
पोखरा भ्यूज
पोखरा । अन्नपूण गाउँपालिकाका लागि नेपाली काँग्रेसको तर्फबाट अध्यक्ष पदका उम्मेदवार युवराज कुँवरले आफूले विकासको राजनीति गरिरहेको बताएका छन् । जनताको न्यूनतम आवश्यकता पुरा गर्नेतर्फ भन्दा पनि भोटको राजनीति गर्नेहरुदेखि सचेत हुन उनले मतदाताहरुलाई आग्रह पनि गरेका छन् ।
कास्कीको अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ४ सल्यान स्थित हुलाकमा शनिबार नेपाली काँग्रेसको चुनावी आमसभालाई सम्बोधन गर्दै उनले विकासका कामलाई निरन्तरता दिन आफू र आफ्नो नेतृत्वको समूहलाई निर्वाचित गराउन मतदाता समक्ष आग्रह गरे ।
‘हामीले यस अगाडि गरेका सम्पूर्ण विकासका कामलाई अझै तीव्र गति दिनका लागि पुनः अनुभवी टिमलाई नै यहाँहरुले मतदान गर्नुहुनेछ भन्नेमा म विश्वस्त छु ।’ कुँवरले भने–‘समग्र गाउँपालिकाको हितका लागि पनि नेपाली काँग्रेसकै टिमले जित्न जरुरी छ ।’ उनले भोटका लागि भन्दा पनि विकासका लागि आफूले राजनीति गरिरहेको प्रस्ट पारे । विकासका लागि आफूले पार्टीभन्दा पनि माथि उठेर गाउँपालिकाका सम्पूर्ण वडामा समानान्तर रुपमा लाग्ने उनले बताए ।
गाउँपालिकाका उपाध्यक्ष पदकी उम्मेदवार खेमकुमारी गुरुङले आफूहरु उत्साह र उमंग लिएर घरदैलोमा आएको बताईन् । उनले मतदाताहरुलाई आफ्नो पक्षमा मत हाल्न आग्रह गदै निर्वाचित भएसँगै महिला दिदीबहिनीहरुको लागि राज्यले दिएको सुविधा उपलब्ध गराउने बताईन् ।
वडा अध्यक्षका उम्मदेवार आईन्दल गुरुङले पार्टीको विरासतलाई वडामा जोगाएर राख्ने प्रतिबद्धता जनाए । अग्रजको शिर अझै अग्लो हुने गरि काम गर्ने बताउँदै उनले मतदाताको राय र सुझाव अनुरुप नै आफू निर्वाचित भएर लागि पर्ने बताए । वडा सदस्यका उम्मेदवारहरु विजय गुरुङ, बुद्धिसागर पौडेल, पशुपति केसी, लक्ष्मी बिकले आफ्नो परिचय दिदै मतदातासँग भोट मागेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेसका नेता पोषनाथ शर्माले जिम्मेवार र निश्कलंक व्यक्तिलाई गाउँपालिकाको उम्मेदवार बनाएको बताए । उनले यो ५ बर्षमा कुँवरको नेतृत्वले अन्नपूर्ण गाउँपालिकालाई देशकै नमूना बनाएको दाबी समेत गरे । सोही प्रसंगमा उनले सल्यानको बारेमा बोल्दै करिब ५० वर्षदेखि काँग्रेसको विरासत बोकेको सल्यानमा काँग्रेसलाई हार्ने छुट कदाचित नरहेको प्रस्ट पारे ।
कार्यक्रममा संविधानसभा सदस्य शारदा पौडेल, कास्की क्षेत्र नम्बर ३ का सभापति मनोज गुरुङ, लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्र शेरचन, नेपाली काँग्रेस गण्डकी प्रदेशका सदस्य देवेन्द्र के सी सी, नेपाली काँग्रेस अन्नपूर्णका सभापति मनपति भण्डारी, नेपाली काँग्रेस गण्डकी प्रदेशका प्रचारप्रसार समितिका सदस्य सचिव राजबहादुर गुरुङ, वडा नम्बर ४ का निर्वाचित वडा अध्यक्ष भरतबहादुर केसी लगाएतले कांग्रेस प्रति जनलहर फैलिएकाले स्थानीय निर्वाचनमा कांगेसलाई अत्यधिक मत दिन आग्रह गर्दै कांग्रेसले नेतृत्व स्थानीय तहमा पुगेपछि आगामी दिनमा पनि गाउँका समस्यालाई मुख्य प्रथामिकतामा राखेर विकासका कामहरु गर्दैजाने बताएका छन् ।
अन्नपूर्ण गाउँपालिका वडा नम्बर ४ का सभापति मानबहादुर केसीको अध्यक्षतामा भएको चुनावी आमसभामा उपसभापति काजीमान सुनार, सचिव रामचन्द्र पौडेल, बौद्धिक व्यक्तित्व मोहदत्त पोखरेल, नेपाल तरुण दल कास्की क्षेत्र नं ३ प्रदेश ‘ख’ का अध्यक्ष अनाम गुरूङ लगाएतले काँग्रेसको पक्षमा भोट हाल्न मतदाताहरुसमक्ष आग्रह गरेका थिए ।





















