1Shares

पोखरा भ्यूज

पोखरा /पोखराका पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईलाई पोखरा महानगरपालिकाको मेयरमा उम्मेदवार बनाउन काँग्रेस निकट नेपाल पर्यटन व्यवसायी संघ गण्डकीले आग्रह गरेको छ ।
पोखरामा बिहीबार भएको भेलामा पर्यटन क्षेत्रका व्यवसायी र पोखरा वडा ६ का प्रतिनिधिहरुले महानगरको पूर्व उपमेयर समेत जिम्मेवारी सम्हालेका भट्टराईलाई मेयर बनाउँदा पोखराको पर्यटन क्षेत्रसँगै समग्र पोखराको विकास हुने बताएका छन् ।
कार्यक्रममा बोल्दै पर्यटन व्यवसायी एवं काँग्रेसका नेता गणेशबहादुर भट्टराईले भिजन र मिसन भएको लोकप्रिय व्यक्तिलाई पार्टीले महानगरको मेयर उम्मेदवार छनोट गर्नुपर्ने बताउनु भयो । पोखरा शहरलाई व्यवस्थित बनाउन योग्य र सक्षम मेयर उम्मेदवार पार्टीमा आकांक्षी धेरै भए पनि त्यसमध्येबाट योग्य र सक्षम उम्मेदवार छान्नुपर्ने उहाँको भनाइ थियो । आफू मेयर बनेमा पोखरा महानगरलाई भ्रष्टाचारमुक्त र सुशासनयुक्त बनाउने प्रतिबद्धता व्यक्त गर्दै महानगरमा हुने निर्णयहरु भोटको लागि नभई समग्र पोखराको विकासका लागि एजेण्डा बोक्ने हुुनुपर्ने भट्टराईको जोड रहेको छ ।


नेपाल पर्यटन व्यवसायी संघ गण्डकीका अध्यक्ष सोम थापाले पर्यटन र विकाससँग जोडिएका व्यक्तिले मात्र पोखराको भविष्य उज्वल बनाउन सक्ने भएकोले भट्टराई उपयुक्त पात्र भएको बताउनु भयो ।
नेपाली काँग्रेस पोखरा महानगरपालिकाका नगर सचिव गणेश थापाले पोखरा महानगरले पोखराको तालको मापदण्डको विषयमा भोटको राजनीति गरेको आरोप लगाउदै महानगरले गरेको निर्णयको प्रतिलिपि माग्न जाँदा मौखिकमात्र भएको भनी जनतालाई भ्रमित पारेको उहाँको भनाइ थियो । पोखरा बनाउनका लागि सबैको साथ र सहयोग हुन्छ, भ्रमित पारेर मतदातालाई प्रभावित पार्न खोज्नु निन्दनीय भएको आरोप रहेको छ ।
पोखरा महानगर वडा ६ का काँग्रेस सभापति सन्तोष पौडेलले मेयरको लागि गणेशबहादुर भट्टराईलाई वडाबाट पठाउने जनाउ दिनु भयो । यस्तै, वडाध्यक्षको लागि भेलाबाट ५ जनाको नाम सिफारिस भएको र उनीहरुबीच १ जनालाई सर्वसम्मत उम्मेदवार बनाउन पहल भइरहेको जानकारी दिनुभयो । वडाध्यक्षका लागि जगत पहारी, बलराम गिरी, शिशिर पहारी, लक्ष्मी भट्टराई र सन्तोष पौडेलले आकांक्षा व्यक्त गरेका छन् ।
कार्यक्रममा काँग्रेस महाधिवेशन प्रतिनिधि डा. कृष्ण पौडेल, दीपकवीर कुँवर, धरमसिंह लामिछाने, महासमिति सदस्य अर्जुन पोखरेल, लक्की कार्की, काँग्रेस जिल्ला सदस्य चौबहादुर गुरुङ लगायतले बोलेका थिए ।

1Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected