी लिएको छ ।
सो अवसरमा समन्वय प्रमुख अधिकारीले जनतालाई छिटोछरितो एवम् प्रविधियुक्त सेवा प्रदान गर्न भौतिक पूर्वाधारको महत्वपूर्ण भूमिका खेल्ने बताए ।
समन्वय समितिको मौज्दात कोषबाट जिल्लाका पाँचवटै पालिकामा प्रशासकीय भवन तथा वडाकार्यालय भवन निर्माणमा जोड दिदै आएको बताउँदै उनले गुणस्तरीय भौतिक संरचना निर्माणमा प्राविधिकको वर्ग सचेत हुनुपर्नेमा जोड दिए ।
अनुगमन टोलीमा समन्वय उपप्रमुख सावित्री भण्डारी, सदस्यहरु बृहस्पति सापकोटा, विष्णुप्रसाद पौडेल, गुमादेवी अधिकारी, सितादेवी विश्वकर्मा, जिल्ला समन्वय अधिकारी नवराज बराल, अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेल एवम् प्राविधिकहरुको सहभागिता रहेको थियो ।
सो अवसरमा वडा नं. ३ का वडाअध्यक्ष चन्द्रबहादुर गुरुङ, ४ का अध्यक्ष भरत के.सी र ५ का वडासचिव युवराज गुरुङ सहित गाउँपालिकाका प्राविधिकले भवन निर्माण तथा सेवा प्रवाहका बारेमा जानकारी गराएका थिए ।
टोलीले अन्नपूर्ण गाउँपालिका वडा नं. ५ झोवाङस्थित पर्यटकीय स्थल शितलगुफामा निर्माण भई रहेको बिभिन्न संरचनाका बारेमा पनि जानकारी लिएको थियो । उक्त गुफा परिसरमा २५ लाख ५१ हजार ८९० को लागतमा १०८ गौमुखे धारा निर्माण गरिएको छ । जसका लागि जिल्ला समन्वय समितिको १७ लाख ८६ हजार ३२३ र बाँकी गाउँपालिकाबाट आर्थिक सहयोग प्राप्त भएको थियो ।








सम्बन्धित खवर
















