
पोखरा भ्यूज
पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर १ नागडाँडाँको नवनिर्मित वडा कार्यालय भवन शुक्रवार उद्घाटन गरिएको छ ।
गाउँपालिका अध्यक्ष युवराज कुँवरले नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गरेका हुन।
४ कोठे वडा कार्यालय भवनको २०७६ साल माघ २६ गते १ वर्षभित्रै सम्पन्न गर्ने गरी वडा नं १ का वडाध्यक्ष भरतजंग कुँवरले शिलान्यास गरेका थिए । वडा कार्यालय निर्माण निर्धारित समयमै सम्पन्न भई २०७७ साल पौषबाट सेवा प्रदान गर्दै आएको वडाध्यक्ष कुँवरले बताए । भवनको लागत ३५ लाख रुपैयाँ रहेको छ ।
गाउँपालिका अध्यक्ष युवराज कुँवरले नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गर्दै जनप्रतिनिधिलाई जनताको काममा विशेष ध्यान दिन आग्रह गरेका थिए । पालिकाभित्र वडा कार्यालय व्यवस्थित नभएसम्म वडा तहको कार्य सम्पादन व्यवस्थित हुन नसक्ने भन्दै जनताका सेवा र सुविधाका निम्ति वडा कार्यालयको आफ्नै भवन हुनुपर्ने बताए ।
वडा नं १ का वडाध्यक्ष भरत जंग कुँवरले वडाबासीको सम्पत्ति वडा कार्यालय भवन निर्माणलाई प्राथमिकतामा राखेर काम गरेको बताए । वडा समिति र वडाबासीको सहयोग र समन्वयका कारण समयमै निर्माण सम्पन्न भई सेवा प्रवाह गरिएको बताउदै वडा कार्यालय निर्माणपछि सेवाग्राहीलाई सहज भएको बताए ।
वडा सदस्य इन्द्रप्रसाद सुवेदीले स्थानीय सरकारले गरेका सबै काम वडाबासी समक्ष राख्ने व्यवस्था मिलाएकोमा गाउँपालिका अध्यक्षलाई धन्यवाद दिए । वडाको आफ्नै कार्यालयबाट जनतालाई सेवा प्रदान गर्दा सहज भएको वडा कार्यालयका सचिव मुक्तिराम परियारले जानकारी दिए।
अन्नपूर्णमा रहेका ११ वडा मध्ये वडा नं २ र १० को आफनै भवन रहेको छ भने ४, ५ र ८ का नवनिर्मित वडाकार्यालयको भवन उद्घाटन भइसकेको छ । त्यस्तै, वडा कार्यलयहरू ३ र ७ उद्घाटन हुने तयारीमा, वडा नं ९ र ११को कार्यालय निर्माणाधीन अवस्थामा छन भने वडा नम्बर ६ को वडा कार्यालय बन्न सकेको छैन ।
कार्यलय उद्घाटनको अवसरमा साविक ढिकुरपोखरी गाबिसका पूर्व गाबिस अध्यक्ष केदारनाथ अधिकारी, वडानं १, २ र ३ का पछिल्लो कार्यकालका पूर्व वडाध्यक्षहरु खेमप्रसाद अधिकारी, बालाकृष्ण सुवेदी र बोधराज अधिकारीलाई सम्मान गरिएको थियो । उत्कृष्ट कर्मचारीको रूपमा वडा कार्यलयका सचिव मुक्तिराम परियार र कार्यालय सहयोगी नेत्र कुमारी भण्डारीलाई सम्मान गरिएको थियो ।
त्यस्तै वड़ा भित्रका विकास निर्माणका सन्दर्भमा विभिन्न उपभोक्ता समितिमा रही उत्कृष्ट कार्य गर्ने अध्यक्ष एवं पदाधिकारी, टोल बिकास संस्थाका अध्यक्ष, विद्यालयका प्रधानाध्यापक, तरकारी खेती, अन्नबाली, पशुपालन, मौरीपालन, कफि खेती उत्पादनमा योगदान गर्ने व्यक्तिहरु, शिक्षा क्षेत्रमा योगदान पुराउने व्यक्ति, उच्चशिक्षाका लागि पूर्ण छात्रबृतिमा नाम निकाल्न सफल विद्यार्थीहरु, खेलकुद क्षेत्रमा योगदान गर्ने व्यक्ति, सांस्कृतिक क्षेत्रमा योगदान गर्ने समुह र व्यक्तिलाई सम्मान गरिएको वडाध्यक्ष कुँवरले जानकारी दिए ।
कार्यालय स्थापनाको समयमा आफ्नो भवन नभएकोमा दैनिक रूपमा कार्य संचालनका लागि निशुल्क रुपमा भवन उपलब्ध गराएकोमा माकुरा कृषक सञ्जाल र वडाका कार्यक्रममा भौतिक सामाग्री सहयोग गरी सहयोग पुर्रयाएकोमा सिर्जना मा वि लगाएतलाई सम्मान गरिएको थियो ।
वडाध्यक्ष भरतजंग कुँवरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नं ६ का वडाध्यक्ष चित्र बहादुर गुरुङ, कार्यपालिका सदस्य एवं वडा सदस्य गंगा देवी कुवर, वडा सदस्य इन्द्र प्रसाद सुवेदी, नेपाली कांग्रेस वडा इकाई सभापति बलबहादुर कुँवर, नेकपा एमालेका वडा कमिटीका अध्यक्ष छबीलाल दाहाल, माओबादी केन्द्रका गोबिन्द प्रसाद अधिकारी, राप्रपाका पुर्णभद्र सुवेदी लगाएतले आ–आफ़नो भनाई राखेका थिए ।

















